इरानले फेरि खाडीमा अर्को विदेशी तेल ट्याङ्कर कब्जामा लियो

ब्रिटिश ध्वजावाहक स्टेना इम्पेरो अझै इरानको नियन्त्रणमा छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, ब्रिटिश ध्वजावाहक स्टेना इम्पेरो अझै इरानको नियन्त्रणमा छ

इरानले फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन्।

इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले "केही अरब देशका लागि इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियन खाडीबाट आफ्नो नियन्त्रणमा लिएको" उल्लेख गरेको छ।

प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बताइएको छ।

ट्याङ्करका सात चालकलाई पनि इरानी पक्षले आफ्नो नियन्त्रणमा राखेको छ।

अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ।

इरानको सेपाह न्यूजको वेबसाइटका अनुसार सङ्गठित तस्करीविरुद्ध जलसेनाको गस्तीका क्रममा सो ट्याङ्कर फेला परेको थियो।

इरानले इन्धन तस्करीको आरोपमा ट्याङ्कर समातेको यो दोस्रो पटक हो। गत जुलाई १५ मा इरानी सुरक्षाकर्मीहरूले पानामाको ध्वजावाहक एमटी रिया नामक जहाज आफ्नो नियन्त्रणमा लिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-इरान सम्बन्ध किन तीतो?

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट भिन्न भएपछि अमेरिका इरानमाथि पुन: प्रतिबन्धहरू लगाएको थियो।

गत महिला इरानले ब्रिटिश ध्वजावाहक ट्याङ्कर स्टेना इम्पेरो आफ्नो नियन्त्रणमा स्ट्रेट अफ होर्मुजबाट आफ्नो नियन्त्रणमा लिएको थियो।

गत मे र जुन महिनामा ओमानको खाडीमा दुईवटा तेलवाहक ट्याङ्करमा इरानले आक्रमण गरेको अमेरिकाले आरोप लगाएको छ।

तर इरानले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।