गोपाल श्रेष्ठ: लागुपदार्थको संसार, एचआईभी सङ्क्रमण र सगरमाथा आरोहण

- Author, नारायण कार्की
- Role, बीबीसी नेपाली सेवा
दश वर्षसम्म लागुपदार्थको दुर्व्यसन अनि प्राणघातक रोग एचआईभी/एड्सको सङ्क्रमण। कहालीलाग्दो परिस्थिति हुँदाहुँदै पोखराका गोपाल श्रेष्ठ आफ्नो र अरूको जीवनलाई सुन्दर बनाउने अभियानमा लागे।
विचार र जीवनशैली नै परिवर्तन गरेका उनी केही हप्ताअघि सगरमाथाको चुचुरोमा पुग्न भए।
विश्वको सर्वोच्च शिखरमा पुगेर घर फर्किएपछि ५६ वर्षीय श्रेष्ठले बीबीसीसँग भने, "सगरमाथा आरोहणको मेरो उद्देश्य विश्वभरि रहेका एचआईभी सङ्क्रमितहरू कोही पनि 'लुकेर नबसून्, खुलेर आऊन्, उपचार नि:शुल्क छ' भन्ने सन्देश प्रवाह गर्नु हो।"
उनी आफूलाई विगत २५ वर्षदेखि एचआईभी भएको बताउँछन्।
यही जेठ ८ गते श्रेष्ठ 'सगरमाथाभन्दा अग्लो हुन' सफल भएका हुन्। दश वर्षअघि नै सगरमाथा आरोहण गर्ने इच्छा जागृत भएको भए पनि यसपालि त्यो पूरा भएको उनी बताउँछन्।
तर उनको मनोकाङ्क्षा त्यति सजिलै पूरा भएको भने हैन।
चार वर्षअगि भूकम्पका कारण उनले पहिलो प्रयास त्याग्नु परेको थियो। सगरमाथा आधार शिविरमा हिउँपहिरोमा परेर उनको टोलीका चार जनाको मृत्यु भएको थियो।
कीर्तिमान बनाएको दाबी
आफू सगरमाथाको आरोहण गर्ने एचआईभी/एड्स सङ्क्रमण भएको पहिलो व्यक्ति भएको उनको दाबी छ।

तस्बिर स्रोत, Kenton Cool
यो कीर्तिमानलाई अब गिनिज बुकमा नाम लेखाउन पहल गर्ने उनले बीबीसीलाई बताए।
सगरमाथाको चुचुरोमा पुगेपछि कस्तो लाग्यो त भन्ने प्रश्नमा उनले पहिले आफ्नो परिवारलाई सम्झेको तथा अब सुरक्षित फर्कनु पर्छ भन्ने आत्मविश्वास जागेको प्रतिक्रिया दिए।
उनले आरोहणमा खुम्बु आइसफल र हिलरी स्टेपमा सबैभन्दा कठिन महसुस गरेको सुनाए।
सहज छैन सगरमाथा
यस पटक पनि सगरमाथा आरोहण गर्न मौसम त्यति अनुकूल थिएन।
मौसम छिनछिनमा परिवर्तन भइरहेकाले अन्योल भएको श्रेष्ठले बताए।

तस्बिर स्रोत, AFP/ PROJECT POSSIBLE
दाहिने घुँडा ठोकिएर लिगामेन्ट च्यातिएका कारण हिमाल चढ्न र फर्कन कठिन भएको तथा सगरमाथा पुग्न झन्डै १५ मिनेट बाँकी हुँदा डेढ घन्टाजति 'ट्राफिक जाम' मा परेको घटना उनले सुनाए।
सर्वोच्च शिखरमा पाइला राखेपछि हिउँ र प्रकाशका कारण आँखा राम्ररी नदेखिने समस्या पनि थपियो।
सगरमाथाबाट ओर्लेर पछि लुक्ला आइपुग्दासम्म दृष्टिमा धमिलोपन बाँकी भएको उनले सुनाए।
श्रीमतीलाई 'संसार जितेजस्तो' लाग्यो
गोपाल श्रेष्ठ सगरमाथाको चुचुरोमा पुगेकै बिहान उनकी श्रीमती मीनाकुमारी श्रेष्ठले त्यसबारे सूचना पाइन्।

तस्बिर स्रोत, Gopalshreshthafacebbok
आरोहणको बन्दोबस्त गरेको ड्रीमर डेस्टिनेशन ट्रेक एन्ड एक्स्पिडिशनका प्रबन्धकले आफूलाई त्यो समाचार सुनाएको उनी बताउँछिन्।
त्यो सुन्दा अत्यन्त खुसी लागेर आँखाबाट आँसु आएको स्मरण गर्दै उनी भन्छिन्, "संसार जितेजस्तो लाग्यो।"
पहिलो पटकको प्रयास भूकम्पका कारण अवरुद्ध भएपछि दोस्रो पटक नजान आफू र परिवारका सबै सदस्यले अनुरोध गरे पनि "चढेरै छाड्छु, गरेरै छाड्छु" भन्ने अडानमा आफ्ना श्रीमान् रहेको उनले बताइन् ।
श्रीमती श्रेष्ठ पनि सङ्क्रमित हुन्।
तर उनीहरूका एक मात्र छोरा भने एचआईभीमुक्त छन् ।
दुर्व्यसनदेखि योगसम्म
गोपाल श्रेष्ठ पहिला फुटबलका राष्ट्रिय खेलाडी थिए। तर उनी दुर्व्यसनमा फसे।
दुर्व्यसनको संसारबाट मुक्त गरेर आफूलाई यो अवस्थामा ल्याउने जस आफ्नी श्रीमतीलाई दिन्छन्।
तर अहिले उनको दिनचर्या पूरै फेरिएको छ।
उनी सर्वसाधारणलाई योग सिकाउँछन्। सङ्क्रमितहरूलाई सघाउने सङ्घसंस्थामा काम गर्छन्।
आगामी दिनमा ग्रामीण क्षेत्रमा एचआईभीबारे जनचेतना जगाउने व्यावहारिक शिक्षा दिने एवं सङ्क्रमित र प्रभावित बालबालिकालाई सहयोग गर्ने उनको योजना छ।
सगरमाथा आरोहणका लागि जनस्तरबाट सहयोग पाए पनि सरकारबाट कुनै किसिमको सहयोग र प्रोत्साहन नपाएको उनको गुनासो छ ।











