पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण 'ठूलो षड्यन्त्रबाट बाँचे'

पतंजलि

तस्बिर स्रोत, Getty Images

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

विषाक्त पेडा खाएका कारण अघिल्लो हप्ता अस्पताल भर्ना गरिएका पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण एउटा गम्भीर षड्यन्त्रबाट जोगिएको नेपालस्थित पतञ्जलिका उनी निकट एक अधिकारीले बताएका छन्।

आफ्ना निकट मित्र भारतीय योगगुरू रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य समाग्रीको उत्पादनलाई भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गरिरहेका आचार्य बालकृष्णलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्ति भनेको छ।

पतञ्जलिमा ९८ दशमलब ६ प्रतिशत सेयर रहेका भनिएका उनको कुल सम्पत्ति ४ दशमलब ८ अर्ब डलर रहेको आकलन गरिएको छ।

तर गत शुक्रवार विषादी मिसिएको मिठाई खाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले उनलाई अकस्मात् अस्पतालमा भर्ना गरिएको थियो।

एकाएक समस्या

स्वास्थ्य अवस्थामा सुधार भएपश्चात् उनी नियमित काममा फर्किए पनि पतञ्जलिआवद्ध उच्च अधिकारीहरूले बालकृष्णको स्वास्थ्यमा अचानक देखिएको समस्यालाई षड्यन्त्रका रूपमा हेरिरहेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि आचार्य बालकृष्णलाई ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

भारत

तस्बिर स्रोत, Acharya Balkrishna

ऋषिकेश नै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका पतञ्जलि नेपालका सञ्चालक शालिकराम सिंहले पतञ्जलिलाई समाप्त पार्ने उद्देश्यले आचार्य बालकृष्णलाई निसाना बनाइएको आफूहरूले ठानेको बीबीसीलाई बताए।

उनले भने, "एकजना पूर्वकर्मचारीले कार्यालयमा गएर दिएको पेडा खाएको पन्ध्र मिनेटपछि उहाँले अप्ठेरो महसुस गर्न थाल्नुभयो। हातहरू बाङ्गोटिङ्गो घुमाउन थालेपछि उहाँलाई तत्कालै नजिकै रहेको पतञ्जलिको अस्पतालमा लगियो। त्यहाँ चिकित्सकहरूले खानेकुरा विषाक्त भएको हुनसक्ने भन्दै बान्ता गराए र थप उपचारका लागि एम्स अस्पतालमा लैजान सुझाव दिए।"

"एम्स अस्पतालमा पुग्दा उहाँ मान्छे चिन्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो। आँखा बन्द थिए। सघन उपचार कक्षमा राखेर उपचार गरियो। त्यसपछि एमआरआई सहित विभिन्न जाँच गरियो। दुई दिनसम्म उहाँले खाना पनि खानु भएन। चिकित्सकहरूले बेलैमा अस्पताल ल्याइपुर्‍याइएकाले उहाँलाई निको पार्न सकिएको भनेका छन्।"

उनी शनिवार नै अस्पतालबाट फर्किए पनि आइतवारबाट मात्रै उनले नियमित रूपमा खानेकुरा खान थालेको सिंह बताउँछन्।

रामदेवका मित्र

बालकृष्ण

तस्बिर स्रोत, ACHARYA BALKRISHNA

आचार्य बालकृष्णलाई अस्पताल लैजादाँदेखि उनको उपचार चलिरहँदा योगगुरु रामदेव हरपल उनीसँगै थिए।

पछिल्लो प्रकरणमा कुनै षड्यन्त्र हुनसक्ने भन्दै उनले स्वास्थ्य प्रतिवेदनका आधारमा प्रहरीमा उजुरी पनि दर्ता गराउन सकिने बताएका छन्।

टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार उक्त मिठाईको अवशेष फोरेन्सिक जाँचका लागि दिल्ली पठाइएको छ।

हरिद्वारबाट मङ्गलवार साँझ मात्रै नेपाल फर्किएका पतञ्जलि नेपालका सञ्चालक सिंह आचार्यको स्वास्थ्यमा देखिएको समस्या षड्यन्त्रको हिस्सा भएको ठान्छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उनले भने, "चिकित्सकहरूले २०-२५ मिनेट मात्रै उहाँको उपचार नभएको भए उहाँ कोमामा जानुहुन्थ्यो भनेर हामीलाई बताए। भन्नलाई फुड प्वाइजनिङ भनेपनि एकदमै तीक्ष्ण केही कुरा त्यसमा मिसाइएको हुनसक्छ, जसले १० मिनेटमा नै आफ्नो प्रभाव देखाइहाल्यो। तत्कालै पतञ्जलिको अस्पतालमा पुर्‍याउन नसकेको भए उहाँको अवस्था नाजुक हुन्थ्यो।"

"स्वामीजीले यसबारे अनुसन्धान गराउँछु भन्नुभएको छ। तर आचार्यजीले आफैं सुरक्षित रहनुपर्छ छोडिदिऊँ भन्ने खालको धारणा राख्नुभएको छ। उहाँहरू धार्मिक प्रवृत्तिको भएकाले माफी दिऊँ भन्ने खालकै धारणा पाइन्छ। तर मलाई लाग्छ एकदमै नराम्रो उद्देश्य राखेर यो घटना गराइएको थियो तर उहाँ जोगिन सफल हुनुभयो।"

नेपालीका सन्तान, भारतका धनाढ्य

पतञ्जलि आयुर्वेदका संस्थापक अध्यक्ष बालकृष्णका मातापिता नेपाली हुन्। उनीहरू काम गर्न भारत गएका बेला आफू भारतमा जन्मिएको आचार्य बालकृष्णको दाबी छ।

पतञ्जलि ट्रस्टका संस्थापक महासचिव रहेका उनले पतञ्जलिमार्फत् उत्पादन हुने आयुर्वेदिक औषधि र दैनिक उपभोग्य सामग्रीसहित सम्पूर्ण व्यावसायिक पक्ष हेर्ने गरेका छन्।

फोर्ब्स पत्रिकाले सन् २०१८ मा बालकृष्ण भारतको २५ औँ धनी व्यक्ति रहेको जनाएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

हर्बल दन्तमञ्जनदेखि चाउचाउ र जामसम्म विक्री गर्ने उनको कम्पनी पतञ्जलिको वार्षिक करोबार १.६ अर्ब डलर रहेको फोर्ब्सको विश्लेषण रहेको छ।

सतचालीस वर्षीय बालकृष्ण अविवाहित छन् र उनलाई आयुर्वेदका एक विज्ञका रूपमा पतञ्जलिले प्रस्तुत गर्ने गरेको छ।

षड्यन्त्र सफल हुन नदिने घोषणा

हाल नियमित काममा फर्किएका उनले रामदेवको मिशनलाई पूरा गर्न धेरै गर्न बाँकी रहेको बताउँदै थप ऊर्जासाथ धेरै काम गर्नुपर्ने खाँचो रहेको बताए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उनले 'केही व्यक्तिहरूले दिवास्वप्न देखेको भन्दै उनीहरूलाई समय बर्बाद नगर्न बाहेक आफूसँग भन्ने कुरा अरू नरहेको' उल्लेख गरेका छन्।

आचार्य बालकृष्णको उक्त भनाइलाई अर्थ्याउँदै पतञ्जलि नेपालका सञ्चालक सिंह भन्छन्, "पतञ्जलिलाई स्वामी रामदेव र आचार्य बालकृष्णले राम्रोसँग चलाउँदै आउनुभएको छ। दुई जनामध्ये एक जनालाई समाप्त पार्न सकिन्छ कि भन्ने षड्यन्त्रका रूपमा हामीले यसलाई बुझेका छौँ। उहाँले मलाई नै खतम गर्ने पतञ्जलिलाई नै समाप्त गर्ने उद्देश्यले घटना भएको हो र त्यस्तो प्रयास सफल हुन दिदैँनौँ भनेर स्पष्ट सङ्केत दिनुभएको हो।"

उनको स्वास्थ्य अवस्थाको जानकारी लिन भारतको केन्द्र सरकारका मानव संसाधन विकाससम्बन्धी मन्त्रीले पनि पतञ्जलिको हरिद्वारस्थित कार्यालयको भ्रमण गरेका थिए।

पतंजलि

नेपालमा लगानी गर्ने इच्छा

सन् २०१६ को सेप्टेम्बर महिनामा बीबीसीलाई दिएको अन्तर्वार्तामा आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको लगानी गर्न पतञ्जलिको इच्छा रहेको बताएका थिए।

त्यसयता धनाढ्य व्यवसायी उपेन्द्र महतोसँग मिलेर पतञ्जलिले बाराको कलैयामा एउटा उद्योग स्थापना गरेको थियो।

पतंजलि

तस्बिर स्रोत, Getty Images

हाल पतञ्जलिको मात्रै स्वामित्वमा रहेको उक्त उद्योगबाट नेपाली बजार लक्षित झन्डै ४० किसिमका सामग्रीहरूको उत्पादन भइरहेको बताइन्छ।

त्यसबाहेक औषधिको अर्को उद्योग पनि स्थापना गर्न लागिएको र झन्डै एक हजार जनालाई पढाउने गुरुकुल स्थापनाको काम पनि अघि बढेको पतञ्जलि नेपालका सञ्चालक सिंह बताउँछन्।

सिंहले आगामी सेप्टेम्बर ४ तारिखमा हुने व्यवसायसँग जोडिएको एउटा कार्यक्रमको प्रमुख वक्ता भएर आचार्य बालकृष्ण काठमाण्डू आउने जानकारी दिएका छन्।