भेनेजुएला: जहाँ 'मानवीय सहायता' घातक बन्दैछ

तस्बिर स्रोत, Reuters
भेनेजुएलामा राष्ट्रपति निकोलास मदुरो र विपक्षी नेता ह्वान ग्वाइदोले एक अर्कालाई आरोप लगाउने विषय अहिले मानविय सहायतासँग जोडिने गरेको छ।
सरकारी अवरोधका बीच देशभित्र मानवीय सहायता ल्याउन खोज्दा सीमा शहरहरूमा घातक झडपहरू भएका छन्।
सुरक्षाकर्मीले अश्रुग्यास र रबरका गोली प्रहार गरेर प्रदर्शनकारीलाई रोक्न खोजिरहेका छन्।
तर कतिपय ठाउँमा सुरक्षाकर्मीले आफ्नो आधारक्षेत्र छाडेर भागेको खबर पनि आएका छन्।
सीमामा तनाव
विपक्षी नेता ह्वान ग्वाइदोको नेतृत्वमा संकलन भइरहेको वैदेशिक सहायता, देश भित्रनबाट रोक्न भन्दै राष्ट्रपति मदुरोले थुप्रैतिर देशका सीमा बन्द गरिदिएका छन्।
कोलम्बियाको सीमामा रहेको एउटा पुलमा मदुरोका समर्थकले अवरोध सिर्जना गर्दै खाद्यान्न र औषधि बोकेका दुई ठूला ट्रकमा आगो लगाइदिएपछि अन्य चार त्यस्ता ट्रक भने कोलम्बियातर्फ नै फर्कन बाध्य भए।
ग्वाइदोले शनिवारबाट दशौँ हजार स्वयंसेवकका सहायताले देशमा खाद्य तथा औषधिजन्य सहायता भित्र्याइने बताएका थिए।

तस्बिर स्रोत, AFP
ग्वाइदोले सरकारविरोधी अभियानमा 'दुर्लभ साहस' देखाएको भन्दै सामाजिक सञ्जालमा आफ्ना समर्थकहरूको प्रशंसा गरे।
झडपका घटनामा अहिलेसम्म सीमामा कम्तीमा ४ जना मारिएको विवरण आएका छन्। तर कोलम्बिया सरकारले उपलब्ध गराएको विवरणमा केही बेर अघिसम्म घाइते हुनेहरूको सङ्ख्या ३ सय नाघेको छ।
प्रत्यक्षदर्शी पत्रकारहरूले थुप्रै प्रर्दशनकारीले आँखा गुमाएको बताएका छन्।
मदुरोको प्रतिरक्षा
मदुरोले भने 'यसलाई युद्ध भनिँदैन' भन्दै राजधानी क्याराकसमा समर्थकहरूको भिड देखिने तस्बिरहरू ट्विट गरेका थिए।
यसबीच उनले कोलम्बियासँगको कूटनीतिक सम्बन्ध समेत तोडिदिएको बताएका छन्।
तर शनिवारसम्म कम्तीमा ६० जना सैनिक भेनेजुएलाबाट भागेर आएको कोलम्बियाको अद्यागमनले बताएको छ।

तस्बिर स्रोत, AFP
क्याराकसमा रहेकी बीबीसी संवाददाता केटी वाट्सन भन्छिन्, "सरकारी सेनाले दिनभरजसो भेनेजुएलाका सीमामा अश्रुग्यास प्रहार गर्दै सहायता भित्र्याउन खोज्ने प्रर्दशनकारीलाई रोक्न खोजिरहेका थिए। सरकारी सेनामा केही छिटफुट विद्रोह भए पनि अझै धेरैजसो मदुरोप्रति बफादार छन्।"
दिनभरजसो भेनेजुएलाका सीमामा अश्रुग्यास प्रहार भएका थिए र उनीहरू सहायता भित्र्याउन खोज्ने प्रर्दशनकारीलाई रोक्न खोजिरहेका थिए।
सामाजिक सञ्जालमा देखाइएको एउटा भिडिओमा ४ सैनिकले 'अनिश्चितता र अन्यायले हद नाघेको' भन्दै मदुरोको साथ छाडेको बताएका थिए।
मदुरोले आफ्नो देशमा संकट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

तस्बिर स्रोत, AFP
उनलाई सघाइरहेको रुसले समेत मदुरोलेझैँ अमेरिकी उक्त राहतलाई सैन्य अतिक्रमण गर्ने 'सहज र कपटपूर्ण' बाटो भनेको छ।
देशमा संकट रहेको स्वीकार नगरे पनि गतसाता मदुरोले रुसबाट ३०० टन सहायता भेनेजुएला भित्र्याउने घोषणा गरेका थिए।








