मङ्ग वान्जू: के क्यानाडाले यी ह्वावेई अधिकारीलाई अमेरिका सुपुर्दगी गर्न लागेको हो

मेङ्ग वान्जु

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ह्वावेईकी प्रमुख आर्थिक अधिकारी मङ्ग वान्जू कम्पनीका प्रमुख रेन जेङ्फीकी छोरी हुन्।

क्यानाडा सरकारले चिनियाँ प्रविधि कम्पनी ह्वावेईकी एक उच्च अधिकारीविरुद्ध अमेरिका सुपुर्दगी गर्ने प्रकृया अगाडि बढाउने पुष्टि गरेको छ।

उक्त कम्पनीकी प्रमुख आर्थिक अधिकारी रहेकी मङ्ग वान्जू वासिङ्टनको आग्रहमा गत वर्ष क्यानाडामा प्रकाउ परेकी थिइन्।

उनी विरुद्ध ब्याङ्क खाता हिनामिनादेखि इरानविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्धको विरुद्ध हुने कामहरू गरेको अभियोग छन्।

क्यानाडा र अमेरिकासँगको चीनको सम्बन्धमै तितोपन ल्याइदिएको यस घटनालाई क्यानाडास्थित चिनियाँ दूतावासले उसकै शब्दमा 'राजनीतिक मनसायबाट प्रेरित अभियोग' भनेको छ।

वान्जू र ह्वावेई दुवैले अभियोगहरू अस्वीकार गर्दै आएका छन्।

अभियोजन

गत जनवरीमा अमेरिकी अधिकारीहरूले विश्वको दोस्रो ठूलो स्मार्टफोन उत्पादन गर्ने ह्वावेई कम्पनी र उसकी उच्च अधिकारी वान्जूविरुद्ध दुई दर्जनभन्दा बढी मुद्दा दर्ता गराएका छन्।

त्यतिखेर अमेरिकाले क्यानाडालाई सुपुर्दगीका लागि औपचारिक आग्रह समेत गरेको थियो।

यसको अन्तिम निर्णय भने अमेरिका र क्यानाडाबिच रहेको सुपुर्दगी सन्धीका प्रावधानहरूसँग अमेरिकी प्रस्ताव मिल्ने-नमिल्ने निर्क्यौल भएपछि मात्र हुनेछ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'इरानसँग व्यवसाय गर्ने कम्पनीहरूले अमेरिकासँग व्यवसाय गर्न नसक्ने' बताएका थिए।

यो र अन्य विषयमा वान्जूले अमेरिकामा अभियोजनको सामना गरुन् भन्ने ट्रम्प प्रशासनले चाहेको छ।

विश्लेषकहरुले ह्वावेईका पछिल्ला घटनाक्रमलाई 'नयाँ शीतयुद्ध'को संज्ञा दिएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ह्वावेईका पछिल्ला घटनाक्रमलाई विश्लेषकहरूले 'नयाँ शीतयुद्ध'को संज्ञा दिएका छन्।

ह्वावेईमाथि प्रतिस्पर्धी टी मोबाइलबाट प्रविधि चोरेको आरोप समेत लगाइएको छ।

क्यानाडाको न्याय मामिलासम्बन्धी मन्त्रालयले आफूसँग सुपुर्दगीबारे निर्णयको अख्तियारी रहेको भन्ने संकेत गर्नेगरी शुक्रवार एक वक्तव्य जारी गरेको थियो।

जसमा भनिएको छ- "सुपुर्दगी सम्बन्धी बहस कुनै अदालती सनुवाई होइन न त यो कसैलाई दोषी वा निर्दोष बनाउने फैसला हो।"

'निराश'

अहिले मङ्ग भ्यानकुवरमा जमानतमा बसिरहेकी छन्।

उनको प्रतिरक्षा समूहले जारी गरेको वक्तव्यमा मन्त्रालयको उक्त निर्णयबाट आफूहरु 'निराश' भएको बताइएको छ।

क्यानाडाको उक्त निर्णयलाई "अमेरिकाले लगाएका राजनीतिक चरित्रबाट प्रेरित अभियोगसँग मेल खाने" बताइएको छ।

राष्ट्रपति ट्रम्पले समेत अमेरिकाको राष्ट्रिय सुरक्षा जोडिने वा चीनसँगको व्यापार सम्झौतालाई प्रभावित पार्ने हकमा आफूले अमेरिकी न्याय मन्त्रालयले हेरिरहेको मुद्दामा हस्तक्षेप गर्ने बताउँदै आएका थिए।

६ मार्चमा उनी ब्रिटिस कोलम्बियाको सर्वोच्च अदालतमा उपस्थित हुँदैछिन् जतिखेर उनको सुपुर्दगीका लागि क्यानाडाले अगाडि बढ्ने अख्तियारी पाएको पुष्टि हुनेछ।

उनको सुपुर्दगीबारे पनि त्यतिबेलै सुनुवाई हुनेछ। त्यसमा प्रस्तुत हुने विवरण उपर न्यायाधीशले लिने निर्णयमा धेरै कुरा निर्भर रहनेछ।

कतिपय दुर्लभ मुद्दाहरूमा सुपुर्दगी प्रकृया एक दशकसम्म लम्बिएको नजिर समेत छ।

वान्जूका लागि यस प्रकृयाभर पुनरावेदन गर्ने अवसर हुनेछ।

के हो ह्वावेसङ्कट?

ह्वावेईलाई चिनियाँ अधिकारीहरूको नजिक रहेको र इरानलाई टेलिकम उपकरण बेचेको आरोप लागेको छ।

इरानसँग व्यापार गर्न ह्वावेईले उनका दुई सहायक कम्पनीहरू ह्वावेई डिभाइस यूएस र स्काइकम टेकसँगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व ब्याङ्कलाई ढाँटेको भन्ने अभियोग उक्त कम्पनीमाथि लागेको छ।

विश्लेषकहरूले यस घटनाक्रमलाई 'नयाँ शीतयुद्ध'को संज्ञा दिएका छन्।

रेन जेङ्फी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रेन जेङ्फी चीनको सत्तारूढ कम्युनिस्ट पार्टीमा झन्डै ४० वर्षअघि संलग्न थिए

अमेरिकी अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले आफूहरूले लगाएका मुद्दा अमेरिकाको कानुनी मर्यादा र विश्वव्यापार अभ्यासको मानक उल्लङ्घनविरुद्ध भएको बताएका छन्।

चीनका निम्ति क्यानाडाका राजदूत जन म्याककुलमले सार्वजनिक रूपमै अमेरिकाले गरिरहेको सुपुर्दगीको अनुरोधमा गम्भीर त्रुटी रहेको टिप्पणी गरेपछि विवादमा फसेका थिए।

जसको नतिजास्वरूप जनवरीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनलाई बर्खास्त गरेका थिए।

चीनले जनवरी महिनामै उक्त प्रकरणमा असन्तुष्टि देखिनेगरी एक क्यानडेली पुरुषलाई मृत्युदण्ड सुनाएको थियो भने अन्य दुईलाई पक्राउ गरेको थियो।

यसरी बदलापूर्ण संकेतहरू देखिरहँदा ह्वावेईका प्रमुखले बीबीसीलाई भनेका छन्—हाम्रो कम्पनीले सधैँ निजी व्यवसायको चरित्र अनुसार काम गरेको छ।

उनले कहिल्यै पनि चीन सरकारका तर्फबाट आफूहरूले जासुसी गतिविधि नगरेको बताए।

ह्वावेई प्रमुख जेङ्फीले के पनि भनेका छन् भने—उनको कम्पनीलाई कमजोर बनाउनु अमेरिकाका लागि असम्भव काम हो र त्यत्तिकै असम्भव विश्वका लागि ह्वावेईलाई एक्ल्याउनु।

त्यसको एउटै कारण आफ्नो प्रविधि निकै विशिष्ट हुनु रहेको उनले बताए।

कम्पनीकी वरिष्ठ अधिकारी समेत रहेकी आफ्नी छोरी मङ्ग वान्जूको घटनालाई राजनीतिक मनसायबाट प्रेरित भने तापनि उनले त्यसको छिनोफानो अदालतबाटै होस् भन्ने आफूले चाहेको बताएका थिए।