मिस नेपाल प्रतियोगिता: बाझियो पूर्वसुन्दरीहरूको मत

मिस नेपाल प्रतियोगिता

तस्बिर स्रोत, The Hidden Treasure

मिस नेपालमा सहभागी हुन आएकी एक किशोरीप्रति निर्णायक मण्डलकी एक सदस्यले गरेको व्यवहारबारे सामाजिक सञ्जालमा तीव्र रोष प्रकट भइरहेका बेला भूतपूर्व मिस नेपाल र अन्य सहभागीहरूले भने यस विषयमा फरकफरक धारणा व्यक्त गरेका छन्।

केही पूर्वसुन्दरीहरूले सौन्दर्य प्रतिगोगितामा भाग लिनेहरूलाई आधारभूत कुरा र पछि सोधिने कडा प्रश्नको सामना गर्न सिकाउन त्यस्तो व्यवहार आवश्यक रहेको तर्क गरेका छन्।

यसपालि छनोट चरण देखि नै विवादमा परेपछि केहीले भने यस्ता प्रतियोगिताको आलोचना गरेका छन्।

यस्ता प्रतियोगितामा सहभागीहरूको व्यक्तित्व र बौद्धिक विकासभन्दा शारीरिक सौन्दर्य मात्रै हेरिने भएका औचित्य नभएको उनीहरूको तर्क छ।

अनुशासन

ट्विटर, फेसबुक र इन्स्टाग्राममा भाइरल भएको भिडिओमा निर्णायक मण्डलकी एक सदस्यले रुखो शैलीमा ती किशोरीलाई किन शृङ्गार नगरेको र चस्मा लगाएर उपस्थित भएको भनी प्रश्न गरेको देखिन्छ।

त्यो प्रश्न ठिक भएको तर्क प्रथम मिस नेपाल रुबी राणा बताउँछिन्।

आफ्नै पालादेखि सहभागीहरूलाई पछि हुने अन्तराष्ट्रिय प्रतियोगितामा आत्मविश्वाससहित प्रस्तुत हुन सकून् भनेर व्यक्तित्व विकास गर्नका लागि कडा अनुशासनमा राखिने गरेको राणाले बताइन्।

पहिला अनुभव नभएका किशोरीहरूको व्यक्तित्व विकास गराउन त्यसरी व्यवहार गर्नु अनुचित नभएको उनको तर्क छ।

२०१८ मिस नेपाल

तस्बिर स्रोत, The Hidden Treasure

अनुभव

"भोलि गएर अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न सक्ने व्यक्तित्व विकास गर्न र त्यहाँ हुने कडा प्रतिस्पर्धाका लागि तयार पार्न कहिलेकाहीँ कडा हुनैपर्छ। त्यो भिडिओमा जे देखियो त्यो मेरो विचारमा कसैको बिगार गर्ने वा होच्याउने दृष्टिले बोलिएको होइन," राणाले भनिन्।

"यस्ता प्रतियोगितामा आत्मविश्वासका साथ कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुरा उहाँको बोलीबाट प्रष्ट पार्नु भएको हो," राणाले भनिन्।

"सुन्दरी प्रतियोगिताका केही आफ्नै मापदण्ड छन् त्यसलाई पालना गरियो भने सहजै व्यक्तित्व विकास हुन्छ। अहिलेदेखि नै ती कुरामा ध्यान दिइएन भने मिस वर्ल्ड र मिस युनिभर्सजस्ता प्रतियोगितामा समस्या पर्न सक्छ।"

नेपालमा मात्र नभई अन्तराष्ट्रिय प्रतियोगिताहरूमै पनि शृङ्गार, पहिरन र सहभागीको हाउभाउलाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ।

मिस वर्ल्डमा सहभागी हुँदा पहिरन नमिलेको आफ्नो तीतो अनुभव सम्झँदै उनले भनिन्, "मेरा डिजाइनरहरूले मेरा लागि साँझको समयमा लगाउने पहिरन सिलाउनुभएको थियो। तर त्यहाँका निर्णायक मण्डलले त्यसलाई सीधै अस्वीकार गरिदिनुभयो।

Samriddhi Rai
Samriddhi Rai
तन, मन र बौद्धिकतामा महत्त्व दिइन्छ भनेर प्रचार गरिने भए पनि त्यहाँ सहभागीको व्यक्तित्व वा बौद्धिकताजस्ता कुराको खासै महत्त्व दिइँदैन।
समृद्धि राई
मिस टीन २००८

खोक्रो

उनी भन्छिन्, "मलाई लाग्छ म त्यही चरणमै सबैभन्दा नराम्रोसँग चिप्लिएकी थिएँ।"

तर सन् २००८ मा मिस टीनको उपाधि जितेकी समृद्धि राईको सौन्दर्य प्रतियोगिताप्रतिको धारणा अलि फरक पाइन्छ।

पछि मिस नेपालको उत्कृष्ट पाँचसम्म पुगेकी र सन् २०११ मा चीनमा भएको मिस टुरिजम वर्ल्ड प्रतियोगितामा मिस पर्सन्यालिटीको उपाधि हात पारेकी राई यस्ता सौन्दर्य प्रतियोगितामा बाहिरी तामझाम मात्र हुने तर भित्र खोक्रो हुने गरेको बताउँछिन्।

"सौन्दर्य प्रतियोगिताहरुमा शृङ्गार लगाउने र बाहिरी सौन्दर्यतालाई विशेष ध्यान दिइन्छ। तन, मन र बौद्धिकतामा महत्त्व दिइन्छ भनेर प्रचार गरिने भए पनि त्यहाँ सहभागीको व्यक्तित्व वा बौद्धिकताजस्ता कुराको खासै महत्त्व दिइँदैन।"

मिस नेपाल प्रतियोगिता

तस्बिर स्रोत, The Hidden Treasure

दाबी

परबाट हेर्दा सबैभन्दा सुन्दर, अग्ली र हँसिली देखिने प्रतिस्पर्धीलाई नै प्राय: छनोट गरिने राईको दाबी छ।

सौन्दर्य प्रतियोगिताको औचित्य देख्ने र नदेख्नेबीच सामाजिक सञ्जालमा विवाद भइरहेको समयमा पूर्वमिस नेपालहरूबाटै यसको पक्ष र विपक्षमा यसरी आएका प्रतिक्रियाले यस्तो प्रतियोगिताबारे हुने बहस फेरि सुरु भएको छ।

सन् २००५ मा भएको मिस नेपाल बनेकी सुगारिका केसी भने सहभागीको व्यक्तित्वलाई निखार्न यस्तो व्यवहार आवश्यक रहेको बताउँछिन्।

"छनोट प्रक्रियादेखि नै उनीहरू कस्तो प्रतियोगितामा आएका हुन् र अब उनीहरूबाट के अपेक्षा गरिन्छ वा उनीहरूले के गर्नुहुँदैन भनेर सिकाइने गरिन्छ। त्यो भिडियोमा पनि त्यही गरिएको देखिन्छ।"

टिप्पणी

तर सामाजिक सञ्जालमा भाइरल भएको चाहिँ अडिशनको एउटा अंश मात्रै भएको र पूरै भिडिओ नहेरी प्रतिक्रिया दिनु उपयुक्त नभएको केसीको धारणा छ।

तर भिडिओको त्यो अंश सार्वजनिक भएपछि धेरै जनाले शृङ्गार नगरेको तस्बिर समाजिक सञ्जालमा राख्दै "शृङ्गारबिना पनि सुन्दर" भन्दै लेखेका छन्।

केही महिनाअघि चीनमा सम्पन्न भएको मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडाले पनि त्यस्तै आशयको ट्वीट गरेकी छन्।

Sugarika KC
यस्ता विषय सिकाउनु एकदम जरुरी छ किनभने भोलि मिस नेपाल भएर पछि तपाईँले लगाएको लुगादेखि सबै कुरामा टिप्पणी हुन थाल्छ।
सुगारिका केसी
मिस नेपाल २००५

तर केसी भने प्रतियोगीले पहिरन र शृङ्गारमा विशेष ध्यान दिनुपर्ने तर्क गर्छिन्।

"प्रशिक्षण अवधिमा यस्ता विषय सिकाउनु एकदम जरुरी छ किनभने भोलि मिस नेपाल भएर पछि तपाईँले लगाएको लुगादेखि सबै कुरामा टिप्पणी हुन थाल्छ।"

विवाद

"आज निर्णायक मण्डलले गरेको यस्तो प्रश्नप्रति टिप्पणी गर्नेले नै भोलि मिस नेपालको लुगा, हाँसो आदि विषयमा प्रश्न गर्न थाल्छन्। त्यसैले पेसा अनुसारको तयारी गर्नु वा गराउनु बेठिक होइन।"

राईले त सामाजिक सञ्जालमा यस्ता सौन्दर्य प्रतियोगिता र त्यसका विजयीहरूलाई प्रेरणादायी व्यक्तिको रूपमा लिन नहुने भन्दै लेखेकी छन्।

यस्ता सौन्दर्य प्रतियोगितामा महिलाहरूको शोषण हुने भन्दै अधिकारकर्मीहरुले पहिला पनि विरोध गर्ने गरेका थिए।

तर विरोध हुन छाडेको केही समय नबित्दै मिस नेपाल प्रतियोगिताबारे यो विवाद देखिएको हो।