एकताप्रतिको आशंकाबारे ओली-प्रचण्डको भिन्न मत

ओली र प्रचण्ड

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, दुबै दलका नेताहरूले पार्टी एकतामा चुनौतीहरू रहेको बताएका छन्

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत दलमा आफ्नो र आफ्नो पक्षको भूमिकाको विषयले प्राथमिकता पाउँदा एकतालाई लिएर आशंका उत्पन्न भएको बताएका छन्।

नेकपा माओवादी केन्द्रले एकीकरणमा दुवै पक्षको समान हैसियतको कुरा उठाएको खबर आइरहँदा ओलीले त्यस्तो टिप्पणी गरेका हुन्।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समानताका आधारमा एकता गर्ने चुनौती रहेको बताएका छन्।

ओलीले ललितपुरमा र प्रचण्डले रौतहटमा आयोजित कार्यक्रममा पार्टी एकतालाई लिएर देखिएको आशंका र चुनौतीबारे बोलेका हुन्।

अनावश्यक चर्चा

एमाले अध्यक्ष ओलीका भनाइमा एकीकृत पार्टीमा आफू र आफ्नो पक्षको हैसियतबारे लिइएको चिन्ताले आशंका बढाएको छ।

उनले भने, " विचार, अगाडिको अभिभारा, गर्नुपर्ने काम, देश र जनताप्रति हाम्रो कर्तव्यको चर्चाभन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ, हामी कति हुन्छौं, कसो हुन्छ भन्ने कुराले अनावश्यक चर्चा पाउँदा जनतामा आशंका बढेको छ।"

उनको अभिव्यक्ति 'एकताको अनुपात समान हुनुपर्ने' माओवादी केन्द्रका नेताका भनाइप्रतिको असन्तुष्टि जस्तो सुनिन्थ्यो।

‌ओलीका भनाइमा 'केही-केही' को ध्यान त्यसतर्फ रहे पनि सबैको छैन। तर 'केही-केही' भित्र पर्ने गरी प्रचण्डको अभिव्यक्ति आएको छ।

विदेशी शक्ति

प्रचण्डको निजी वेबसाइटका अनुसार रौतहटमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, "हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ।"

एकता हुन नदिन शुरुदेखिनै विभिन्न शक्तिले चलखेल गरेको बुझाइमा रहेका माओवादी केन्द्रका नेताले त्यसलाई विफल तुल्याउँदै आफूहरु एकतामा अघि बढेको बताउने गरेका छन्।

तर प्रचण्डले बिहीवार फेरि 'एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको' धारणा सार्वजनिक गरे।

पार्टीका विभिन्न तहमा आफ्नो दललाई सम्मानजनक सहभागिता दिन एमालेले नमानिरहेकाले एकीकरणको टुंगो लाग्न नसेकेको माओवादी केन्द्रका नेताले बताउने गरेका छन्।

तर दुबै दलका नेताले एकताबाट पछि हट्ने अवस्था नरहेको दोहर्‍याउन छाडेका छैनन्।