हङ्कङ तनावः अमेरिकाले चीनलाई भन्यो 'बदमास सत्ता'

तस्बिर स्रोत, AFP/Getty
हङ्कङमा पुन: विरोधप्रदर्शन सुरु हुँदा चीन र संयुक्त राज्य अमेरिकाले एकअर्कामाथि 'गम्भीर' आरोप लगाएका छन्।
एक अमेरिकी कूटनीतिज्ञको नाम र अधिकारकर्मीहरूसँग उनले कुरा गर्दै गरेको तस्बिर एउटा चिनियाँ सरकारी पत्रिकाले प्रकाशित गरेपछि अमेरिकाले 'बदमास सत्ता' भन्दै बिहीवार चीनको निन्दा गरेको थियो।
चीनले त्यसलाई खण्डन गर्दै 'गुण्डा तर्क' भनेको छ। हङ्कङको मामिलामा अमेरिकाले हस्तक्षेप गरेको अमेरिकामाथि उसले निरन्तर आरोप लगाउँदै आएको छ।
अधिकारकर्मीहरू तीनदिने प्रदर्शनका लागि हङ्कङ विमानस्थलमा भेला भएको पृष्ठभूमिमा चीन र अमेरिका आरोपप्रत्यारोपमा ओर्लिएका हुन्।
कालो पोसाक लगाएका प्रदर्शनकारीहरूले विदेशी पर्यटकमा चेतना जगाउने भन्दै विमानस्थलको आगमन कक्षमा बसेर ब्यानरहरू देखाएका छन्।
सुपुर्दगीसम्बन्धी विधेयकको विरोधबाट सुरु भएर बृहत् स्वतन्त्रताको माग गर्नेमा परिणत भएका प्रदर्शनहरू हप्तौँदेखि चलेका छन्।

तस्बिर स्रोत, AFP/Getty
पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्।
हङ्कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको छ।
त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।
विवाद के हो?
बिहीवार चीनले हङ्कङका प्रदर्शनकारी नेताहरूसँग आफ्ना कूटनीतिज्ञले भेटघाट गरेको भन्ने समाचारबारे बताउन अमेरिकालाई भन्यो।
अमेरिकी कूटनीतिज्ञ जुली ईदेहले एउटा होटलमा विद्यार्थी नेताहरूसँग भेटिरहेको तस्बिर बेइजिङ समर्थक ता कुङ पाओ नामक पत्रिकाले "विदेशी शक्तिको हस्तक्षेप" शीर्षकमा छापेको थियो।
हङ्कङको राजनीतिक सङ्कटमा अमेरिकाले हस्तक्षेप गर्दै आएको चीनको आरोप रहिआएको छ।

तस्बिर स्रोत, AFP
अमेरिकाले चिनियाँ आरोप अस्वीकार गरेको छ र आफ्ना कूटनीतिज्ञहरूले सरकारदेखि व्यापारिक समूहका नेतासम्मलाई भेट्ने गरेको बताएको छ।
पत्रिकामा आएको रिपोर्टको उसले आलोचना समेत गरेको छ।
अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले भनिन्, "मलाई लाग्दैन त्यो एउटा औपचारिक विरोध हो। त्यो त एउटा बदमाश सत्ताले गर्ने कुरा हो।"
उनको भनाइ छ, एउटा जिम्मेवार राष्ट्रले त्यस्तो व्यवहार देखाउँदैन।
अमेरिकाबाट "गुण्डा तर्क" आएको भन्दै चीनले त्यसलाई खारेज गरेको छ र अर्काको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्ने कार्य बन्द गर्नुपर्ने भनेको छ।
किन हुँदैछ प्रदर्शन?
विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।
हङ्कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको छ।
त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।
तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।
विधेयक निलम्बन गरिएपछि प्रदर्शनकारीका चारवटा खास माग छन्:
- विधेयक पूर्ण रूपमा फिर्ता लिइनुपर्ने
- जुन १२ को प्रदर्शनलाई व्याख्या गर्दा प्रयोग गरिएको 'दङ्गा' शब्द फिर्ता लिनुपर्ने
- पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरू मुक्त गरिनुपर्ने
- प्रहरी दमनको अनुसन्धान गरिनुपर्ने
जोस्अ वाङ्क सन् २०१४ को प्रजातन्त्रपक्षधर प्रदर्शनका एक नेता हुन् जो १७ जुनमा जेलबाट छिट्टै छुटेका थिए।
जेलबाट छुटेपछि उनले सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै बेइजिङपक्षधर प्रमुख कार्यकारी क्यारी लामले पद छाड्नुपर्ने बताएका थिए।








