छोरालाई डाक्टर नबनाई विश्वस्तरको खेलाडी बनाउन लागेका बाबु

तस्बिर स्रोत, Bishal Bikram KC
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी नेपाली सेवा
एशिया यु-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका कप्तान विशाल विक्रम केसीलाई स्वागत गर्ने फुर्सद उनको बुवा झलक केसीलाई थिएन।
बुवालाई खुशी भन्दा बढी छोराको चिन्ता छ।
उनी छोराले खेलेका खेलहरूको भिडियो सङ्कलन गर्न व्यस्त थिए। उनले भने, "छोराको कमजोरी हेरेर सच्याउनु जरुरी छ।"
किनभने उनी छोरालाई जे गरेर भएपनि विश्वस्तरको खेलाडी बनाउन चाहन्छन्।
छोराको खेलले व्यस्त बुवा
मदिराको व्यापार गर्ने झलक केसी यसरी ब्यस्त हुन थालेको पनि पाँच वर्षभन्दा बढी भयो। जुनबेला उनलाई थाहा भयो की छोराले क्रिकेट बाहेक अरू लक्ष्य राखेको छैन।
त्यसैले उनी छोराको क्रिकेट सिप निखार्न ध्यान दिइरहेका छन्।
छोराले आफ्नो कप्तानीमा नेपाली क्रिकेटको एउटा उपाधि जित्दै गर्दा मध्यपश्चिमको बर्दिया निवासी झलक केसीले छोरालाई थप प्रशिक्षणको लागि भारतको नयाँ दिल्लीमा व्यवस्था मिलाउँदै थिए।
उनले बीबीसीलाई भने: "छोरालाई खेल्न ग्रेटर नोयडामा पाँच वर्षको लागि क्रिकेट अभ्यास स्थल भाडामा लिएको छु। प्रशिक्षक सत्यपाल यादवलाई मासिक तलबमा राखेको छु। बस्ने ठाँउ पनि लिएँ।।अब उ चौबिसै घण्टा प्रशिक्षकको निगरानीमा हुनेछ।"

विशालको गति
चाहना राख्नु र मेहेनत गर्नु फरक फरक कुरा हुन्। योजना बनाएर मात्र पनि पूरा गर्न सकिँदैन।
तर विशालमा भने राम्रो खेलाडी बन्न सक्ने प्रतिभा छ भन्ने कुरा उनले आफ्नो कौशलबाट प्रमाणित गरिसकेका छन्।
नयाँ दिल्लीमा पढ्न र क्रिकेट सिक्न थालेको तीन वर्षको अवधिमा उनले १६ वर्ष उमेर समूहका दुई एसियाली प्रतियोगितामा नेपालको जर्सी लगाइसकेका छन्।
सन् २०१७ मा उपकप्तान र सन् २०१९ मा कप्तानको रुपमा दुवै प्रतियोगिताको उपाधी जित्न उनले मुख्य भूमिका निर्वाह गरेका छन्।

तस्बिर स्रोत, ACC
'क्रिकेट ब्याट जलाएँ'
बर्दियामा स्कुलमा पढ्दा विशाल क्रिकेटका राम्रा खेलाडी थिए।
तर उनले क्रिकेटमात्र खेल्न थालेपछि परिवारमा चिन्ता बढेको थियो। विशेषगरी आमा देवी केसीलाई छोराले नपढ्ला भन्ने पीर थियो।
छोरा क्रिकेट खेलेर बिग्रेला भनेर दुई-तीनवटा ब्याटनै जलाइदिएको बुवा झलक सम्झन्छन्।
तर स्कुलको एउटा प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार जितेको समाचार सहितको छोराको नाम राष्ट्रिय दैनिक पत्रिकामा छापिएपछि झलक केसीलाई अनौठो अनुभव भयो।
उनी सम्झन्छन्, "मैले जीवनभर काम गरेँ। कहिँ कतै नाम छैन। तर सानै उमेरमा छोराको चर्चा भयो। अनि मलाई लाग्यो छोराको चाहनामा केही त छ।"

तस्बिर स्रोत, Bishal Bikram KC
प्राथमिकताको प्रश्न
अनि उनले छोरालाई सोधे: "क्रिकेट प्राथमिकता की पढाइ, निर्णय गर।"
विशाल सम्झन्छन्: "मैले क्रिकेटलाई नै करिअर बनाउने लक्ष्य बोकेको भनेँ। अनि बुवाले त्यसमा साथ दिने वचन दिनुभयो।"
घर नजिक क्रिकेट प्रशिक्षणको राम्रो व्यवस्था थिएन। प्रशिक्षक दिपेन्द्रप्रताप सिंहले भारतमा प्रशिक्षण दिन सुझाव दिएपछि झलक केसीले छोरा विशाललाई क्रिकेट सिकाउने विद्यालय खोजी गरे र नयाँ दिल्लीमा छोरालाई भर्ना गरिदिए।
विद्यालयबारे विशाल भन्छन्, "धेरै सिक्न पाइन्छ। थुप्रै म्याच पनि खेल्न पाइन्छ। प्रशिक्षकहरूले सिकाउँछन्। कहिलेकाँही दिल्ली क्यापिटल्सका विनोद शर्मा पनि आउनुहुन्छ। खेलमा धेरै सुधार भएको महसुस हुन्छ।"

तस्बिर स्रोत, Bishal Bikram KC
खेलयात्रा
विशालले सन् २०१७ मा थाइल्याण्डमा हुने एसीसी यु १६ को छनोटमा भाग लिए। नेपालगञ्जमा क्षेत्रीय छनोट र त्यहाँबाट काठमान्डूको मूलपानीमा भएको अन्तिम छनोट पार गर्दै उनले टोलीमा स्थान पक्का गरे।
उक्त प्रतियोगितामा उपकप्तानको जिम्मेवारी पाएको विशालको टोलीले उपाधी जित्यो।
बावुछोराका लागि त्यो महत्वपूर्ण उर्जा थियो।
त्यसपछि विशालले गत वर्षको यु-१९ एसिया कपको लागि पनि प्रतिस्पर्धा गरे। वैकल्पिक खेलाडीसम्म परेपनि टोलीमा भने उनले स्थान बनाउन सकेनन्। त्यसयता दिल्लीमै पढाई र प्रशिक्षणमा एकाग्र विशालले यसपाली कप्तानको जिम्मेवारी पाएका हुन्।
यसपालीको छनोट प्रतियोगिता शुरु हुँदा विशालको कक्षा दशको परीक्षाका चलिरहेको थियो। छनोट खेलमा सहभागिता जनाउन नसक्नुको कारण सहितको पत्र पहिल्यै लेखेर उनी अन्तिम चरणमा मात्र क्याम्पमा आएका थिए।
थाइल्याण्डमा भएको प्रतियोगितामा उनको टोलीले समुह चरणमा म्यानमार र मलेसियालाई, सेमीफाइनलमा हङकङलाई र फाइनललमा पुन: मलेसियालाई पराजित गरेको थियो।
दायाँहाते ब्याट्सम्यान विशालले प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी जित्ने क्रममा थाइल्याण्डमा ९६ रन र ४ विकेट लिएका थिए।

तस्बिर स्रोत, ACC
विशालको लक्ष्य
सचिन तेन्दुलकर मन पराउने विशाल यु १९ हुँदै राष्ट्रिय टोलीमा पुग्ने आफ्नो पहिलो लक्ष्य भएको बताउँछन्।
उमेरले १५ पुगेका विशाल भन्छन्, "मलाई पारस खड्काको खेल मनपर्छ। सन्दीप लामिछाने जस्तै आइपीएल खेल्ने मेरो सपना हो।"
अहिलेसम्मको सफलताबाट उनी सन्तुष्ट छैनन्।
यु-१६ प्रशिक्षक बसन्त शाही भन्छन्, "प्राविधिक रुपमा उनी राम्रा खेलाडी हुन्। उनको क्षमता अलि भिन्न छ। यसरी नै मेहनत गरे उनले प्रगति गर्न सक्ने प्रशस्त सम्भावना देख्छु।"
२२९ रन१० अन्तर्राष्ट्रिय खेलमा ब्याटिङ प्रदर्शन
६ विकेट१० खेलका १३ ओभर बलिङ गर्दाको प्रदर्शन
बावुको सपना र मेहेनत
छोराको यु-१६ को उपाधीले बुवा झलकलाई बढी हौस्याएको छ।
छोरालाई सहयोग गर्न उनले क्रिकेटका थुप्रै कुराहरू सिकिसकेको बताउँछन्।
"युट्युव हेर्छु। प्रशिक्षकहरुसँग छलफल गर्छु। उसको कमजोरी केलाउन मद्दत पुग्छ। घर आएको बेला त म उसलाई दैनिक दुई तीन घन्टा बलिङ गराउँछु।"
छोराको खेल बारे उनको विश्लेषण छ: "उसमा प्रतिभाको कमी देख्दिनँ। तर लामो इनिङ खेल्ने धैर्यता छैन।"
उनी भन्छन्: "विगतमा छोरालाई खेलमा लगाउन धेरै लगानी गर्यो भनेर मानिसहरू मलाई पागल भन्थे। छोरालाई डाक्टर पढाउन लाग्ने भन्दा बढी पैसा किन खर्च गरिस् भन्थे।"
"तर अहिले सबै खुशी छन्। परिवार त झनै खुशी हुने नै भए। छोरालाई विश्वकै नाम चलेको खेलाडी बनाउने मेरो धोको हो। त्यसका लागि जग्गा जमिन बेच्न पनि म तयार छु। आखिर उसको नाम चम्के मलाई पुगि हाल्यो नी।"
आफ्नो क्रिकेट खेल्ने चाहनामा बुबाको साथ देखेर दङ्ग परेका विशाल भन्छन्: " बुवाले साथ दिनु भएको छ। म भाग्यमानी छु। मेरो र बुबाको सपना एकदिन अवश्य पूरा गर्नेछु।"




























