सैन्य टोपी लगाउने भारतीय क्रिकेट टोलीमाथि पाकिस्तानद्वारा कारबाही माग

क्रिकेट

तस्बिर स्रोत, Getty Images

पाकिस्तानी किक्रेट बोर्ड पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीलाई भारतीय खेलाडीहरूले मैदानमा सैन्य टोपी लगाएकोमा असन्तुष्टि जनाउँदै कारबाहीका लागि आवश्यक कदमहरु चाल्न आग्रह छ।

भारतले शुक्रवार राँचीमा भएको अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा सैन्य टोपी लगाएको थियो।

गत महिना भारतको कश्मीर प्रान्तमा भएको आत्मघाती हमलामा ज्यान गुमाएका ४० सैनिकहरुको सम्मानमा त्यसो गरिएको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले बताएको छ।

आइसीसीको अनुमति

बीसीसीआईले खेलअघि सैन्य टोपी प्रयोगका लागि आइसीसीसँग अनुमति मागेको थियो।

परोपकारी उद्देश्यको खेल भएकोले अनुमति दिएको आईसीसीका प्रवक्ताले बताएका छन्।

भारतीय खेलाडीहरूले उक्त खेलको पारिश्रमिक मारिएका सेनाका परिवारलाई सहयोग गरेका थिए।

पलुवामा आत्मघाती हमला भएपछि बीसीसीआईले क्रिकेटको अन्तर्राष्ट्रिय नियामक निकाय आइसीसीलाई 'आतङ्कवादलाई प्रश्रय दिने मुलुकहरूसँग सम्बन्ध तोड्नुपर्ने' बताएको थियो।

सो हमलाका लागि भारतले पाकिस्तान जिम्मेवार भएको दाबी गरिरहेको छ।

क्रिकेट

तस्बिर स्रोत, Getty Images

'क्रिकेटमा राजनीति'

पीसीबीका अध्यक्ष इसान मणीले 'क्रिकेटमा राजनीति छिराउने प्रयास' भएकोले विरोध गरिएको बताएका छन्।

उनले राजनीतिक अभिव्यक्तिका कारण आइसीसीले अनुशासनको कारवाही भएका दुईवटा पछिल्ला घटना स्मरण समेत गराएका थिए।

"हामीले कडा रुपबाट आफ्नो कुरा आइसीसीलाई अवगत गराएका छौँ। यसको उद्देश्य र पाकिस्तानको अडानबारे हामीलाई कुनै द्वविधा छैन," उनले भने।

"क्रिकेट जगतमा भारतको विश्वसनीयता नराम्रोसँग खस्किएको छ।"

दुई नजिर

इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले सन् २०१४मा भारतविरुद्धको टेस्ट खेलमा 'सेभ गाजा' र 'फ्रि प्यालेस्टाइन' प्रिन्ट गरिएको रबर हातमा बाँधेका थिए।

सन् २०१७ मा दक्षिण अफ्रिकाका इमरान तहिरले श्रीलङ्काविरुद्ध विकेट लिएपछि धार्मिक गुरु जुनैद जम्सेदको टीसर्ट देखाएका थिए।

ती दुबैमाथि आइसीसीले अनुशासनको कारबाही गरेको थियो।

मणीले भने, "विगतका यी दुई नजिरहरू अहिलेको अवस्थासँग मिल्दाजुल्दा छन् र हामीले भारतविरुद्ध समेत त्यस्तै कारवाही होस् भन्ने चाहेका छौँ।"

"उनीहरूले लिएको अनुमति एउटा उद्देश्यको लागि थियो तर काम अर्कै थियो।"