एउटै देशमा तीन फरक नम्बर प्लेट

नम्बर प्लेट

विश्वका कुनै पनि मुलुकमा सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेटमा एकरूपता र सङ्घीय शासन प्रणाली लागु भएका मुलुकमा समेत प्रदेश सरकारलाई चिनाउने प्रस्ट सङ्केत सहितको एकैखाले नम्बर प्लेट प्रयोग हुन्छ।

तर नेपालका सडकमा गुड्ने यातायातका साधनहरूमा तीन थरीको नम्बर प्लेट देख्न पाइन्छ।

केन्द्रीकृत शासन प्रणाली अन्तर्गतको अञ्चल सङ्केत उल्लेख गरिएको नम्बर प्लेट, प्रदेशको सङ्केत उल्लेख गरिएको नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट गरी तीन थरी नम्बर प्लेट प्रचलनमा रहेका छन्।

जानकारहरूका अनुसार सवारीसाधनको परिचयको दिने प्लेटमा एकरूपता हुनुपर्दछ।

यातायात व्यवस्था विभागका अधिकारीहरू लामो समयदेखि विचारधीन मुद्दामा अदालती फैसला नआएसम्मको अवस्थामा एकैखाले नम्बर प्लेट लागु गर्न नसकिने बताउँछन्।

नम्बर प्लेटका कथा

विभागका अधिकारीहरूका अनुसार फरक नम्बर प्लेटको प्रमुख कारण भनेको अदालती फैसलाको ढिलासुस्ती हो।

सरकारले अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लागु गरेपछि सो विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कार्यान्वयन नगर्न गत फेब्रुअरीमा अन्तरिम आदेश जारी गरेको छ।

विभागले नेपालीमा नम्बर प्लेट बनाउने प्रणाली आफूहरूसँग नभएकाले अङ्ग्रेजी भाषामै गर्नुपर्ने बाध्यता रहेको बताएको छ।

विशेष खाले चिप जडान गरिने त्यस्तो नम्बर प्लेटमा सवारीसाधन र सवारीधनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ।

अन्तरिम आदेशपछि विभागले पुरानै शैलीमा हस्तलिखित नम्बर प्लेटको वितरण गर्न थालेको हो।

विभागका सूचना अधिकारी तीर्थराज खनाल भन्छन्: "यस विषयमा अदालतले निर्णय सुनाएको छैन र हामीसँग कुर्नुको विकल्प छैन।"

DoTM
वितरण गरिसकेको इम्बोस्ड नम्बर प्लेट फिर्ता लिने कुरो पनि भएन। पुराना नम्बर प्लेटलाई विस्थापन पनि गर्न सकिएन।
तीर्थराज खनाल
सूचना अधिकारी, यातायात व्यवस्था विभाग

फरक प्लेट

खनालका अनुसार मुलुकले नयाँ संविधान अपनाएसँगै अञ्चलसम्बन्धी व्यवस्था खारेज भएको र प्रदेश गठन भएका कारण त्यही अनुरूप नयाँ प्रकारको नम्बर प्लेट वितरण गरिएको हो।

उनले भने: "एकातर्फ संविधानले अञ्चल कार्यालय नचिन्ने, अर्कोतर्फ प्रादेशिक संरचना बनेको अवस्थामा हामीले नयाँ नम्बर प्लेट जारी गरेका हौँ।"

अञ्चलबाट वितरण गरिने नम्बर प्लेटमा अञ्चल सङ्केत र गाडीको प्रकारका हिसाबले बीचमा हुने अङ्क १ देखि ९९ सम्म मात्र दर्ता गर्न सकिने व्यवस्था छ।

दुई पाङ्ग्रे सवारीसाधनको दर्ता बढ्दै गएपछि ९९ भन्दा माथि अङ्क थप्न कानुनी बाधा रहेका कारण पनि प्रादेशिक नम्बर प्लेटको अवधारणा अगाडि बढाउनु परेको उनीहरूको भनाइ छ।

खनाल भन्छन्: "वितरण गरिसकेको इम्बोस्ड नम्बर प्लेट फिर्ता लिने कुरो पनि भएन। पुराना नम्बर प्लेटलाई विस्थापन पनि गर्न सकिएन।"

"नयाँ नम्बर प्लेटको हकमा प्रदेश सरकारको सङ्केत सहितको प्लेट वितरण गरी राखिएको छ।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

फेरि फेर्नुपर्ने

सरकारले हालसम्म वितरण गरिएको नम्बर प्लेट फेरिने क्रम अझै रोकिने अवस्था भने छैन।

प्रदेशहरूको नामाङ्कन हुन नसक्दा हाल जारी भएका नम्बर प्लेट फेर्नुपर्न अवस्था आइलाग्ने खनाल स्विकार्छन्।

प्रदेशको नामाङ्कन नभएको अवस्थामा अङ्कको प्रयोगले प्रदेशलाई चिनाउने गरिएको छ।

नामाङ्कन भए पछि उक्त अङ्कलाई हटाएर प्रदेशको नामको सङ्केत राख्नुपर्ने हुन्छ।