प्रतिकूल मौसमले युरोपमा लाखौंको मृत्यु हुनसक्ने

उष्ण लहर

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मौसम प्रकोपमध्ये उष्ण लहर सबभन्दा धेरै मृत्युको कारक बन्ने बताइएको छ

नयाँ अनुसन्धानले युरोपमा यो शताब्दीको अन्त्यतिर हरेक वर्ष डेढ लाख मानिसहरुको मृत्यु मौसम सम्बन्धी प्रकोपबाट हुने संकेत गरेको छ।

जुन अहिले भइरहेको मृत्यु भन्दा पचास गुणा बढी हुने 'द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नल'मा छापिएको लेखमा भनिएको छ।

युरोपेली आयोगका वैज्ञानिकहरुले गरेको अनुमानमा मौसम सम्बन्धी मृत्युको कारकमध्ये उष्ण लहरको प्रभावबाट ९९ प्रतिशतको मृत्यु हुनेछ।

विज्ञहरुका अनुसार दक्षिणी युरोपमा प्रकोपको प्रभाव बढी हुनेछ।

अध्ययनका अनुसार:

  • प्रतिकूल मौसमका कारण हुने मृत्यु सन १९८१ देखि २०१० सम्म हरेक वर्ष तीन हजारका दरले बढदै जाने क्रम रहेकोमा सन २०७१ देखि २१०० सम्म त्यो संख्या १५२,००० पुग्नेछ।
  • युरोपका तीनजनामध्ये दुई जना सन २१०० मा मौसम प्रकोपबाट प्रभावित हुनेछन्, यो शताब्दीको शुरुमा बीसजनामध्ये १ जना प्रभावित हुने तथ्यांक थियो।
  • समुन्द्री तट वरपर आउने बाढीबाट मृत्यु हुनेको संख्या उल्लेख्य रुपमा बढ्नेछ।

उनीहरुले हरित गृह ग्यास उत्सर्जन तत्काल कम गर्न पाइला चाल्नुपर्ने र जंगली आगो, खडेरी र बाढीका लागि तयार रहनुपर्ने बताएका छन्।

उक्त अध्ययन सदस्य नरहेका लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेशर पल विलकिनसनले भने, "अध्ययन मौसम विग्रने र त्यसले मान्छेलाई पार्न सक्ने प्रभावबारे एक अर्को चेतावनी हो।"

हरित गृह ग्यास उत्सर्जन कम नगरिए मानिसहरुले अति प्रतिकूल मौसम भोग्नुपर्ने निश्चित रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्।