इलामको छुर्पी युरोपमा

पूर्वी नेपालको इलाममा उन्नत जातका जर्सी र होल्स्टाइन गाई पालेर दूधबाट मनग्गे आम्दानी गरिरहेका किसानहरू अहिले महँगो मूल्यमा गाई बिक्री गर्दै आम्दानीको स्रोत विस्तार गरिरहेका छन्।
इलाम नगरपालिकाकी आशिका पौडेलका अनुसार पूर्वी र मध्यपहाडका जिल्लाका साथै सीमावर्ती भारतबाट समेत उन्नत जातका गाईको माग अत्यधिक आउने गरेको छ। उनी भन्छिन्, "त्यसैले अहिले गाईपालन हाम्रो आम्दानीको मुख्य स्रोत बनेको छ।"
स्थानीयभन्दा उन्नत जातका थोरै गाई पाल्दा कम मेहनत र कम लगानीमा धेरै आम्दानी हुने गरेको गाईपालकहरूको अनुभव छ।
त्यो बुझेपछि इलामबाट उन्नत गाईको माग बढेको इलामको सूर्योदय नगरपालिकास्थित त्रि-ब्रदर्स गाई फार्मका सञ्चालक कुमार रेग्मी बताउँछन्।
एउटा उन्नत गाईले २० लिटरसम्म दूध दिने जानकारी दिँदै उनी भन्छन्, "दशवटा स्थानीय गाईभन्दा एउटा उन्नत गाई पाल्दा सजिलो र फाइदा बढी हुने बुझेर माग बढी भएको हो। एक वर्षका बाछी ८०/९० हजार र ब्याइसकेका गाई दुई लाख रुपैयाँ सम्ममा बिक्री हुन्छन्।"
इलामबाट तराईतिर
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इलामको तथ्याङ्कअनुसार इलाममा हाल एक लाख १५ हजार उन्नत जातका गाईहरू छन्।

ती गाईबाट इलाममा दैनिक तीन लाख ६० हजार लिटर दूध उत्पादन हुन्छ।
त्यसमध्ये दैनिक ४० हजार लिटर विराटनगरस्थित दुग्ध वितरण आयोजनामा पुग्छ।
बाँकी जिल्लाकै सरकारी र निजी दुग्ध उद्योगले प्रशोधन गरी विभिन्न परिकार बनाएर बेच्ने गरेका छन्।
छुर्पी र घ्यू उत्पादन गर्ने तीन सय हाराहारीमा रहेका डेरी उद्योगले दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।
इलाममा वार्षिक एक लाख २५ हजार मेक्ट्रिक टन हाराहारीमा दूध उत्पादन हुन्छ।
हरियो घाँसको कमाल
इलाम फिक्कलकी रञ्जना लेप्चाको गोठमा अहिले १० वटा उन्नत जातका गाई छन्। उनका अनुसार गाईको दूध बेचेरै मासिक ८० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।

गाईलाई खुवाउन उनको बारीमा हिउँदे, बर्खे र बहुबर्खे गरी तीन किसिमका घाँसहरू छन्।
वरिष्ठ पशु विकास अधिकृतको रूपमा इलाममा चार वर्ष गाईबारे अध्ययन गरेका पशुपति ढुङ्गाना झन्डै ५० वर्षअघि भारतको पोख्रेवुङबाट जर्सी र होल्स्टाइन जातका उन्नत गाई ल्याएर इलाममा व्यावसायिक गाईपालन गर्न थालिएको बताउँछन्।
उनका अनुसार इलामकै जस्तो चिसो हावापानी भएका अन्य पहाडी जिल्लाहरूमा लगिएका दैनिक १० देखि ३० लिटरसम्म दूध दिने महँगा गाईहरू त्यहाँ पनि राम्रै फस्टाएको पाइएको छ।
चार अर्ब ७० करोडको दूध
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इलामका अनुसार जिल्लाका कृषकले हरेक वर्ष दूध बेचेर मात्र चार अर्ब ७० करोड भन्दा बढी नाफा गर्छन्।

वार्षिक दुई अर्बभन्दा बढी मूल्य बराबरकका घ्यू, छुर्पी, चीज लगायतका दूधबाट बन्ने परिकारहरू जिल्लाबाहिर निर्यात हुने गरेको छ।
मानिस र कुकुरको आहाराको लागि छुट्टाछुट्टै तयार गरिने छुर्पी त काठमाण्डू हुँदै युरोपसम्म पुग्नेगर्छ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्कअनुसार कुकुरको आहाराको रूपमा नेपालबाट बर्सनि ८० करोड भन्दा बढी मूल्य बराबरको छुर्पी युरोप निर्यात हुने गरेको छ।
व्यवसायीहरूका अनुसार कुकुरको आहाराको रूपमा नेपालबाट अमेरिका लगायतका मुलुकमा निर्यात हुने कुल छुर्पीको ६० देखि ७० प्रतिशत इलामकै उत्पादन हो।









