'सीआईएका जासुसलाई मृत्युदण्ड दिइएको' इरानको दाबी

तस्बिर स्रोत, EPA
इरानले भनेको छ उसले अमेरिकी गुप्तचर निकाय सीआईएको लागि काम गरिरहेका १७ जना जासुसहरूलाई पक्राउ गरेको छ र उनीहरूमध्ये केहीलाई मृत्युदण्डको सजाय दिइएको छ।
इरानको गुप्तचर हेर्ने मन्त्रालयले संदिग्ध व्यक्तिहरू महत्त्वपूर्ण मानिने सेना र परमाणु गतिविधि सम्बन्धी जानकारीहरू सङ्कलन गरिरहेका थिए भनेको छ।
उनीहरूमध्ये कतिपयलाई लामो जेल सजाय सुनाइएको इरानी भनाइ छ।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ती विवरण "पूर्णतया झूटो" भएको जनाएका छन्।
तनाव
हालैका हप्ताहरूमा वासिङटन र तेहरानबीच तनाव चुलिएको छ।
अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले इरानसँग भएको अन्तर्राष्ट्रिय परामाणू सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए। त्यस यता अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्धहरू लगाएको छ।

तस्बिर स्रोत, AFP/GETTY IMAGES
सोमबारको इरानी घोषणा सरकारी सञ्चारमाध्यममार्फत गरिएको थियो जसमा मार्च २०१९ यता ती आरोपित गुप्तचरहरूलाई पक्राउ गरिएको जनाइएको छ।
शुक्रबारमात्रै इरानले स्ट्रेट अफ होर्मुजमा आफूले युकेको झण्डा भएको ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको थियो।
अघिल्लो महिना आफ्नो हवाइ क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको भन्दै इरानले एउटा अमेरिकी जासुसी ड्रोन खसालिदिएको थियो।
तर अमेरिकी सेनाले उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको बताएको थियो। उसले उत्तजेनात्मक गतिविधि नगरी त्यसलाई आक्रमण गरिएको भन्दै निन्दा पनि गरेको थियो।
इरानले गल्फ अफ ओमानमा गएको मे र जुनमा दुइवटा तेल ट्याङ्करविरूद्ध हमला गरेको अमेरिकाले आरोप लगाउने गरेको छ। तर तेहरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।









