चेन्नाईः पानीको चरम अभावका कारण रेल्वे स्टेशनदेखि रेष्टुराँसम्म बन्द

तस्बिर स्रोत, Getty Images
पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ।
अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ।
अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ।
"चेन्नाईलाई यो अवस्थाबाट अब वर्षाले मात्रै बचाउन सक्छ," एक अधिकारीले बीबीसी तमिललाई बताए।

तस्बिर स्रोत, Getty Images
सन् २०११ को जनगणना अनुसार भारतको छैटौँ ठूलो शहर चेन्नाईले पछिल्ला केही हप्तादेखि पानीको चरम अभाव भोगिरहेको छ।
पानी भण्डारण गरिएका मानव निर्मित जलाशय क्षेत्र सुक्न थालेपछि शहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ।
पानी जोगाउनका लागि रेल स्टेशनहरूलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन्।
प्रविधि क्षेत्रमा काम गर्नेहरूको संस्था आइटी वर्कर्स एसोसिएशनका महासचिव भिनोथ कालिगाइले केही संस्थाले कर्मचारीहरूलाई घरमै बस्न आग्रह गरेको पुष्टि गरे।
"तर घरमा पनि पानीको अभाव सुरु भएको छ। यस्तो अवस्थामा हामीले के गर्ने हो," उनले प्रश्न गरे।

तस्बिर स्रोत, Getty Images
पानी अभावका कारण स्थानीयवासीबीच झगडा समेत भएका छन्। प्रहरीले गत हप्ता एक जनालाई पानी बाँडफाँटको विषयमा झगडा परेपछि छिमेकीलाई छुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको छ।
अधिकारीहरू हाल पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयासमा छन्।
तर सुक्खा जलाशय क्षेत्र र जमिनमा पानीको घट्दो तह ठूलो चिन्ताको विषय बनेको छ।
"यो स्थितिलाई सहज बनाउने एउटै मात्र उपाय भनेको जमिनमुनि पानीको सतह बढाउने हो," एकसामाजिक अभियान्ता नाक्किरानले भने।
"हामीले यसअघि पनि सुक्खा वर्षहरू झेलेका थियौँ। तर त्यतिखेर हामीलाई जमिनमुनिको पानीले बचाएको थियो।"








