तलब नपाएका जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

तस्बिर स्रोत, Getty Images
आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको पालघर जिल्लामा आत्महत्या गरेका हुन्।
उनी तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। विगत चार महिनादेखि उनको स्वास्थ्य बिग्रिएको थियो।
प्रहरीले जनाएअनुसार अस्पतालमा भर्ना भएका उनले यस वर्षको मार्च महिनादेखि तलब पाएका थिएनन्।
शुक्रवार उनलाई घर ल्याइएको थियो। त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ।
सेवामा फर्किनेमा आशावादी
उक्त विमानसेवा कम्पनी आर्थिक सङ्कटमा परेपछि उसका कर्मचारीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।
मृतकका छोरा पनि जेट एयरवेजमा काम गर्छन्। छोराले पनि तलब पाएका छैनन्।
जेट एयरवेजका कैयौँ कर्मचारीले आर्थिक सङ्कटका कारण तनावमा रहेको बताएका छन्। उक्त कम्पनीका सबै उडान अहिले बन्द छन्।
जेट एयरवेजले त्यसो गर्नुबाहेक अन्य विकल्प बाँकी नभएको तर आफू चाँडै सेवामा फर्कने कुरामा आशावादी रहेको बताएको छ।
झन्डै १.२ अर्ब अमेरिकी डलर ऋणको भार बोकेको सो कम्पनी ऋणदाताहरूसँग छलफलमा थियो।
जेटका समस्या
एक सय २३ वटा विमान रहेको जेट एयरवेज भारतमा निजी क्षेत्रले सञ्चालन गरेको सबैभन्दा ठूलो विमान कम्पनी हो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

हालै एउटा विज्ञप्ति जारी गर्दै जेटले "ऋण दाता र आधिकारिक निकायहरूसँग लामो समयसम्म चलेको निरन्तर प्रयासबाट परिणाम नआएपछि" सम्पूर्ण उडान बन्द गर्न बाध्य भएको बताएको छ।
पच्चीस वर्षअघि नरेश गोयलले स्थापना गरेको उक्त कम्पनीले २३ हजार जनालाई रोजगारी दिएको छ।
गोयलले कम्पनीको अध्यक्ष पदबाट गत महिना राजीनामा दिएका थिए।
समस्याको भुमरीमा फसेको जेट एयरवेजका कैयौँ विमानचालक, इन्जिनियर र अन्य कर्मचारीले महिनौँदेखि पारिश्रमिक पाएका छैनन्।








