ह्वावेई: पश्चिमा विश्व किन यो विशाल चिनियाँ कम्पनीसँग डराउँछ?

तस्बिर स्रोत, Getty Images
- Author, चेन यन र वाङ्ग हुई
- Role, बीबीसी चाइनिज
दूरसञ्चार अग्रणी ह्वावेई चीनको सबैभन्दा सफल एउटा विश्व स्तरको कम्पनी भइरहँदा पनि किन यसले पश्चिमा देशहरूमा आलोचना सिर्जना गरिरहेको छ?
अमेरिकाले चिनियाँ सरकारसँग उसको रहेको सुमधुर सम्बन्ध र अर्को पुस्ताको मोबाइल प्रविधि मानिएको फाइभ जीमा विश्वभर आधिपत्य जमाउने उसको योजनालाई जोडेर सो कम्पनीलाई शङ्काको घेरामा ल्याएको छ।
उसले ठान्छ- यसले बेइजिङ्लाई पश्चिमा नागरिक, संस्था र सरकारहरूका सूचना संकलन गर्न सघाउनेछ।
वासिङ्टनले ह्वावेईलाई 'राष्ट्रिय सुरक्षा खतरा' मान्दै आफ्ना संघीय सरकारी अङ्गका बोलपत्रमा सहभागी हुन प्रतिबन्ध लगाएको छ।
उसले आफ्ना साझेदारहरूलाई समेत उसको फाइभ जी मोबाइल नेटवर्क प्रयोग नगर्न दबाब दिँदै आएको छ।
वासिङ्टनले त्यसमा अटेरी गर्दै 'अविश्वसनिय विक्रेता'को प्रयोग गर्ने देशहरूमाथि आफ्ना सूचना साझेदारीमा समेत कडाई गर्ने भन्दै तर्साएको छ।
तर के ह्वावेईमाथि लागेका आरोपहरू पुष्टि भएका छन्? उक्त कम्पनीले आफू चिनियाँ सरकारलाई सूचना बाँड्नुपर्ने दबाबमाा रहेको भन्ने आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र अमेरिकी प्रतिबन्धलाई चुनौति दिनेगरी ऊविरुद्ध मुद्दा दायर गरेको छ।
संस्थापक रेन जेङ्फीले सीएनएनसँग कुरा गर्दै आफूहरूविरुद्धको अमेरिकी अभियान 'आधारहीन' रहेको बताएका छन्।
"विश्वभर सबैले साइबर सुरक्षाबारे कुरा गरिरहेका छन् र उनीहरूले ह्वावेईलाई अलग गर्न खोजिरहेका छन्। त्यसो भए इरिक्सनको के छ? सिस्कोको के छ? के उनीहरूसँग साइबर सुरक्षा मुद्दा छैनन्?"- उनले भने।
यो विवादले अमेरिका र चीनबिचको व्यापारका मुद्दामा तनाव बढाएको छ।
यो विवाद के हो भनेर हामीले यहाँ पाँच विभिन्न विषयलाई हेर्दैछौँ।
सूचनामा अवरोध

तस्बिर स्रोत, Reuters
ह्वावेई चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो र विश्वमै दोस्रो ठूलो स्मार्टफोन उत्पादनकर्ता। गतवर्ष मात्र यसले विश्वभर २० करोड मोबाइल फोनहरू बेचेको थियो।
चिनियाँ सैनासँग रहेको यस कम्पनीको नजिकको सम्बन्धले अमेरिकालाई सबैभन्दा बढी असहज बनाएको छ।
रेन जेङ्फी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य मात्र नभई चिनियाँ सेनाका इन्जिनियर समेत हुन्। चीनमा यो कुनै असामान्य पृष्ठभूमि त होइन तर अमेरिका र पश्चिमा विश्वमा यसैले संशयहरू सिर्जना गरिरहेको छ।
अमेरिकाको दाबी छ- यदि चीनले उक्त कम्पनीले संकलन गर्ने सूचना माग गर्यो भने ह्वावेई त्यो दिन बाध्य हुनुपर्छ।
गोपनियता नियन्त्रणको मामिलामा अमेरिकी प्रतिस्पर्धी कम्पनीजस्तो चिनियाँ कम्पनीहरू नहुने वासिङ्टनको भनाइ छ।
सन् २०१२ अघि अमेरिकी संसदको एक जाँचबुझ समितिले जारी गरेको एक प्रतिवेदन अनुसार ह्वावेई र जेडटिईजस्ता कम्पनीलाई आफ्नो देशमा प्रवेश दिइए त्यसले सूचना चुहिन सक्ने बताएको थियो।
त्यसले अमेरिकाको उर्जा संयन्त्रजस्ता पूर्वाधारमा साइबर हमला हुनसक्ने जोखिम औँल्याएको थियो।
र गतवर्ष अमेरिकी संसदमा दिइएका बयानमा सीआईए र एफबिआई सहितका अमेरिकाका ६ मुख्य जासुसी निकायका प्रमुखहरूले ह्वावेईका उपकरण र सेवा प्रयोगमा सजग गराएका थिए।
'पछाडिको बाटो'

तस्बिर स्रोत, Boeing/ Handout
विज्ञहरु भन्छन्- प्रविधि कम्पनीहरूले आफ्ना हार्डवेयरमा पूर्ण नियन्त्रण गर्न 'पछाडिको बाटो' अपनाउन सक्छन्। त्यो भनेको सुरक्षा नियमहरू उलंघन गर्दै आपतकालिन अवस्थामा पहुँच दिनु हो।
रेन जेङ्फीले भनेअनुसार चिनियाँ अधिकारीहरूले कहिल्यै 'अनधिकृत सूचना' मागेका छैनन्।
'ह्वावेई निजी कम्पनी हो र यसको चिनियाँ सरकारसँगको सम्बन्ध भनको कर तिर्नुसँग मात्र जोडिएको छ।'
सीएनएनको रिपोर्टले सुझाए अनुसार ह्वावेईले 'हतियारको रुपमा' मोबाइल फोन टावरहरू अमेरिकाको मध्यपश्चिमको राज्य मोन्टानामा राख्न सक्छ र नजिकैका हवाई अड्डाका अन्तरमहादेशिय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा संयन्त्रमा हस्तक्षेप गर्नसक्छ।
"हामीलाई थाहा छ चिनियाँहरू अमेरिकाविरूद्धको ठूलो जासुसी अभियानमा छन्," सीएनएनले वासिङ्टनमा रहेको सेन्टर फर स्ट्रयाटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विज्ञ जेम्स लेविसलाई उदृत गर्दै लेखेको छ।
चिनियाँ विज्ञहरू त्यस्तो सोचलाई 'हास्यास्पद' र 'पूर्ण रूपबाट असंगत' भन्ने गर्छन्।
पाँच आँखे गठबन्धन

तस्बिर स्रोत, Getty Images
यो शब्दावली विज्ञानको दन्त्यकथा जस्तो लाग्छ तर यो दशकौँदेखि चर्चित् छ।
'फाइभ आइज्' गठबन्धन अंग्रेजी बोलिने पाँचवटा देशहरूको जासुसी निकायहरूको संगठन हो जसमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, क्यानाडा र न्यूजिल्याण्ड छन्।
यो गठबन्धन दोस्रो विश्वयुद्धको अन्त्यसँगै सुरु भएको हो। शीतयुद्धका बेला यसको प्राथमिकता सोभियत संघ र उसको प्रभावमा रहेका देशहरूको सञ्चारलाई नियमन गर्नु हुन्थ्यो।
सोभियत संघको विघटनपछि 'फाइभ आइज्'ले आफ्नो ध्यान प्रतिआतङ्कवादमा मोड्यो र अहिले त्यो चीन र उसका 'देशबाहिरका गतिविधि'मा केन्द्रित छ।
यो सञ्जालबाट अमेरिकाको ह्वावेईप्रतिको चासो घटेको छैन बरू झन् बढिरहेको छ।
अमेरिकी सुरक्षा अधिकारीहरूले ब्रिटेन र जर्मनीलाई दबाब दिँदै फाइभ जी प्रविधि सञ्जाल लागु गर्दा 'आपूर्तिचक्रिय सुरक्षा'लाई बलियो बनाउन भनेका छन्। जसको अर्थ हो- ह्वावेईबाट सचेत रहनु।
स्वाभाविक रूपमा धेरै अमेरिकी साझेदारहरूले आफ्ना फाइभ जी प्रविधि सञ्जालबाट ह्वावेईलाई हटाइने बताएका छन्।
अमेरिकाले आफ्नो सूचना साझेदारीमा कटौती गर्ने चेतावनी दिएपछि जर्मनीले आफ्नो दूरसञ्चार पूर्वाधारमा उच्चस्तरको सुरक्षा मापदण्ड सुनिश्चित गर्न चाहेको बताएको थियो।
सरकारका प्रवक्ता अलराइक डेम्मरले पत्रकारहरूलाई भनिन्: "हामीले कस्ता ठोस छलफलहरू के गरिरहेका छौँ भनेर त म भन्दिन तर हामी हाम्रा जासुसी साझेदारहरूसँग सघन छलफलमा छौँ। जसमा स्वाभाविक रूपमा अमेरिका समेत छ।"
जासुसी कानुन

तस्बिर स्रोत, Getty Images
जुन २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीले एउटा राष्ट्रिय जासुसी कानुन पारित गरेपछि त्यसमार्फत धेरै आलोचकहरूले जासुसीलाई वृहत परिभाषा दिएको बताए।
जसअनुसार कुनै पनि रूपमा संकलन गरिएका विवरणका लागि ढोका खुलै हुनेछ।
पश्चिमा देशहरू खासगरी उक्त कानुनको धारा ७ का कारण सजग देखिन्छन्। उक्त व्यवस्थाले संस्थाहरू र नागरिकलाई राष्ट्रिय गुप्तचरी कामका लागि कानुन बमोजिम सहयोग र सहकार्य गर्नुपर्ने आदेश दिन्छ।
यद्यपि चिनियाँ कानुनविद्हरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उक्त व्यवस्थाको प्रतिरक्षा गरिरहेका छन्।
फाइनान्सियल टाइम्समा लेख्दै बेइजिङ् फरेन स्टडिज युनिभर्सिटीका डा गु बिनले भनेका छन्, "चिनियाँ कम्पनीमा पार्टीको प्रभावबारे पश्चिमाहरूको चिन्ता हदभन्दा बढी हो।"
उनले धारा ७ लाई 'धेरैजसो गलत बुझिएको' र त्यसले 'पूर्वसावधानीका रूपमा जासुसी गर्ने अख्तियारी नदिने' भन्दै "राष्ट्रिय जासुसी कार्य रक्षात्मक प्रकृतिको हुनुपर्ने" बताए।
जेसुकै भएपनि ह्वावेईले अहिले अन्तर्राष्ट्रिय अविश्वासको मार खेपिरहेको छ। जब चिनियाँ कम्पनीले अन्य देशमा सञ्जाल पूर्वाधारहरू तयार पार्छन् उनीहरू स्थानीय सरकारका विश्वास जित्न समस्या झेलिरहेका हुन्छन्।
व्यापार युद्ध

तस्बिर स्रोत, Getty Images
यो सबै विवाद अमेरिका र चीनबिच चलिरहेको व्यापार विवादकामाझ भइरहेको छ।
डिसेम्बरमा जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० को मेसो पारेर अर्जेन्टिनामा यसबारे कुरा गरिरहेका थिए, क्यानाडाको प्रहरीले भने ह्वावेईकी प्रमुख आर्थिक अधिकृत मङ्ग वान्जूलाई भेनकुभर विमानस्थलबाट पक्राउ गरेको थियो।
रेनकी छोरी मङ्गमाथि छल र इरानमाथिको अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोप लागेको छ।
चीनमा विश्लेषकहरूले उनको पक्राउलाई अपहरणको संज्ञा दिएका छन्। उनीहरूले त्यो र व्यापारिक उपायका कुराहरू एउटै योजनाको पाटो भएको बताउँछन्।
उनीहरूका भनाइमा त्यसको अन्तिम लक्ष्य चीनलाई विश्व अर्थतन्त्रमा प्रभाव पार्ने अवस्थाबाट रोक्नु हो।
चीनले कहिल्यै विश्वव्यापी दबदबा नचाहेको कुरा दोहोर्याउँदै आएको छ, ह्वावेईकीका शीर्ष कार्यकारीहरूले आफ्नो महत्त्वाकांक्षा लुकाएका पनि छैनन्।
फेब्रुअरी २०१८ मा ह्वावेईका ग्राहक व्यवसायका अध्यक्ष यु चेङ्गदोङ्ले बीबीसीलाई बताए अनुसार 'अमेरिकी बजार सहित वा त्यसबिनै हाम्रो बजार हिस्सा विश्वको एक नम्बर बन्न सक्छ।'
अमेरिकी राजनीतिज्ञहरूले किन ह्वावेईलाई विश्वास गर्दैनन् भन्ने सवालमा उनी भन्छन्: "अमेरिकामा केही मानिसहरूले राजनीतिक अस्त्र प्रयोग गरेर हामीलाई रोक्न खोजेका छन्। किनभने हामी निकै प्रतिस्पर्धी छौं, हामीले प्रविधि र नविनतामा नेतृत्व गरिरहेका छौं। हामी निकै बलियो भयौँ भन्ने उनीहरूको चिन्ता हो।"
ह्वावेईविरुद्धको आरोप अमेरिकी राजनीतिज्ञ र विचारकहरूमा रहेको गहिरो अविश्वासको एउटा पाटो हुनसक्छ।
अमेरिकी कङ्ग्रेसमा चीनलाई मानव अधिकारको कसीमा आलोचना गर्ने डेमोक्र्याटहरू र राष्ट्रिय सुरक्षामा बल दिने रिपब्लिकनहरू दुवै यस कम्पनीमाथि प्रतिबन्ध लगाउन सहमत देखिन्छन्।
ह्वावेईको घटनाक्रमले अमेरिका र चीनबिचको बढ्दो तनावको सङ्केत गर्छ।
हामीलाई थाहा छैन दुई देशहरू यस तनावलाई थप फैलन दिनबाट रोक्छन् कि यो त्योभन्दा निकै पर झन् खराब अवस्थामा पुग्छन्।










