जेट एयरवेज: सम्पूर्ण उडान स्थगित, नेपालबाट दिल्ली जाने अरू विमानमा चाप

तस्बिर स्रोत, Reuters
समस्याग्रस्त भारतीय हवाईजहाज कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू अनिश्चित कालका लागि स्थगित गरेको छ।
उक्त कम्पनीले नेपाल तर्फको उडान गत सोमवारदेखि बन्द गरेको जेट एयरवेजका अधिकारीहरूले बीबीसी नेपाली सेवालाई जानकारी दिए।
सबै उडान स्थगित गर्नुअघि जेट एयरवेजले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो।
तीमध्ये भारतको राजधानी नयाँ दिल्लीमा दैनिक चारवटा र मुम्बईमा एउटा उडान हुन्थे।
जेट एयरवेजले नेपाललाई एउटा राम्रो अन्तर्राष्ट्रिय गन्तव्य मान्ने गरेको थियो।
टिकट पाउनै गाह्रो
जेट एयरवेजका उडान स्थगित भएपछि काठमाण्डूबाट एअर इन्डिया, इन्डिगो र नेपाल वायुसेवा निगमका विमानले मात्रै भारततर्फ उडान गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले बीबीसी नेपाली सेवालाई जानकारी दिए।
जेट एयरवेजका उडान स्थगित भएपछि अन्य विमानसेवामा यात्रुको चाप बढेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

अरू विमानको अधिकांश टिकट बिक्री भइसकेको हुनाले जेट एयरवेजको टिकट किनिसकेका यात्रु र अन्य नयाँ यात्रुलाई दिल्ली र मुम्बईको टिकट पाउन गाह्रो भएको छ।
पौडेलका अनुसार एअर इन्डियाले काठमाण्डूबाट नयाँ दिल्लीतर्फ दिनको दुईवटा उडान र काठमाण्डूबाट कोलकाता हप्तामा तीनदेखि चारवटा उडान सञ्चालन गर्ने गरेको छ।
त्यस्तै इन्डिगोले नयाँ दिल्लीतर्फ दैनिक एउटा उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले दैनिक दुईवटा उडान गर्दै आएको छ।
नेपाल वायुसेवा निगमले एक दिन मुम्बई र एक दिन बैङ्ग्लोर गरेर प्रत्येक दिन एउटा उडान गर्दै आएको छ।
सीधा र नियमित उडान नभए पनि भुटानको रोयल भुटान एअरलाइन्स र ड्रुक एयरको विमानहरूले पनि काठमाण्डूबाट विभिन्न भारतीय सहरलाई जोड्ने गरेका छन्।

तस्बिर स्रोत, Getty Images
जेट एयरवेजको अवस्था के छ?
आर्थिक सहायताको खोजीमा रहेको उक्त कम्पनीले बुधवार राति अन्तिम पटक उडान गरेको थियो।
हवाई इन्धन तथा अन्य संवेदनशील सेवाको खर्च उठाउन नसके पछि कम्पनीले त्यस्तो निर्णय गरेको हो।
जेट एयरवेजले त्यसको गर्नुबाहेक अन्य विकल्प बाँकी नभएको तर आफू चाँडै सेवामा फर्कने कुरामा आशावादी रहेको बताएको छ।
झन्डै १.२ अर्ब अमेरिकी डलर ऋणको भार बोकेको सो कम्पनी ऋणदाताहरूसँग छलफलमा थियो।
एक सय २३ वटा विमान रहेको जेट एयरवेज भारतमा निजी क्षेत्रले सञ्चालन गरेको सबैभन्दा ठूलो विमान कम्पनी हो।
एउटा विज्ञप्ति जारी गर्दै जेटले "ऋण दाता र आधिकारिक निकायहरूसँग लामो समयसम्म चलेको निरन्तर प्रयासबाट परिणाम नआएपछि " सम्पूर्ण उडान बन्द गर्न बाध्य भएको बताएको छ।
पच्चीस वर्षअघि नरेश गोयलले स्थापना गरेको उक्त कम्पनीले २३ हजार जनालाई रोजगारी दिएको छ।
गोयलले कम्पनीको अध्यक्ष पदबाट गत महिना राजीनामा दिएका थिए।
समस्याको भुमरीमा फसेको जेट एयरवेजले विमानचालक, इन्जिनियर र अन्य कर्मचारीले महिनौँदेखि पारिश्रमिक पाएका छैनन्।
"अन्तरिम लगानीका लागि गरिएको अनुरोधबारे विचार गर्न नसक्ने उत्तर सम्भावित लगानीकर्ताहरूको समूहको तर्फबाट स्टेट बैङ्क अफ इन्डियाले हामीलाई हिजो राति दिएको छ," कम्पनीले भनेको छ।

जेटको अन्तिम उडान
रवीन्द्र सिंह, बीबीसी पन्जाबी
जेट एयरवेजले बुधवार राति अमृतसरबाट अन्तिम उडान गर्यो। चालकदल र कम्पनीका अन्य कर्मचारीका लागि उक्त उडान भावनात्मक यात्रा थियो।
"सूर्य फेरि उदाउने छ," १७ वर्ष देखि जेट एअरसँग आबद्ध विमानचालकले उडानअघि मलाई भने।
त्यो पक्कै पनि उडान पनि स्थगित हुन्छ भन्ठान्दै कतिपय यात्रु अनुपस्थित थिए। तर विमानमा भएका यात्रुहरूले भने चालकदलका सदस्यहरूको भविष्यबारे चिन्ता व्यक्त गरेका थिए।
कतिपय यात्रुले भने इतिहास बनाउनकै लागि उक्त उडानको टिकट किनेका थिए।
विमान अवतरण गर्नु अघि विमानचालकले आशावादी कुरा सुनाएका थिए। हालका लागि यो नै अन्तिम उडान भए पनि विमान चाँडै सञ्चालन हुने उनले विश्वास व्यक्त गरे।

ब्याङ्कहरूले जेट एयरवेजका लिलाम बढाबढ गर्न माग गरेका छन्। त्यस्तो प्रक्रियामा आफ्नो सहयोग उनीहरूको भनाइ छ।

जेट एयरवेजमा इतिहाद एअरको २४ प्रतिशत हिस्सा छ र उसले आफ्नो त्यो बढाउन खोजेको बताइएको छ।
जेट एयरवेजले भारतमा ६०० वटा आन्तरिक र ३८० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको थियो।
तर कम खर्चमा टिकट बेच्ने इन्डिगो र स्पाइस जेट सञ्चालनमा आएपछि उक्त कम्पनीले बजार हिस्सा गुमाउन थालेको थियो।

यो पनि पढ्नुहोस्












