बाढी: कमला नदी किनारमा गुलाबदेवी मण्डल यसरी सङ्घर्ष गर्दैछिन्

गुलाबदेवी
तस्बिरको क्याप्शन, बाढीग्रस्त इलाकाका महिला अहिले आफ्नो पीडा भुल्न सङ्घर्षरत छन्
    • Author, सुरेन्द्र फुयाल
    • Role, बीबीसी नेपाली सेवा

अविरल वर्षापछि बाढी र डुबानको आघात सहन बाध्य नेपालको तराईका जिल्लाहरूमा बुधवार र बिहीवार चर्को घाम लाग्यो। नदी, खोला र खहरेहरूमा पानीको भेल निकै घटिसकेको थियो।

बिहीवार मध्याह्न टन्टलापुर घाम लागिरहेको बेला सिरहा ईटारी प्रसाही गाउँकी गुलाबदेवी मण्डल भने गाउँका अन्य महिलाहरूसँगै गाई चराउन कमला नदी किनारको पूर्वी तटबन्धमाथि पुगेकी थिइन्।

चर्को घामबाट बच्न उनीहरूले छाता ओढेका थिए।

हामी बाढीको क्षति आकलन गर्ने क्रममा असिनपसिन हुँदै तटबन्धमै उक्लियौँ।

हामीलाई देखेपछि दुई दिदीबहिनी हामी नजिक आए र मैथिली भाषामा आफ्नो घर खेतमा बाढीले ठूलो क्षति पुर्‍याएको र त्यसैले आफूहरू निकै पीडामा रहेको बताए। १२-१५ जनाको समूहमा गुलाबदेबी मण्डल, ३८, ले मात्रै नेपाली भाषा बोलिन्।

उनले भनिन्, "बाढीले हाम्रो ठूलो क्षति भयो। हिँड्नुहोस् हाम्रो घर हेर्न।"

विनाश

उनको घरमा बाढी पसेको पनि पाँच दिन बितिसकेको छ।

बाढीपिडीत
तस्बिरको क्याप्शन, अचानक आएको बाढीले गुलाबदेवीको जीवनमा कष्टै कष्ट ल्याइदिएको छ

अब त पानी पनि सुक्न थालिसकेको छ।

बर्खा र बाढी अघि चर्किएको घाम फेरि उस्तै भइरहेको छ।

तर बर्खा भर्खर त सुरु भएको छ। अर्को बाढी फेरि पनि त आउन सक्छ।

बाढी र डुबान घटेपनि पीडितहरूको क्षतिको हिसाब उस्तै छ।

उनीहरूको पुनर्स्थापना हुन र बाढी अघिको अवस्थामा फर्किन अझै निकै धेरै लाग्ने निश्चित छ।

ठूलाठूला नेता तराई झरेपनि उनीहरूको रित्तिएको भकारी भरिएको छैन। उनीहरू आउने दशैँ, तिहार वा छठबारे चिन्तित हुन थालिसके।

के खाने के लाउने भनेर।

त्यो रात के भयो?

सिराहाका महिला अनि पुरुष अहिले पीडामा छन्।

बालसुलभ क्रीडामै रमिरहेको देखिएपनि बालबालिकाहरू पनि सायद आफ्नै खाले पीडामा छन्।

पीडामा भएपनि गुलाबदेवी तथा उनका छिमेकी दिदीबहिनीहरू आफ्नो परम्परागत रङ्गीचङ्गी फरियामा सजिएका थिए।

गुलाबदेवी चाहिँ नीलो रङ्गको फरियामा थिइन्।

ती रङ्ग-रङ्गका वस्त्रधारी सिराहाका बाढीपीडित महिला घाम लागेको समयमा कमला नदी किनारमा सेता रङ्गका आफ्ना गाई चराउन गएका रहेछन्।

ईटारी प्रसाही गाउँ र सिराहा, सप्तरी अनि धनुषा आदि जिल्लाका गाउँ तथा सहर बजारका थुप्रै पुरुषहरू वैदिशक रोजगारीमा गएका छन्।

कोही भारतमा छन् त कोही खाडी वा मलेशिया पुगिसकेका छन्।

गुलाबदेवीका श्रीमान् पनि विदेशिएका छन्।

घरमा पाँचवटा लालाबाला छन्। तीन छोरी र दुई छोरा।

गुलाबदेवीले नै ती सबैजना र सासुआमाको हेरचाह गर्छिन्।

"त्यो रात बाढी आएपछि भागेर ज्यान जोगाउन हामीलाई साह्रै गाह्रो भयो," उनी भन्छिन्।

हुन पनि अलिक पर उत्तरी क्षितिजमा चुरे अनि दक्षिणतिर अलि परै भारतको बिहार रहेको, हरिया खेत र आँप सिसौ आदी रूखैरूख रहेको उनको गाउँले यो साता "कहिल्यै नभोगेको जस्तो विपद्" भोगेको छ।

पूर्वतिरबाट घुर्मी नदी र पश्चिमबाट कमला नदीको बाँध फुटेर गाउँमा पानीको ठूलो भेल पसेपछि केहीको घर भत्किएको रहेछ भने केहीको घरसँगै अन्नपात पनि नष्ट भएको रहेछ।

उत्तरतिरको बसाह खोलाको भेल पनि ईटारी प्रसाही पसेछ।

बचेखुचेका धान, गहुँ र गेडागुडी महिलाहरूले घर बाहिर सडकमा बिस्कुन लगाएर सुकाइरहेका थिए।

बाँसको चोयाले बेरेर हिलो लिपिएका ससाना घरभित्र पानीको भेल पसेपछि गुलाबदेवी र उनका छरछिमेकका एक हजार जति सदस्यहरू पीडित हुन पुगेका रहेछन्।

मौसमको अनौठोपना

कस्तो अनौठो लाग्ने मौसम।

बाढीपिडीत
तस्बिरको क्याप्शन, मौसममा हुने कुनै पनि गडबडीले पहिलो प्रहार स्थानीय समुदाय र अझ महिलाहरूलाई नै गर्ने गर्छ

कहिले खडेरी त कहिले पानीपानी।

गएको असार १५ गते सम्म नेपालमा पर्याप्त पानी नपरेर किसानहरूको धान रोपाइँ प्रभावित भइरहेको थियो।

असारको अन्तिम सातातिर भने तीन दिनसम्म अविरल वर्षा भएपछि नेपालमा धेरै मानिसहरू अहिले जलोत्पन्न प्रकोपपीडित बनेका छन्।

नहुन् पनि किन?

पूरै महिनामा पर्ने पानी तीन दिन भित्रै दर्किदिएपछि।

ठाउँठाउँमा आरी घोप्टाएजस्तै गरी वर्षा भइदियो।

क्षणभरमै विनाशलीला मच्चियो।

पहाडमा आकस्मिक बाढी र आकस्मिक पहिरो आयो भने तराईमा ठूलो बाढीपछि गाउँबस्ती र घरखेतहरू जलमग्न हुन पुगे।

तटबन्ध छेउको तनाव

ईटारी प्रसाही गाउँमा मात्र होइन सिराहाका अन्य गाउँमा पनि बाढीले निम्त्याएको पीडा उस्तै छ।

कारण पनि उस्तै छन्: नदी किनारका गाउँबस्तीमा बढी क्षति हुन पुगेको छ।

मानवनिर्मित तटबन्ध, पुल र नहर छेउछाउका बस्तीमा विपद् आइपरेको छ।

गुलाबदेवी र उनका छिमेकी दिदीबहिनीजस्तै सिराहामा हजारौँ मानिस पीडित हुन पुगेका छन्।

सिराहा पूर्वको सप्तरीमा पनि सप्तकोशी नदीवरपर र नेपाल-भारत सीमानजिकै बनाइएका तटबन्धछेउछाउ बाढी र डुबानको समस्या यो वर्ष फेरि दोहोरिन पुगेको छ।

सप्तरी उत्तरका जिल्ला र पूर्वका जिल्लामा पनि क्षति भएकै छ।

देशभरि ९० जना भन्दा बढीको ज्यान गइसकेको छ।

नारायणी नदीदेखि पूर्व र कोसीदेखि पश्चिमका प्रदेश २ का जिल्लाहरूमा मात्र करिब १० हजार परिवार बाढी र डुबानको प्रत्यक्ष मारमा परेका छन्।

विपद्को मारमा ससाना घरमा बस्ने ईटारी प्रसाहीकी किसान एवं गृहिणी गुलाबदेबीजस्ता मानिस बढी परेको देख्न सकिन्छ।

गुलाबदेवीको आ

गुलाबदेवी र उनका छिमेकी दिदीबहिनीहरूले हामीले उनीहरूलाई राहत वा पुनर्वासको लागि सहयोग गर्न सक्ने मानिस ठानेछन् क्यार।

आफ्नो घरमा पुगेको क्षति हेर्न आउन भने।

हाम्रो डायरीमा उनीहरुको पनि नाम लेख्न अनुरोध गरे।

गुलाबदेवी मण्डल मात्र होइन। अमृता मण्डल। उनकी सासुआमा सुशीला मण्डल। उनकी छिमेकी रामकुमारी मण्डल। अर्की छिमेकी रिता मण्डल।

बाढीपिडीत
तस्बिरको क्याप्शन, बाढीले पुर्‍याएको क्षतिपछि तङ्ग्रिने प्रयासमा पीडितहरू लागेका छन्

यस्तैयस्तै नाम हामीले डायरीमा लेख्यौँ।

सोच्यौँ उनीहरूको नाम, जिल्ला र प्रदेशका उच्च अधिकारीले पनि लेखे होलान् राहत दिनु पर्ने पीडितको सूचीमा।

गुलाबदेवीको सानो घर बाहिर उनकी सासू धान सुकाउँदै थिइन्।

पहेँलो रङ्गको फरिया लगाएकी।

नमस्कार भन्दा उनले पनि नमस्ते गरिन्।

मैथिलीमा के के भनिन्। सबै नबुझेपनि उनको शब्दहरूमा पीडा नै झल्कन्थे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाढीबाट मुसहरहरू विस्थापित

गुलाबदेवीको ईटारी प्रसाही गाउँका प्राय: घर बाँसले बनेका छन्।

खरले छाएका र भित्ताहरू माटोले लिपिएका, नजिकैका बसाह र घुर्मी खोला अनि कमला नदी, उनीहरूका ससाना केटाकेटी हाँसी खेलिरहेको देख्न सकिन्छ।

तर उनीहरू विपद्का कारण शिक्षाबाट वञ्चित हुनु परिरहेको छ।

विद्यालय जति आश्रयस्थल

उनीहरू पढ्ने गाउँका विद्यालहरू यतिखेर बाढी पीडितको सुरक्षित आश्रयस्थल बन्न पुगेका छन्।

गुलाबदेवीकै गाउँको श्री ईटारी प्रसाही निम्न माध्यामिक विद्यालय अहिले उनी, उनकी सासू र लालाबाला तथा उनीजस्ता थुप्रै पीडित परिवारको आश्रयस्थल बन्न पुगेको छ।

बाढी आएको शनिवारको रात त्रासदीपूर्ण थियो।

बाढीपिडीत
तस्बिरको क्याप्शन, धेरै ठाउँमा स्थानीय विद्यालयनै आश्रयस्थल बनेका छन्

"रातिको समयमा घरभित्र पानी पस्यो। पानी बढ्दै गयो। रोकिएन। यहाँसम्म पानी आयो," उनले आफ्नो घाँटीतिर हात लैजाँदै भनिन्। "त्यसपछि म आफ्ना बच्चाहरू र सासूलाई लिएर गाउँको पल्लोपट्टि रहेको स्कूलतिर भागेँ।"

त्यही विद्यालय अहिले गुलाबदेवी र उनका सयभन्दा बढी पीडित छिमेकीको आश्रयस्थल बनेको छ।

त्यस्तो अवस्था कहिलेसम्म रहने हो त्यो निश्चित छैन किनभने बर्खायाम सकिएको छैन र पीडितहरूलाई सुरक्षित बासको बन्दोबस्त गर्न कुनै पहल सुरु भइसकेको छैन।

साहस अझै बाँकी

त्यसैले गुलाबदेबी, उनकी सासू केटाकेटी आफ्नो भविष्यबारे निकै चिन्तित छन्। उनकी छिमेकी रामकुमारी मण्डल पनि चिन्तित छिन्।

उनको घर क्षतविक्षत छ। चिसो छ। अन्नपात भित्रै भिजेका छन्। कि बगाइसकेको छ भेलले।

तैपनि रामकुमारीले हरेस खाएकी छैनन्।

गुलाबदेवी
तस्बिरको क्याप्शन, विपद्ले जतिसुकै पीडा दिएपनि त्यसले महिलाहरूको आँट र साहस मार्न सकेको छैन

उनी बचेखुचेको अन्नपात जोगाउन लागिपरिरहेकी छन्।

घर मर्मत गर्न लागिसकेकी छिन्।

उनीजस्तै गुलाबदेवी र अन्य महिलापनि विपद् पछि बिस्तारै तङ्ग्रिँदै छन्। उनीहरूले हरेस खाएका छैनन्।

साहसी भएर पुन: आफ्नो जीवन सहज बनाउन कडा परिश्रम गर्न थालिसकेका छन्।

राहत आउँदै गर्ला। अरू सहयोग के हो कहिले हो टुङ्गो छैन।

विपद् पछिको यो घडीमा गुलाबदेवी माथि पाँच बच्चाबच्ची र वृद्धा सासू आश्रित छन्।

श्रीमान् विष्णुदेव खतबे १० वर्ष दिल्लीमा बसे। सिकर्मीको काम गर्दै। एक महिनादेखि उनी खाडी देश यूएईको दुबईमा छन्। त्यहाँ उनी सिकर्मी काम नै गर्छन्।

घरमा बाढी पसेको खबर विष्णुदेवले पाइसकेका छन्।

उता उनी चिन्तित छन्। यता गुलाबदेवी चिन्तित छिन्।

भन्छिन्, "बाढीले यत्रो विपद् ल्यायो। तर बूढा विदेशमा छन्। चार-पाँच लाख रुपैयाँ ऋण लिएर गएका छन्। कहिले फर्किने होलान्? कहिले त्यो चुक्ता गर्ने होला?"

"यहाँ हामीलाई यस्तो दु:ख आइपरेको छ।"