'खेल्दा खुट्टा भाँच्चिए के गर्छ्यौ भन्ने आमाको प्रश्नको जवाफ छैन'

- Author, सृजना श्रेष्ठ
- Role, बीबीसी नेपाली सेवा
थाइल्यान्डमा सम्पन्न नौ राष्ट्रहरू सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता ट्वेन्टी २० स्म्यासमा पाँच खेल जित्दै नेपाली महिला क्रिकेट टोली उपविजेता बन्यो र देशको नाम उँचो बनायो।
तर जब उनीहरू स्वदेश फर्के, क्रिकेटप्रेमीहरूमा कुनै उल्लास देखिएन। कतै उत्सव मनाएको देखिएन।
उनीहरू त्यतिकै मेहनत गर्छन् जति देशका अरु क्रिकेट खेलाडीले गर्छन्।
उनीहरूको गुनासो छ कसैले उनीहरूलाई तलब दिँदैन, र सम्मान पनि मिलेको छैन। तर उनीहरूको सङ्कल्प छ देशका लागि क्रिकेट खेलिरहनेछन्।
खेलाडी राष्ट्रिय, आय शून्य
राष्ट्रिय टोलीका पुरुष क्रिकेट खेलाडीहरुका लागि मासिक तलब र सम्झौताको व्यवस्था छ। तर महिला खेलाडीहरू भने तलब पाउँदैनन्।
उप कप्तान सीता राना मगर भन्छिन,"महिला क्रिकेटको अवस्था निकै जीर्ण छ, नाजुक छ। सुविधाविहीन। सशस्त्र प्रहरीमा आबद्ध पाँचजना बाहेक अरू खेलाडीहरूलाई तलब छैन। महिनाभरि चाहिने खर्च, खाना र खेल्नका लागि प्रहरीमा आबद्धबाहेक अरु खेलाडीहरूसँग आयस्रोत केही पनि छैन।"
"दुई तीन वर्ष त खेलौँला तर त्यसपछि के भन्ने प्रश्न छ।"

कप्तान रुबिना भन्छिन्,"हामी राष्ट्रलाई प्रतिनिधित्व गर्छौँ तर कसैले तिम्रो तलब कति भनेर सोध्दा केही भन्न सक्दैनौँ।"
"१० वर्ष देखि खेलिरहको छु। अहिले परिवारले यति धेरै मेहनत गर्दा खुट्टा भाँच्चियो भने के गर्छौ भनेर सोध्दा आमालाई दिने जवाफ छैन। त्यो सबैभन्दा ठूलो दु:ख हो।"
क्षेत्रीले आफुले वर्षौँदेखि पारिश्रमिक र सुविधाका बारेमा आवाज उठाइरहे पनि वास्ता नभएकोमा चिन्ता व्यक्त गरिन्।
प्रशिक्षक दास भन्छन्,"कम्तीमा क्रिकेट खेलेर आधारभूत आवश्यकता पूरा हुने आम्दानी हुनुपर्छ। त्यो नै पुग्दैन।"
थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपालले सम्मानजनक दोस्रो स्थान हासिल गरेपनि नेपालमा महिला क्रिकेटको स्थिति टीठलाग्दो छ।

कप्तान रुबिना क्षेत्रीले भनिन्, "हाम्रो प्रदर्शनबाट एकदम नै खुशी छु। यो गर्वको क्षण हो। १० वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर रनर अप ट्रफि लिएर फर्केका छौँ।"
तर सरोकारवालाहरूले ध्यान दिएको भए महिला क्रिकेटले यो भन्दा राम्रो प्रदर्शन गर्न सक्थ्यो।
खुशीबीचको दु:ख
"सन् २००७ देखि नै हामीले सुरू गरेका थियौँ, तर सन् २०१९ मा आएर हामीले प्रमाणित गर्न सक्यौँ। नेपाली महिला टीमले केही गर्न सक्छौँ भनेर देखाउन सक्यौँ। तर यति गर्दा पनि सरकारको ध्यान हामीमा छैन। जितपछि पनि हामीलाई वास्ता गरिएको छैन। त्यसले गर्दा पनि अलिकति दु:ख लाग्छ," खेलाडी सरिता मगरले बीबीसी नेपाली सेवालाई भनिन्।
"सरोकारवालाहरूले बेवास्ता गर्दा त यो अवस्थामा छौँ भने हामीलाई केही सहयोग भयो भने त झन् हामी कति माथि पुग्थ्यौँ होला?"
अर्का खेलाडी करूणा भण्डारी भन्छिन्,"हामीले धेरै मेहनत गर्यौँ र फल पनि निकाल्यौँ। अब आउने विश्वकप छनोट प्रतियोगिताको चुनौती छ। यो भन्दा अझै राम्रो गर्छौँ भन्ने विश्वास छ।"
तर फेब्रुअरीमा हुने ट्वेन्टी २० विश्वकपको छनोटमा राम्रो प्रदर्शन गर्न नेपालका लागि ठूलो चुनौती छ।
महिला क्रिकेट टोलीका प्रशिक्षक तथा पूर्व राष्ट्रिय कप्तान विनोद दास भन्छन्,"यो प्रदर्शनलाई नियमितता दिनु नै महिला क्रिकेटको सबैभन्दा ठूलो चुनौती हो।"
उप कप्तान सीता राना मगर भन्छिन्,"सन् २००७ पछि २०१९ मा बल्ल हामीले अवसर पायौँ। फेब्रुअरीमा हुने क्वालिफायरको लागि चुनौती पनि भइरहेको छ।"

क्रिकेटको माया
महिला क्रिकेटको अवस्था दयनीय भएपनि खेलाडीहरू आफू एकजुट भएर खेलिरहेको बताउँछन्।
क्षेत्री भन्छिन्,"सम्पूर्ण टिमको कडा मेहनत भएर राम्रो नतिजा पायौँ।"
पहिलो खेलमा चीनलाई १० विकेटले हराउँदा तीन विकेट लिएर खेलको उत्कृष्ट खेलाडी घोषित भण्डारी भन्छिन्,"आफूले योगदान दिनु र टिमले जित्नु नै सबैभन्दा ठूलो कुरा हो।"
"हामी जति जना खेलिरहेका छौँ, क्रिकेटको माया र लगावले गर्दा मात्र हो।"

महिला क्रिकेटको भविष्य
सहि मार्गदर्शन र योजना बनाएर कार्य गरे नेपाली महिला क्रिकेट टोली विश्वकपसम्म सजिलै पुग्न सक्ने खेलाडीहरु बताउँछन्।
प्रशिक्षक दास भन्छन,"खेलाडीहरूका लागि प्रतियोगिता र पूर्वाधार चाहिन्छ। नयाँ पुस्ता आकर्षित हुने अवस्था हुनुपर्छ।"
उपकप्तान मगर भन्छिन,"हामीपछिको पुस्ताले हामीलाई हेरेर खेलकुदमा केही भविष्य छैन भनेर देख्नुहुन्छ। हामीलाई सुविधा दिएको भए पो भावी पुस्तापनि आकर्षित हुने थिए। अहिलेको परिस्थितिमा उनीहरू क्रिकेटमा खुट्टा समेत हाल्न चाहँदैनन्।"
कप्तान क्षेत्री भने आफूले केही गर्नसक्नेमा विश्वस्त छन्।
उनले भन्छिन्,"हाम्रो देशमा नतिजा हेर्छ। पुरूष क्रिकेटरहरूले पनि नतिजा ल्याउन थालेपछि मात्र राम्रो भएको हो। हामीले कडा मेहनत गर्छौँ र नतिजाको लागि प्रयास गर्छौँ।"
"जति गर्न सक्छौँ गर्छौँ, कदर गर्नुहुन्छ भने ठिकै छ गर्नुहुन्न भने पनि देशको प्रतिनिधित्व गरिरहेका छौँ र गरिरहनेछौँ।"








