कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई

तस्बिर स्रोत, Reuters
साउदी अरेबियाको नेतृत्वमा केही छिमेकीले जारी राखेको नाकाबन्दीका माझ कतारमा दुग्ध आपूर्ति बढाउन विमानमार्फत गाईवस्तु पुर्याइएको छ।
पहिलो खेप अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट दोहा पुर्याइएको छ।
कुल चार हजार त्यस्ता गाई त्यहाँ विमानबाट आयात गरिंदैछ।
बुडापेष्ट हुँदै आए गाई
कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा आइपुगे।
तिनलाई विशेष डेरी फार्ममा लगियो।
पावर इन्टरनेशनल नामक एक कतारी कम्पनीले ती गाई किनेको हो।
सो संस्थाका अध्यक्षका अनुसार सबै गाई लगेपछि तिनले कतारको दुग्ध मागको एक तिहाई पूर्ति गर्न सक्नेछन्।
छिमेकीहरुले स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाइदिएपछि कतारमा समस्या आइपरेको छ।
त्यहाँ बस्ने २७ लाख मानिसका आधारभूत आवश्यकता पूर्ति गर्न कतार पूर्णत: आयातमा निर्भर छ।








