एकता प्रक्रियाको खाकामा 'सहमति नजिक'

हस्ताक्षर

तस्बिर स्रोत, Pradeep Gyawali

तस्बिरको क्याप्शन, फाइल तस्बिर

नेकपा एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेता पार्टी एकता प्रक्रियाको खाकामा सहमति नजिक पुगेको नेताहरुले बताएका छन्।

तर उक्त खाकाको विस्तृत विवरण खुलाइएको छैन।

५०/५० प्रतिशतका आधारमा एकता हुनुपर्ने अडान माओवादी पक्षबाट आएपछि एकता प्रक्रिया पछिल्ला केही साता सुस्ताएको जस्तो प्रतीत भएको थियो।

यसअघि संयुक्त कार्यदलले वैशाख ९ गते आइतबार एकताको औपचारिक घोषणा गर्न सुझाएपनि त्यो नहुने भएपछि दुवै अध्यक्षहरूले आइतबार नै संयुक्त रुपमा एकताबारे आश्वस्त पार्ने कोसिस गर्ने नेताहरुले बताएका छन्।

लगातार तीन दिनयता दुवै दलका अध्यक्षबीच एक्लाएक्लै भएको छलफलले एकता प्रक्रियालाई सकारात्मक मोड दिएको प्रचण्डनिकट एकजना सहयोगीले बताएका छन्।

प्रारूप

शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि एकता प्रक्रियामा थप प्रगति भएको बताइएपनि त्यसको प्रारूपबारे बताइएको छैन।

तर कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा दुवै दलको संयुक्त एकता संयोजन समितिको आयोजनामा हुने कार्यक्रममा दुवै नेताले एकता प्रक्रियाको विस्तृत खाका सुनाउने एमाले नेता ईश्वर पोखरेलले बताए।

उनले भने, ''हालसम्म भएका सबै प्रगतिहरू र टुङ्ग्याउन बाँकी रहेका विषयहरु आम नागरिक र कार्यकर्तालाई जानकारी दिने उद्देश्य राखेर एकताबद्ध हुने प्रयत्न जारी छ, हामी एकताबद्ध हुन्छौं र यो देशभरिका कम्युनिष्टहरुको चाहना हो भनेर नेताहरुले आफ्ना भनाइ राख्नुहुनेछ। साथै एकता कुन विन्दुमा कसरी टुङ्ग्याउँछौं भनेर पनि उहाँहरुले संकेत गर्न सक्नुहुनेछ।''

यसअघि एकताका लागि बनेका कार्यदलले दिएको सुझावका आधारमा कम्युनिष्ट पार्टी स्थापना दिवसको मेसो पारेर वैशाख ९ गते दुवै वाम पार्टीको एकीकरण घोषणा गर्ने बताइएको थियो।

अपिल

छलफल

तस्बिर स्रोत, PMO

तर पछिल्ला केही दिनयता मतभेदका विषयलाई लिएर एकता प्रक्रिया थप जटिल बन्दै गएको विवरण आएका थिए।

दुवै दलका अध्यक्षबीच लगातार वार्ता भएपनि स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा रहने नेताहरुको टुङ्गो लगाउन बाँकी रहेको बताइएको थियो।

तर ती विषय पनि हल हुँदै गएको माओवादी केन्द्रका नेताहरुले समेत बताउँदै आएका छन्।

धकेलिँदै आएको एकता प्रक्रियाबारे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ''अब हामी एकता छिट्टै र निश्चय पनि गर्छौं, अन्योल अनि आशंकामा कोही पनि नपर्नुहोस्, हामी सहमतिको नजिकै पुगिसकेका छौं भन्ने हिसाबले दुवै अध्यक्षले सारा नेता कार्यकर्ता र शुभेच्छुक जनसमुदायलाई अपिल गर्नुहुनेछ। र, त्यो चाहिँ एकता सकारात्मक दिशातर्फ गइरहेको सन्देशसहितको अभिव्यक्ति हुनेछ।''

एकीकृत दलको चुनाव चिन्ह, पार्टीको राजनीतिक दस्तावेजमा 'जनयुद्ध' शब्दजस्ता विषयमा रहेका मतेभद रहेको बताइएपनि एकिकृत पार्टीमा आफ्नो स्थान कसरी बलियो बनाउने भन्ने कुरामा मूल विवाद रहेको कतिपय जानकार ठान्छन्।