के छिट्टै होला वाम एकता?

एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताहरुले पार्टी एकताका प्राय: सबै विषय मिलेको भन्दै त्यसको औपचारिक घोषणा छिट्टै हुने बताएका छन्।
एकता प्रक्रिया लम्बिदैं गइरहेका बेला आशंका व्यक्त हुन थालेपछि उनीहरुले एकताको सन्देश दिन भन्दै आइतवार एक कार्यक्रममार्फत संयुक्त सम्बोधन गरेका हुन्।
उनीहरु दुवै जनाले समय त तोकेनन् तर कसैले अनुमान नगरेको मितिमा एकता घोषणा हुने दाबी गरे।
पार्टी एकता सम्मानजनक तथा समानताका आधारमा गर्न आफूहरू सहमत भएको दुवै नेताले बताए तर त्यसबारे थप प्रष्ट भने पारेनन्।
असन्तुष्टि
दुवै दलका अध्यक्षले संयुक्त रुपमा पार्टी एकताको सन्देश दिने भनी गरिएको कार्यक्रम सुरु नहुँदै लेनिनको तस्बिर नभएको भन्दै माओवादी केन्द्रका कतिपय नेता-कार्यकर्ताबाट असन्तुष्टि प्रकट भएपछि केही घण्टा रोकिएको थियो।
कार्यक्रम सुरु भएपछि उक्त असन्तुष्टितर्फ संकेत गर्दै दुवै नेताले त्यसलाई व्यवस्थापकीय त्रुटि भन्दै थामथुम पार्ने कोसिस गरेका थिए।
असोज १७ गते चुनावी तालमेलबारे घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले चुनावपछि दुई पार्टी एकीकरण हुने बताएका थिए।
तर चुनावपछि दुई दल मिलेर सरकार बनाइसक्दा पनि एकीकरण हुन नसक्दा यसबारे आशंका व्यक्त भइरहेका छन्।
अवस्था
यद्यपि अब एकताबाट पछि हट्न सकिने अवस्था नरहेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको भनाइ छ।
उनले भने, "अब त मेरो जुत्ता मिलेन त्यसकारण लगाउँदिन भन्न मिल्ने ठाउँ छैन। जुत्ता मिलेन भनेर खुट्टा अलि ताछतुछ गरेर भएपनि मिलाउनु पर्छ। हामी त्यहो विन्दुमा पुगिसक्यौं। हामीले देशलाई प्रतिबद्धता जनाइसक्यौं अब यो भएन त्यो भएन भन्ने ठाउँ नै छैन।"
यसअघि आधा-आधा अनुपातमा पार्टी एकीकरण हुनुपर्ने अडान राख्दै आएका प्रचण्डले आजको कार्यकर्ता भेला सम्बोधन गर्दै समानताको आधारमा एकता हुने बताए।
उनले भने, "हामीले सम्मानजनक ढङ्गले एकता गर्नुपर्दछ। कसैले कसैलाई अपमानित गर्ने या विभेद गर्ने हुन सक्दैन। समानताको सिद्धान्तलाई हामी अंगिकार गर्नुपर्ने हुन्छ। यस्तै न्यायोचित किसिमले पनि एकता गर्नुपर्ने हुन्छ।"
मिति
दुवै नेताले दुई पार्टीबीच सबै कुरा मिलिसकेको बताएपनि एकताको मितिबारे भने मुख खोलेनन्।
यद्यपि उनीहरुले छिट्टै एकता हुने घोषणा गरे।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, "यहाँ यति धेरै तागतहरु, यति स्वार्थहरु टकराइरहेका हुन्छन् यो दिन गर्छौं भन्यो भने त्यो दिन हुँदैन। जुन दिन भनिएको छैन त्यो दिन ड्याम्मै हुन्छ र ड्याम्मै गर्न पनि पर्छ।"
यसरी दुवै नेताले पार्टी पंक्तिलाई आश्वस्त पार्न खोजेपनि केही जटिल विषय अझै मिल्न बाँकी रहेकाले एकताको औपचारिक घोषणा अड्किएको अड्कलबाजीहरु भएका छन्।
भय
एकीकरणको घोषणा हुनुअघि नै वैचारिक तथा सैद्धान्तिक पक्षबारे छलफल हुन नसकेकोले पनि धेरै कुरा अझै नमिलेको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।
दुवै दल एकीकरण गर्दा उनीहरुको अस्तित्वबारे उनीहरुबीच अझै पनि अविश्वास कायमै रहेकाले पनि धेरै विषयहरु समाधान हुन नसकेको उनी बताउँछन्।
श्रेष्ठले भने, "माओवादी केन्द्रलाई ठूलो हिस्सा दिँदा पछि फुटेर पो जाने हो कि भन्ने भय एमालेमा देखिन्छ भने एमालेमा बिलय पो हुने हो कि भन्ने भय माओवादी केन्द्रमा छ।"
तर त्यसबारे दुवै पक्ष मौनप्राय: देखिन्छन्।








