हङ्कङ: प्रदर्शनबाट फर्कँदै गरेका मानिसहरूलाई अज्ञात समूहद्वारा आक्रमण

तस्बिर स्रोत, AFP
हङ्कङमा जारी लोकतन्त्र पक्षधरहरूको ठूलो प्रदर्शनबाट फर्कदै गरेका मानिसहरूलाई त्यहाँको एउटा रेलस्टेसनमा सेतो टिसर्ट लगाएका नचिनिएका मानिसहरूको समूहले आक्रमण गरेको छ।
सामाजिक सञ्जालमा राखिएका भिडिओमा त्यहाँको युएन लङ स्टेसनमा लाठी लिएका पुरूषहरूको समूहले मानिसहरूलाई पिटिरहेको देखिन्छ।
३० जनाभन्दा बढी मानिसहरू घाइते भएको बताइए पनि आक्रमण गर्नेहरू को थिए भन्ने जानकारी आएको छैन।
तर सामाजिक सञ्जालमा उनीहरूले सरकारको तर्फबाट यो कार्य गरेको भन्ने विचारहरू फैलिइरहेका छन्।
हङ्कङमा लोकतन्त्रको समर्थनमा भएको र्यालीमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।
चेतावनी दिँदा पनि प्रदर्शनकारीहरू नरोकिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप शुरू भएको थियो।
प्रदर्शनकारीले अटेर गरी प्रहरी घेरामा प्रवेश गर्न खोज्दै विभिन्न सामान फ्याकेको अधिकारीहरूको आरोप छ।
प्रदर्शनकारीहरूले चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनहरूमा अण्डा फ्याकिरहेका थिए।
सङ्ख्या
आइतवारको प्रदर्शनको आयोजना गर्नेहरूले ४ लाख ३० हजार जनाभन्दा बढीले प्रदर्शनमा भाग लिएको बताएका छन्।
प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ।
शुरूमा एउटा बन्दै गरेको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर यस्तो विरोध प्रदर्शन थालिएको थियो।
उक्त कानुन अनुसार हङ्कङका मानिसहरूलाई पनि चीनमा सुपुर्दगी गर्न सकिने थियो।

तस्बिर स्रोत, AFP
अब भने त्यसमा लोकतन्त्रसम्बन्धी अन्य कुरा पनि समेटिएका छन्।
आइतवार अबेर नकाब लगाएको दङ्गा नियन्त्रण गर्ने प्रहरी हातमा ढुङ्गामुढा छेक्ने सुरक्षाढालसहित त्यहाँको मुख्य टापुस्थित एउटा नौका टर्मिनल नजिकै प्रदर्शनकारीतर्फ बढिरहेको देखिएको थियो।
नारा
चीन सरकारको एउटा भवन बाहिर केही प्रदर्शनकारीले छर्कन मिल्ने पेन्टले नारा लेखिदिएका छन्।
त्यसमध्येको एउटा नारा छ- "शान्तिपूर्ण प्रदर्शनको कुनै अर्थ छैन भन्ने तिमीले हामीलाई सिकायौँ।"
सीसीटीभीमा केही प्रदर्शनकारी प्रहरी चौकी बाहिर पनि छर्कन मिल्ने पेन्टसहित देखिए।
उत्तरी हङ्कङको एउटा मेट्रो स्टेशनमा केही नकाबधारी व्यक्तिहरूले लोकतन्त्र समर्थकहरूमाथि हमला गरेका छन्।
उक्त घटनाको भिडिओमा त्यो समूहले मानिसहरूलाई लाठीले कुटिरहेको देखिन्छ।
उक्त घटनापश्चात् कम्तीमा ३६ जना मानिसलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिकार र्याली
विरोधका पर्चाहरूको साथमा एउटा विस्फोटक पदार्थको थुप्रो पाइएपछि पछिल्लो र्याली किनारा लागेको थियो।
शनिवार प्रदर्शनकारीलाई जवाफ दिन प्रहरीको समर्थनमा एउटा र्याली भएको थियो। त्यसमा हज्जारौँ मानिस सहभागी थिए।
अश्रुग्यास, रबरको गोली, संसद् भवनमा प्रदर्शनकारीले पुर्याएको क्षति र छिटपुट झडपका कारण त्यस क्षेत्रको वर्तमान इतिहासमा सबैभन्दा खराब सङ्कट पैदा भएको छ।

तस्बिर स्रोत, Getty Images
हङ्कङ सरकारले सुपुर्दगी विधेयकलाई खारेज गरिसकेको छ।
ब्रिटेनको उपनिवेशमा रहिसकेको हङ्कङ चीनको हिस्सा हो। तर "एक देश, दुई प्रणाली" सिद्धान्त अनुसार चल्दै आएको छ।
उक्त प्रणालीले एउटा तहको स्वायत्तता प्रदान गर्छ।
हङ्कङको आफ्नै न्यायालय र न्यायिक प्रणाली रहेको छ। त्यो चीनबाट स्वतन्त्र छ।
आइतवार के भयो?
आइतवार प्रदर्शनकारीले लगातार प्रदर्शनको सातौँ सातामा ठूलो प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शनलाई मुख्य चिनियाँ सरकारी कार्यालयहरू रहेको केन्द्रमा पुग्न नदिइकन वान चाईमा रोकियो।
त्यसका लागि करिब ४ हजार प्रहरी अधिकारीहरू खटाइएका थिए।
पछिला अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेका थिए। तर ती प्रदर्शनले हिंसालाई बढावा दिएका थिए।
गत साता मात्र १३ जना प्रहरी अधिकारीसहित २८ जना घाइते भएका थिए।
गत शुक्रवार एउटा औद्योगिक भवनमा विरोधीहरूका पर्चासहित पाइएको भनेको विस्फोटक पदार्थबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
हालसम्ममा तीनजना आरोपी पक्राउ परेका छन्।








