प्रधानमन्त्रीका सल्लाहकारले कहाँ र कोबाट देखे गणतन्त्र उल्टाउने प्रयास?

तस्बिर स्रोत, Rajanbhattarai/facebook
प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको टिप्पणी गरेका छन्।
उनले अर्थपूर्ण लाग्ने खालको ट्वीट गर्दै लेखेका छन्,"बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई, सक्दा व्यवस्था उल्टाउने- नभए सरकारका विरुद्ध प्रयोग गर्ने। क-कस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था। इतिहास दोहोर्याउने कुचेष्टा।"
गणतन्त्र उल्टाउने शक्ति को?
व्यवस्था उल्टाउने भनेको गणतन्त्र उल्टाउन खोजेको बुझिन्छ। उनले नेपालको राजनीतिक इतिहासमा त्यस्तो भएको भन्दै उक्त कुरा स्वीकार गरे।
उनले बीबीसी नेपाली सेवासँग भने, "बहुदलीय व्यवस्था नै खराब, गणतन्त्र नै खराब, यहाँ धेरै छोटा राजा भए भन्ने नाममा संविधानमाथि नै प्रश्न उठाउने विगतकै परम्परा दोहर्याउन खोजिएको र सडकमा त्यस किसिमका कुरा सुनिन थालेकालाई मैले सङ्केत गरेको हुँ।"
पहिल्यैदेखि कमल थापाको नेतृत्वको दलले राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएको छ। के अहिले त्यो जोखिम बढेको हो?
बढ्न पनि सक्ने सम्भावना औंल्याउँदै उनले 'त्यस्ता गलत आवाज गलत तरिका र गलत निकाय'बाट आउन नहुने बताए।
उनले ती गलत निकाय वा गलत तरिकाबारे थप खुलाउन चाहेनन्।
उनले भने, "प्रतिबन्धित राजनीतिक दलका गतिविधिहरू पनि छन्, संवैधानिक मान्यताभन्दा बाहिर रहेर नारा र भनाइहरू आइरहेका छन्।"
लामो सङ्घर्षबाट प्राप्त संस्थागत गरिएका विषयलाई उल्टाउन खोज्दा अन्ततोगत्वा त्यसको सहयोग प्रतिगामी शक्तिहरूलाई हुन्छ, जुन कुरा विगतमा हामीले भोगका छौँ।
विप्लवको 'सहयोग प्रतिगामीलाई'
प्रतिबन्धित दल भनेर उनले नेत्रविक्रम चन्द विप्लवको दललाई औंल्याएको बुझिन्छ।
के चन्दको दलको गतिविधिले राजा फर्काउन चाहने शक्तिलाई नै सघाउँछ भन्ने बुझाइ हो?
भट्टराईको जवाफ छ, "उनीहरू पनि यो व्यवस्था उल्टाउन र संविधानलाई असफल बनाउन लागेका छैनन र?"
"लामो सङ्घर्षबाट प्राप्त संस्थागत गरिएका विषयलाई उल्टाउन खोज्दा अन्ततोगत्वा त्यसको सहयोग प्रतिगामी शक्तिहरूलाई हुन्छ, जुन कुरा विगतमा हामीले भोगका छौँ।"
विदेशी शक्ति को?
भट्टराईले ट्वीटमा 'क-कस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको' उल्लेख गरेका छन्।
त्यसको उद्देश्य सके व्यवस्था उल्टाउने नत्र सरकारविरूद्ध प्रयोग गर्ने भन्ने उनको ट्वीटबाट बुझिन्छ।
यतिबेला सरकारलाई समर्थत फिर्ता लिएको राष्ट्रिय जनता पार्टी र सत्तारूढ समाजवादी दलबीच एकीकरणको चर्चा फेरि चलेको छ।
तर उनले आफूले त्यसतर्फ सङ्केत नगरी व्यवस्था उल्टाउन खोज्ने शक्तिहरूलाई भनेको बताए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
त्यसो भए गणतन्त्र उल्टाउन खोज्ने मित्रराष्ट्रहरू पनि छन्?
उनले जवाफ दिए, "त्यो त तपाईँले भन्नु भयो, मैले भित्र-बाहिरका शक्तिमात्र भनेको छु। मैले भनेको मात्र बुझौँ न।"
उनले ती विदेशी शक्तिबारे खुलाएनन्। नेकपाकै केही नेताले पनि विदेशी शक्तिको चलखेल बढेको र सरकार ढाल्ने प्रयास भइरहेको टिप्पणी गर्ने गरेका छन्।
इतिहास दोहर्याउन खोज्ने को, प्रचण्ड?
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटको अन्त्यमा 'इतिहास दोहोर्याउने कुचेष्टा।' भन्ने वाक्य लेखेका छन्।
विगतमा प्रचण्डले ओली नेतृत्वको सरकार विस्थापित गर्दै कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाएका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
उनको दल नेकपाका दुईजना अध्यक्ष केपी ओली र प्रचण्डबीच मतभेद देखा परेको खबरहरू आएका बेला भट्टराईले ट्वीट गर्दै इतिहास दोहर्याउने कुचेष्टा प्रचण्डले गरेको ठानेका हुन्?
उनले 'अनर्थ' लगाइएको भन्दै त्यो कुरा ठाडै अस्वीकार गरे।
आफूले व्यवस्था उल्टाउने प्रयासको सिलसिलामै उक्त कुरा पनि उल्लेख गरको उनको भनाइ छ।








