अन्डर १६ क्रिकेट: मलेशियालाई हराउँदै नेपाल फेरि एशिया पूर्वी क्षेत्रको विजेता

तस्बिर स्रोत, Twitter/THAILANDCRICKET
नेपालको सोह्र वर्षमुनिको क्रिकेट टोलीले एशिया पूर्वी क्षेत्रको प्रतियोगिताको उपाधि पुन: जितेको छ।
शनिवार थाईल्यान्डमा भएको फाइनल खेलमा नेपालले ५९ रनले मलेशियालाई पराजित गरेर उपाधि सुरक्षित राखेको हो।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो।
तर नेपालले मलेशियालाई ८१ रनमा सीमित गरिदियो।
एक बल खेल्न बाँकी छँदै मलेशियाले सबै विकेट गुमाएको थियो।
उत्कृष्ट बलिङ
मलेशियालाई त्यति रनमा सीमित गर्न विशाल पटेल र दीपक बोहोराको उत्कृष्ट बलिङ गरेका थिए।
खेलमा पटेलले चार र बोहराले तीन विकेट लिए।
पटेलले मलेशियाका प्रारम्भिक ब्याटसम्यान किशन कुमारलाई शून्य रनमा बोल्ड गरिदिए। उनले त्यसपछि लगातार तीन विकेट लिए।
पटेलको धारिलो बलिङका कारण मलेशया सुरुदेखि नै दबावमा पर्यो।

तस्बिर स्रोत, ACC Media
पटेलले तेस्रो विकेट लिँदा मलेशियाले १० ओभरमा तीन विकेटको क्षतिमा २५ रन मात्रै बनाएको थियो।
त्यसपछि केही सम्हालिएको जस्तो देखिएको मलेशियाले ३४ रनमा चौथो विकेटको रूपमा पाँच रन बनाएर खेलिरहेका लोकमान नुर हकिम सहर गुमायो।
लोकमानलाई बोल्ड गरेका बोहराले त्यसपछि मैदानमा आएका वान मोहमद आशर्यफलाई शून्यमै रन आउट गरे।
उनले अरू दुई विकेट लिँदै मलेशियालाई ४२/७ को अवस्थामा पुर्याइदिए।
त्यसपछि मलेशियाको इनिङ्स मोहमद हाजिक एमनले सम्हाले। उनले सर्वाधिक दुई छक्कासहित १८ रन बनाए र जितेन्द्र मुर्लेसँग २८ रनको साझेदारी पनि गरे।
पटेलले एमनलाई २९ ओभरमा बोल्ड गर्दै मलेशियालाई ७०/८को स्थितिमा पुर्याएपछि मलेशिया खेलमा फर्किन सकेन।
नेपालको ब्याटिङ
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाएका थिए।
उनले ६७ बल खेल्दै पाँच चौका प्रहार गरेका थिए।
प्रारम्भिक ब्याटसम्यान दीपक बोहराले २३ रनको योगदान दिए।

यो पनि पढ्नुहोस्

मलेशियाका लागि सचिनु हेतिजेले सर्वाधिक तीन विकेट लिएका थिए।
शुक्रवार भएको सेमिफाइनल खेलमा हङ्कङलाई पराजित गरेको थियो।
नेपालको विजय यात्रा
यो प्रतियोगितामा आठ राष्ट्र सहभागी थिए।
समूह ए मा रहेको नेपाल अविजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
पहिलो खेलमा म्यान्मारलाई ५८ रनमा अलआउट गरेपछि नेपाल सात विकेटले विजयी भएको थियो। सो खेलमा कप्तान विशालविक्रम केसीले चार विकेट लिएका थिए।

तस्बिर स्रोत, Raman Shiwakoti/CAN
गत बुधवार भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ३९ रनले हराएको थियो। नेपालले १४१ बनाएकोमा मलेशियाले १०२ रन मात्रै बनाउन सकेको थियो।
बिहीवार थाईल्यान्डसँगको खेल वर्षाले प्रभावित भएको थियो।
आशिष भट्टराईको ५८ रनको मद्दतले ३५ ओभरमा सात विकेट गुमाएर २३४ रन बनाएको थियो।
प्रत्युत्तरमा थाईल्यान्डले कुनै रन नबनाई एक विकेट गुमाएको अवस्थामा खेल स्थगित भएको थियो।








