एपोलो ११: चन्द्रमामा पाइला टेकेको ५० औँ वार्षिकोत्सव संसारभरि मनाइँदै

तस्बिर स्रोत, EPA
हजारौँ मानिसले संसारभरि चन्द्रमामा पहिलो पटक मानव पाइला परेको ५० औँ वार्षिकोत्सव मनाइरहेका छन्।
सन् १९६९ को जुलाईमा एपोलो ११ को इगल मोड्युल ट्र्याङ्कुलीटी आधारमा अवतरण गरेको थियो।
घण्टौँपछि नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्ने पहिलो मान्छेको इतिहास रचेका थिए।
शुरूमा सोभियत सङ्घसँगको प्रतिस्पर्धाका कारण चन्द्रमामा जाने होडका रूपमा अगाडि बढेको आयोजना भए पनि खगोलमा रुचि राख्नेहरूबीच अहिले त्यो क्षणलाई विशेष क्षणका रूपमा स्मरण गर्ने गरिन्छ।
हामी फेरि सास फेर्दैछौँ
नासाले वार्षिकोत्सवका अवसरमा त्यस दिनको भिडिओ फूटेज अनलाइन राखेर मनाएको छ, जसले नयाँ पुस्तालाई ५० वर्षअघि आधा अर्ब मानिसले हेरेको ऐतिहासिक दृष्य पुन: हेर्ने मौका दिएको छ।
अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेका बखत एपोलो ११ का कमाण्डर आर्मस्ट्रङले भनेका थिए, "ह्युष्टन, ट्रयान्क्वीलीटी बेस हियर। द इगल ह्याज ल्याण्डेड।" अर्थात् हामी ट्र्याङ्क्वीलीटी आधारस्थलमा अवतरण गरेका छौँ।
ह्युष्टनस्थित उक्त मिसनको सञ्चारकेन्द्रबाट प्रत्युत्तर दिँदै चार्ली ड्युकले भनेका थिए, "रोजर ट्याङ्क्वीलीटी। वी कपी यु अन द ग्राउण्ड। यु गट अ बञ्च अफ गाइज अबाउट टु टर्न ब्लु। वी आर ब्रिदिङ अगेन।" अर्थात्, अद्भुत भयो। हामी निश्चिन्त भयौँ (भावानुवाद)।

तस्बिर स्रोत, Getty Images
त्यसको केही घण्टापछि चन्द्रमाको सतहमा पहिलो पाइला राख्दै नील आर्मस्ट्रङले ऐतिहासिक उद्गार गरेका थिए, "यो मान्छेका लागि सानो पाइला हो, तर मानवका लागि भने ठूलो फड्को।"
आर्मस्ट्रङ सँगसँगै बज एल्ड्रीन र माइकल कलिन्स पनि चन्द्रमा मिसनका सहयात्री थिए। तीनैजना सन् १९३० मा जन्मिएका थिए।
एल्ड्रीन र कलिन्स अझ जिवितै छन्, तर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो।
चन्द्रमामा पाइला टेकेका एल्ड्रीनले शनिवार ट्वीट गर्दै भनेका छन्, "आज अमेरिकाले एउटा ठूलो प्रश्नको जवाफ दिएको छ: हामी त्यहाँ सबभन्दा पहिले पुग्यौँ। हामी चन्द्रमामा अवतरण गरेको २५ करोड अमेरिकीहरूले हेरेका थिए।"

तस्बिर स्रोत, PA Media
"सत्य यो हो: त्यो मिसन ती हाम्रो अवतरण हेर्नेहरू सबैको थियो र फेरि एक पटक चन्द्रमामा पुग्ने सपना देख्ने भावी अमेरिकीहरूको पनि थियो।"
तेस्रो व्यक्ति माइकल कलिन्सले फक्स न्यूजलाई भने, उनले त्यो मिसन "त्यति धेरै सम्झिरहन्नन् "।
उनले भने "मैले शान्त जीवन बिताएँ।" उनले भने,"कहिलेकाहीँ मेरो गल्लीमा हिँडिरहँदा जब रात पर्न थाल्छ, म मेरो दाहिने काँधमाथि केही महसुस गर्छु- म माथि आकाशतर्फ हेर्छु र चाँदी चाँदी जस्तो देखिने आकारतर्फ हेरेर सोच्ने गर्छु " "ओहो त्यो त चन्द्रमा हो जहाँ म पुगेर आएको छु।"
विश्वले कसरी मनायो

तस्बिर स्रोत, AFP
संसारभरिका शहर र ह्युष्टनस्थित नासा भिजिटर सेन्टरमा यो महत्त्वपूर्ण वार्षिकोत्सव मनाउन विभिन्न कार्यक्रम गरिएको छ।
सैनिकहरूले प्याराशुट देखाएका छन् र लाइभ ब्याण्ड बजाएका छन्। र नयाँ वर्षको जस्तो समयको टिकटिक (काउण्ट डाउन) पनि आर्मस्ट्रङको पहिलो पाइलाको संस्मरणमा गरिएको थियो।

तस्बिर स्रोत, AFP
भर्जिनियास्थित स्मिथसोनियनको एअर एण्ड स्पेस म्युजियममा चन्द्रमा मिसनबाट प्राप्त विभिन्न बस्तुहरू प्रदर्शनीमा राखिएको छ। नील आर्मस्ट्रङले लगाएको अन्तरिक्ष पहिरन पनि प्रदर्शनीमा राखिएको छ।
सियाटलस्थित म्युजियम अफ फ्लाइटले पनि अवतरणको फुटेज देखाएको छ।

तस्बिर स्रोत, Reuters
वाशिङटन डीसीमा शुक्रबार राति १७ मिनेटको भिडिओ देखाइएको थियो।
प्यारिसमा पनि चन्द्रमा केन्द्रित प्रदर्शन गर्दै वार्षिकोत्सव मनाइयो।
वार्षिकोत्सव अवसर पारेर अमेरिकी, रुसी र इटलीका अन्तरिक्षयात्री बोकेको सोयुज अन्तरिक्ष यान कजकस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तरिक्षका लागि प्रस्थान गरेको छ।

तस्बिर स्रोत, Getty Images
रकेट छोडिएपछि नासाका प्रस्तोताले भने, "लौ उड्यो - मान्छेको सानो पाइलाको ५० वर्षपछि सोयुज रकेट र उसको बहुद्देशीय चालक दलले ठूलो फड्को मार्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ लागेको छ।"








