भारत निर्वाचन: छैठौँ चरणको मतदान, अब एक चरण बाँकी

महिल मतदाता

तस्बिर स्रोत, Getty Images

छैठौँ चरणको मतदानमा साँझ ६ बजेसम्म करिब ६० प्रतिशत मतदाता सहभागी भएका छन्।

सबभन्दा धेरै पश्चिम बंगालमा ८० प्रतिशत मतदाता सहभागी भएका छन्। दिल्लीमा करिब ५५ प्रतिशत सहभागी भए।

छैठौँ चरणको चुनावमा उत्तर प्रदेशको १४, हरियाणाको १०, मध्य प्रदेशको ८, पश्चिम बंगालको ८, बिहारको ८, झारखण्डको ४ र दिल्लीको ७ सिटको लागि मतदान भएका छन्।

केन्द्रीय राजधानी समेत रहेकोले दिल्लीको चुनावको चासो निकै छ।

त्यहाँको कुल ७ लोकसभा सिटमध्ये प्रत्येकमा त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ।

दिल्लीमा आम आदमी पार्टी तथा कांग्रेस पार्टीबीचको गठबन्धनको प्रयास विफल भएपछि त्यहाँ ती दुई र भारतीय जनता पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो।

निर्वाचनमा कहाँ के हुँदैछ?

यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुनिनेछन्।

लखनउमा बेरोजगारहरूको एक लाइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेरोजगारी एक प्रमुख चुनावी मुद्दा बनेको छ

लोकसभामा ५४३ स्थान छन्। बहुमत ल्याउन २७२ सांसद हुनुपर्छ।

अहिलेसम्म छ चरणको मतदान भइसकेको छ।

यसपालिको निर्वाचनको पहिलो चरण अप्रिल ११ मा भएको थियो।

अन्तिम एवं सातौँ चरणको मतदान मे १९ मा हुनेछ। मतगणना मे २३ मा हुनेछ।

निर्वाचनमा को बलियो?

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा विजयी भएको थियो।

भाजपाले यसपालि पनि बहुमत ल्याउने उद्देश्य राखेको छ।

भारत निर्वाचन

तस्बिर स्रोत, Getty Images

तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौती खेप्नुपरेको छ।

राहुल गान्धीका बुवा राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुहजुरबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए। उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन्।

प्रचारप्रसार निकै उग्र देखिएकोले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्त्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन्।

आलोचना किन?

मोदी सत्तारूढ दलका लागि मत तान्ने प्रमुख व्यक्तिका रूपमा रहेका छन्।

तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन्।

मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन्।

भारत निर्वाचन

यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन्।

सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए।

सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कंग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको थियो।

कोही पनि मतदाताले मतदान केन्द्र पुग्नका लागि दुई किलोमिटरभन्दा पर पुग्नुपर्नेछैन।

भारतमा निर्वाचनको इतिहास

संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।

भारत निर्वाचन

पहिलो निर्वाचन सकिन तीन महिना लागेको थियो।

सन् १९६२ देखि १९८९ सम्म निर्वाचन सकिन चारदेखि १० दिन लागेको थियो। सन् १९८० मा चार दिनमा सकिएको निर्वाचन देशकै सबैभन्दा सानो समयावधिमा सकिएको थियो।

यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।

नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।