तराई, पहाड, हिमाल एक रहनुपर्छ: पूर्व राजा

पाँच नम्बर प्रदेशका तराई र पहाडी जिल्लाहरु छुट्याउने प्रयत्नले निम्त्याएको राजनीतिक गतिरोध जारी रहेका बेला पूर्व राजा ज्ञानेन्द्रले तराई, पहाड र हिमालमाझको एकता तोड्ने प्रयत्न भएको भन्दै कडा विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा पटक पटक राष्ट्रिय एकता र अखण्डताको मुद्दा उठाउँदै पूर्व राजाले क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी शब्दको भाव दुरुपयोग गरेर मुलुक कमजोर पारेको भनेर राजनीतिक दलहरुको नाम नलिइकनै चर्को आलोचना गरेका छन्।
पहाड र तराई टुक्र्याउने खेल भइरहेको भन्ने कैयौंका भनाईलाई बल दिँदै पूर्व राजा ज्ञानेन्द्रले विज्ञप्तीमा राष्ट्र बचाउन जाग्न र लाग्न परेको छ भनेका छ्न्।
बेलाबखत यस्ता विज्ञप्ति दिएर तरंग फैलाउने गरेका पूर्व राजाले अहिलेको परिस्थितिबारे उनको धारणा सर्वसाधारणलाई जानकारी दिन खोजेको पूर्व राजाका गतिविधि नजिकबाट नियाल्ने पत्रकार देवप्रकाश त्रिपाठीले बताए।
'मन जित्ने प्रयास'
त्रिपाठी भन्छन्,"देश राजनीतिक दलहरुले व्यवस्थापन गर्न सकेका छैनन्। संविधान घोषणा भइसकेपछि झन अनिश्चिततातर्फ जान खोजिरहेको छ। पूर्व राजाले के सोचिरहेका छन् भन्ने जान्न चाहनेका लागि यो महत्वपूर्ण छ। जनताको मन जित्ने प्रयास हो जस्तो लाग्छ।"
विज्ञप्तिमा देशको एकता खण्डित गर्न लागिएको भन्ने वाक्यांशहरु निकै पटक दोहोर्याइएको छ।
पूर्व राजाले भनेका छन् - सिंगो, संगठित, अविभाजित सार्वभौम मुलुक पुर्खाहरुले दिएको र त्यसलाई समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व र कर्तब्य हो।
त्यसैगरी उनले अस्थीरता र अराजकताको आगोले क्रमश: जलाई रहेको भन्दै 'तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्न भगीरथ प्रयत्न भइरहेको छ' भनेका छन्।
उनले क्रान्तिकारी परिवर्तनकारी बलिदानी शब्दको भाव दुरुपयोग गरेर मुलुक कमजोर पारेको भन्दै राजनीतिक दलहरुको तीखो आलोचना पनि गरेका छन्।
प्रहार
उनले विदेशी शक्तिहरुको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको भनेर वैदेशिक चलखेलप्रति प्रहार गरेका छन्।
केही समय अघि मात्र छिमेकी मुलुकहरु भारत र चीनको भ्रमण गरेको भनिएका पूर्व राजाको अहिले आएको विज्ञप्तिले विशेष अर्थ राख्छ? भन्ने जिज्ञाशामा पत्रकार त्रिपाठीले त्यस्तो आफूलाई नलागेको बताए।
"म मरे पनि मेरो देश बाँचिरहोस" भन्ने आफ्ना पिता महेन्द्रको गीतलाई विज्ञप्तिमा उद्धृत गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन् , "राष्ट्रिय एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ, समय भड्केपछि पश्चातापको अर्थ छैन।"
बेलाबखत विज्ञप्ति जारी गरेर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान खोजिरहेका भनिने पूर्व राजाको पछिल्लो विज्ञप्तिलाई पनि त्यसैको निरन्तरताको रुपमा हेरिएको छ।








