ट्रम्पका सल्लाहकार भन्छन्, 'चिनियाँ सामानमा कर लगाउँदा अमेरिकालाई पनि हानि'

अमेरिकी र चिनियाँ अधिकारीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, व्यापारिक तनाव कम गर्न अमेरिकी र चिनियाँ अधिकारीहरूले कैयौँ पटक वार्ता गरिसकेका छन्

राष्ट्रपति डोनल्ड ट्रम्पका एक प्रमुख आर्थिक सल्लाहकारले चीनबाट आउने सामानमा अमेरिकाले लगाउने कर अमेरिकी व्यवसायी र उपभोक्ताले तिर्ने कुरामा आफू सहमत भएको बताएका छन्।

तर राष्ट्रपति ट्रम्पले भने चिनियाँ सामानमा अमेरिकाले लगाउने कर अमेरिकी उपभोक्ताले नभई चीनले तिर्नुपर्नेमा पुन: जोड दिएका छन्।

ट्रम्पका आर्थिक सल्लाहकार ल्यारी कड्लो राष्ट्रिय आर्थिक परिषद्का प्रमुख पनि हुन्। उनले अमेरिकी व्यवसायीहरूले नै केही हदसम्म चिनियाँ सामानमा लगाइने करको भारत बेहोर्ने गरेकोप्रति आफ्नो सहमति जनाएका थिए।

फोक्स न्यूजसँगको कुराकानीको क्रममा उनले नयाँ करनीतिका कारण चीन र अमेरिका "दुवै पक्षले हानि बेहोर्नुपर्ने" बताए।

मार कसलाई पर्ला?

चिनियाँ कामदार

तस्बिर स्रोत, AFP

फोक्स न्यूजको प्रश्न थियो, "राष्ट्रपति भन्छन् चीनले कर तिर्छ, तर त्यो अमेरिकी व्यापारी र उपभोक्ताले तिर्छन्। सही हो?"

उत्तर दिँदै ल्यारी कड्लोले भने, "हो, केही हदसम्म त्यही हो। म त्यसप्रति असहमत छैन। त्यसको मार दुवै पक्षलाई पर्नेछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-चीन व्यापार युद्ध, पीडित बाँकी विश्व पनि

गत शुक्रवार मात्रै ट्रम्पले ट्विटरमा अमेरिका आउने २५० अर्ब अमेरिकी डलरको चिनियाँ सामानको कर "चीनले तिर्ने" उल्लेख गरेका थिए।

अमेरिकी ढुकुटीमा चिनियाँ करबापत डलर आइरहेको भन्दै उनले अमेरिकाले हतारिएर चीनसँग व्यापार गरिहाल्नु नपर्ने तर्क गरेका थिए।

गत वर्ष अमेरिकाले २०० अर्ब डलर बराबरका माछा, हाते झोला, कपडा र जुत्ता लगायतका चिनियाँ सामानमा १० प्रतिशत कर लगाइदिएको थियो।

आयातकर्ताले त्यसको भार आफैँ सहन वा उपभोक्तामा थोपर्न सक्छन्।

अमेरिका जाने चिनियाँ सामान

गत साता फेरि अमेरिकाले फेरि २०० अर्ब डलर बराबरका थप चिनियाँ सामानमा १० देखि २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरिदियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

ट्रम्पले ३२५ अर्ब डलर बराबरका सामानमा २५ प्रतिशत कर लगाउने प्रक्रिया सुरु भइसकेको बताएका छन्।

लगत्तै चीनले त्यो निर्णयप्रति खेद प्रकट गर्दै आफूले त्यसको बदलास्वरूप आवश्यक कदमहरू चाल्ने बताइसकेको छ।

दुई ठूला अर्थतन्त्रबीच जारी व्यापारिक तनावले विश्वको आर्थिक वृद्धिमै नकारात्मक असरहरू पर्न सक्ने भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यापार युद्धको खतरा
Presentational white space