पाकिस्तानको सीसीटीभी प्रणालीबाट ह्वावेईले बनाएको वाईफाई कार्ड हटाइयो

पाकिस्तान
    • Author, लियो केलियन र साजिद इक्बाल
    • Role, बीबीसी न्यूज

चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेईले पाकिस्तानस्थित एउटा निगरानी प्रणालीको सीसीटीभी क्याबिनेटबाट वाइफाई ट्रान्समिशन कार्डहरू हटाएको छ।

सो प्रणाली परियोजनाका कर्मचारीहरूले त्यस्ता कार्डहरू सीसीटीभीमा जडान गरिएको पत्ता लगाएपछि ह्वावेईले त्यसो गरेको हो।

सम्भावित दुरुपयोगको सम्भावनाका कारण सन् २०१७ मा ती मोड्युल हटाउन उक्त कम्पनीलाई भनिएको पन्जाबको नगर प्राधिकरण बीबीसीलाई बताएको छ।

प्राधिकरणका अनुसार उक्त चिनियाँ कम्पनीले बोलपत्रका बेला पेस गरेका कागजपत्रमा ती कार्डबारे उल्लेख गरेको थियो।

तर उक्त परियोजनामा संलग्न एउटा स्रोतले त्यसमा अस्पष्टता रहेको जनाएको छ।

के भन्छ ह्वावेई?

ह्वावेईका एक प्रवक्ताले चाहिँ एउटा भ्रम उत्पन्न पैदा भएको बताएका छन्।

उनले ती कार्डहरू उपकरणमा समस्या आउँदा सूचना आदानप्रदान गर्न जडान गरिएको बताए। तर उनले त्यसबारे थप प्रतिक्रिया दिन चाहेनन्।

उक्त कम्पनीले त्यो प्रणालीमा कुनै समस्या आए इन्जिनियरहरूलाई सीसीटीभी क्याबिनेट नखोली नजिकै बसेर समस्या समाधान गर्न सहज पार्न सक्ने स्पष्टीकरण दिएको पीएससीएले पुष्टि गरेको छ।

पाकिस्तान

लाहोरको परियोजनामा संलग्न दुई व्यक्तिले उक्त विषयबारे बीबीसीलाई जानकारी दिएका थिए। तर उनीहरूले आफ्नो परिचय भने खुलाउन चाहेनन्।

तीमध्ये एक जनाका अनुसार ह्वावेईले कहिल्यै पनि वाईफाई लिङ्क प्रयोग गर्न एप उपलब्ध गराएन र ती सीसीटीभी क्याबिनेटलाई निगरानी प्रणालीको मुख्य सञ्जालबाटै व्यवस्थापन गर्न सकिने पहिल्यै व्यवस्था थियो।

के भन्छन् सुरक्षाविज्ञ?

ब्रिटेनमा रहेका एक साइबर सुरक्षाविज्ञले उपकरण बिक्रेताहरूले भविष्यमा अतिरिक्त सेवाहरू प्रदान गर्न थप उपकरण जडान गर्नु नौलो नभएको बताए।

तर यो घटनाबाट लाभ नै भएको उनको धारणा छ। उनी भन्छन्, "किन भने यदि प्राधिकारणले कारणबारे थाहा नपाएको भए पछि तिनबाट हुने सम्भावित जोखिमको व्यवस्थापन गर्न उसले केही गर्न नसक्ने हुनसक्थ्यो।"

"तपाईं कसैलाई 'रिमोट कनेक्टिभिटी'को अर्को उपाय दिनुहुन्छ भने त्यसलाई चलाउने उपाय पनि दिनुहुन्छ," एलेन उडवार्डले टिप्पणी गरे, "यदि तपाईं वाईफाई कार्ड राख्नुहुन्छ भने सम्भवत: अन्य व्यक्तिले टाढैबाट प्रयोग गर्न सकिनेगरी दिन सक्नुहुन्छ। तपाईं एउटा उद्देश्यका लागि यो गरिएको भन्नुहोला तर जब तपाईं त्यस्तो गर्नुहुन्छ त्यसको दुरुपयोग हुने सम्भावना रहन्छ।"

ती कार्डले कुनै जोखिम उत्पन्न गरेको कुनै पनि प्रमाण छैन। त्यसमा संलग्न एक स्रोतले ती उपकरण हटाउनुपूर्व दुरुपयोग भए नभएको जाँच गर्ने कुनै अवसर नभएको पुष्टि गरेको छ।

पाकिस्तान
तस्बिरको क्याप्शन, यस्तै उपकरणमा वाईफाई कार्डहरू प्रयोग गरिएको बताइएको छ

किन जडान गरिएको थियो?

एउटा शृङ्खलाबद्ध आतङ्ककारी बम आक्रमणपछि लाहोरमा सुरक्षित सहर योजना पहिलो पटक सन् २०१६ मा घोषणा गरिएको थियो।

यसले क्यामेराहरूको सञ्जाल, अन्य सेन्सरहरू र सहरको आकस्मिक सेवाका लागि अत्याधुनिक सञ्चारप्रणालीसहित निगरानी प्रदान गर्छ।

उक्त प्रणालीको एउटा भागका रूपमा ह्वावेईले एक हजार आठ सय सीसीटीभी क्याबिनेटहरू स्थापना गरेको थियो। त्यसमा अन्य उपकरणसँगै वाईफाई मोड्युलहरू पनि राखिएका थिए।

पीएससीएका प्रमुख सञ्चालन अधिकृतले बीबीसीसँग उनीहरूको आग्रहलाई ह्वावेईले शीघ्र तथा पूर्ण पालन गरेको बताए।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

"स्थानीय अवस्था र आवश्यकता अनुसार प्राविधिक विवरणहरू तथा मोड्युलहरू तय गर्ने अन्तिम निर्णय सेवा लिनेकै हुने गरेको छ," अकबर नासिर खानले भने, "हाम्रा परमर्शदाताहरूले त्यस्ता प्रणालीमा कुनै सुरक्षा खतरा छ कि छैन भनेर बारम्बार जाँच गर्ने गर्छन् र त्यस क्रममा ब्रिटेनका प्रतिष्ठित कम्पनी सहितको पीएससीएले सेवा अस्वीकार गरेको छ।"

यो वर्षको आरम्भमा एक जोडी एउटा सवारी साधनमा सँगै यात्रा गरिरहेको तस्बिरहरू चुहाइएको र सामाजिक सञ्जालमा वितरण गरिएपछि स्थानीयले सुरक्षित सहर योजनाबारे चिन्ता व्यक्त गरेका थिए।

तर त्यसमा ह्वावाईको कुनै संलग्नता रहेको र ह्वावेई हटाउनुमा यस्तो कारण रहेको भन्ने आधारहरू भेटिएका छैनन्।

सीएससीएले पनि उक्त कार्यालयका कोही त्यसमा संलग्न नभएको जनाएको छ।