डोनल्ड ट्रम्प: तौल बढेको भए पनि उनका चिकित्सक भन्छन् , 'उनी स्वस्थ छन्'

ट्रम्प

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, खर्चबन्दीका बेला खाना आपूर्ति गर्ने सङ्घीय कर्मचारी क्रियाशील नभएको भन्दै ट्रम्पले ह्वाइट हाउसमा तीन सय बर्गर मगाएका थिए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको तौल पछिल्लो पटक उनको स्वास्थ्य परीक्षण गर्दा भन्दा बढेको छ। तर उनी 'एकदमै स्वस्थ' रहेको उनका आधिकारिक चिकित्सक सन कोन्लेले बताएका छन्।

ट्रम्पलाई अब उनको कोलेस्टेरोलको स्तर घटाउन थप मात्राको औषधि दिइनेछ।

गत साता गरिएका जाँचमा उनको तौल ११० किलो रहेको पाइयो। एक वर्षअघि उनी करिब १०८ किलोका थिए।

उनको उचाइ ६ फीट ३ इन्च रहेको छ।

अन्य चिकित्सकहरूले उनको बडी मास इन्डेक्स 'बीएमआई' भनिने तौल र उचाइको अनुपातसम्बन्धी सूचक ३० नाघेको हुनाले उनी चिकित्सकीय भाषामा 'मोटो' भएको जनाएका छन्।

राष्ट्रपति ट्रम्पले मेक्सिको र अमेरिकाको सीमामा पर्खाल बनाउन राष्ट्रिय सङ्कटकाल घोषणा गर्न लागेको अधिकारीहरूले जानकारी दिएको केही मिनेटमा उनको स्वास्थ्यसम्बन्धी जानकारी दिइएको थियो।

के खान मन पराउँछन् ट्रम्प?

राष्ट्रपति ट्रम्पलाई सामान्य किसिमको मुटुरोग छ र उनलाई करिब पाँच किलो जति तौल घटाउन भनिएको थियो।

ट्रम्प

तस्बिर स्रोत, EPA

उनलाई फास्ट फुड भनिने बर्गरजस्ता खानेकुरा तथा डाइट सोडा मन पर्ने बताइन्छ।

खर्चबन्दीका बेला खाना आपूर्ति गर्ने सङ्घीय कर्मचारी क्रियाशील नभएको भन्दै ट्रम्पले ह्वाइट हाउसमा तीन सय बर्गर, पिज्जा तथा फ्राइज मगाएका थिए।

तिनको पैसाले आफैँले तिरेको पनि उनले बताएका थिए।

स्वास्थ्यस्थितिलाई लिएर उनले विगतमा निकै प्रश्न पनि बेहोरे। उनले कहिले पनि रक्सी नपिएको बताइन्छ।

साथै, उनी धूमपान पनि गर्दैनन्।

विवाद

चुनावी अभियानका बेला उनले एउटा पत्र देखाउँदै आफू राष्ट्रपति पदमा निर्वाचित हुने "हालसम्मकै सबभन्दा स्वस्थ व्यक्ति" हुने दाबी गरेका थिए। सो पत्रमा हस्ताक्षर गर्ने चिकित्सकले पछि उक्त पत्र ट्रम्प स्वयम्‌ले लेखेको बताएका थिए।

गत वर्ष ती डाक्टर रोनी ज्याक्सनले राष्ट्रपतिको जीन असाध्यै बलियो भएको र उनले राति चार वा पाँच घण्टामात्रै सुत्ने गरेको तथ्यले चिन्ता नजन्माउने बताएका थिए।

पछिल्लो वार्षिक स्वास्थ्पपरीक्षणपछि डाक्टर कोन्लेले उनमा कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको बताए।

उनको नाक, कान, आँखा, मुख, दाँत, गिजा, मुटु, फोक्सो, छाला, पेट तथा न्युरोलोजी प्रणालीमा कुनै गम्भीर समस्या नपाइएको जाँचपछिको टिपोटमा उल्लेख छ।

उक्त विवरणअनुसार उनले लिँदै आएको कोलेस्टोरल नियन्त्रण गर्ने औषधि रोसुभ्यास्ट्याटिनको मात्रा चाहिँ १० एमजीबाट ४० एमजी पुर्‍याइएको छ।