नेपालमा मदिरा पर्यटन: उनीहरू बिहारबाट नेपाल आउँछन्, तिर्खा मेटाउँछन् र घर फर्किन्छन्

सिमावर्ती क्षेत्रको मदिरा पसल

जाडोको दिन सूर्यास्त हुनुभन्दा केहीअघि वीरगन्ज-रक्सौल सीमा हुँदै केही भारतीय मोटरसाइकल र कारहरू वीरगन्जतिर हान्निए। उनीहरू वीरगन्जमा छरिएर रहेका रेस्टुराँ र बारमा पुगेर रोकिए।

झन्डै उस्तै दृश्य मध्य र पूर्वी नेपालका विभिन्न गाउँ तथा सहरहरूमा देख्न सकिन्छ।

सीमापारि भारतको बिहारमा मदिराको बेचबिखनमाथि प्रतिबन्ध लगाइएकाले मदिरा पारखीहरूको गन्तव्य बनेको छ नेपाल।

मदिराप्रेमीहरूको सन्ध्याकालीन नेपाल यात्राको क्रम बढेपछि नेपालमा मदिरा पर्यटन फस्टाएको स्थानीय व्यवसायीहरूले बताएका छन्।

आफ्नो व्यापार फस्टाएका कारण उनीहरू प्रसन्न भए पनि स्थानीय बासिन्दाहरू भने मदिरा सेवन गर्नेहरूको चहलपहल र होहल्लाले आफूहरूले असुरक्षित महसुस गर्न थालेको बताएका छन्।

पर्साको सीमाक्षेत्रको पीडा कस्तो?

भारतको बिहारमा मदिरा प्रयोग तथा बिक्री वितरणमा प्रतिबन्ध लागेपछि पर्साको सीमाक्षेत्रमा रहेका भट्टी र मदिरा बेचिने रेस्टुराँहरूमा बिहानदेखि बेलुकीसम्मै भारतीयहरू आउने क्रम बढेको छ।

भारतीय मदिराप्रेमीको भिड बढेकाले आफ्नो सुरक्षाबारे स्थानीयवासी चिन्तित हुन थालेको वीरगन्जस्थित हाम्री सम्वाददाता माधुरी महतो बताउँछिन्।

उनका अनुसार भट्टीहरूका कारण सीमावर्ती क्षेत्रमा चोरी, लुटपाट र अन्य आपराधिक घटना पनि बढेका छन्।

त्यसैले प्रदेश नम्बर २ को सरकारले नेपाली भूभागमा पनि भट्टी नियन्त्रण अभियान थालेको छ।

तर पनि सीमावर्ती क्षेत्रका भट्टीहरूमा भारतीय र नेपालीहरूको भिड नघटेको स्थानीयवासी बताउँछन्।

भारतमा मदिरा नियन्त्रण

तस्बिर स्रोत, Manish Shandilya/ BBC Hindi

तस्बिरको क्याप्शन, भारतको बिहारमा मदिरा लुकाइएको स्थानमा खोजतलास गर्दै प्रहरीहरू

पर्सा जानकीटोलाका अहमद आलम भन्छन्, "दैनिक चारपाँच सय त कहिले एक हजारसम्म भारतीय मोटरसाइकलहरू यता आउँछन्। बजार भारतीयहरूले भरिएको हुन्छ। उनीहरू सेकुवा र रक्सी खान्छन्। कहिले त पिटापिट र झैझगडा पनि हुन्छ। हामीलाई हिँडडुल गर्न पनि गाह्रो हुन्छ।"

पर्सा पोखरिया पिपराबिर्ताकी रिता देवीले आफ्नो गाउँमा भट्टीको सङ्ख्यामा वृद्धि हुँदै गएकोले समाजमा नकारात्मक असर परेको बताइन्।

"रक्सी खान आउने भारतीयहरूले बाटो बजार सबै 'जाम' गरिदिने गरेका छन्। हामी महिलाहरूलाई बाटो हिँड्न पनि अप्ठ्यारो छ। बाटो छेकेर बसिदिन्छन्, बाटो पनि छोड्दैनन्, नचाहिने कुरा गरिराख्छन्।"

प्रदेश सरकारले कडाइ गर्न निर्देशन दिएको भए पनि उनले "दारुको पसल कम हुनु पर्नेमा झन् बढिरहेको" बताइन्।

केही भारतीय नागरिक रक्सी पिएपछि घर फर्किने गरेका छन् भने केही सीमावर्ती क्षेत्रमा खुलेका होटल, लज तथा तथा होमस्टे अर्थात् घरवासहरूमा बस्ने गरेको पर्सा ठोरीका चेकबहादुर थापा मगरले बताए।

पर्साका प्रमुख जिल्ला अधिकारीले सीमानजिकै मदिरा पर्यटनले थोपरेको विकृति हटाउनेबारे अधिकारीहरू गम्भीर भएको बताए। उनका अनुसार बिहारका ग्राहकलाई लक्षित सीमानाकाबाट एल किलोमिटरभित्र रहेका रक्सी पसल हटाउने निर्णय गरिएको बताए।

तर त्यो कार्यान्वयन भएको छैन।

सीमामै टाँसिएका छन् भट्टी

मध्यतराईको सीमाक्षेत्रमा मात्र होइन 'रक्सी पर्यटन' पूर्वी नेपालका सीमावर्ती क्षेत्रमा पनि जताततै पाइन्छ।

मदिरा पसल

अझ त्यो क्रम बढिरहेको हाम्रा सम्वाददाता उमाकान्त खनाल बताउँछन्। यतिसम्म कि बिहारको फत्तेपुरसँग सीमा जोडिएको दक्षिणपश्चिम झापाको गौरीगन्ज नाकासँगै टाँसिन खोज्ने गरी चारवटा मदिरा पसल खुलेका छन्।

नाकामा भेटिएका इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रमुख प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले भने, "बिहारमा मदिरा किन्न पाइन्न। त्यहाँका मानिसहरूले मदिरा पिउने ठाउँ यहीँ हो। अचेल सीमामै मदिरा पाइने भएकाले धेरै टाढा उनीहरू जाँदैनन्।"

सन् २०१७ को नोभेम्बर २६ मा बिहारमा मदिरा बन्दको घोषणा भएको थियो। अर्को वर्ष ५ अप्रिलदेखि त्यहाँ मदिरामा पूर्ण प्रतिबन्ध लगाइयो।

त्यसपछि बिहारबाट मदिरा पारखीहरूका लागि नेपाली सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलहरू आफ्नो तलतल मेटाउने ठाउँ बन्न थाले।

सिमावर्ती क्षेत्रको मदिरा पसल

नेपाल-भारत सीमनजिकै मदिरा पसल सञ्चालन गर्ने इन्द्र गनगाईँले भने, "उनीहरुले सस्तो प्रकारको मदिरा खान्छन्। एक पटक पचासदेखि एक सय रुपैयाँ खर्च गर्छन्। मदिरासँग केही खाजा पनि खान्छन्।"

बिहारमा मदिरा बन्द भएपछि नेपालका नाका छेउछाउका मानिसहरूले मदिरा पसल गरेर आयआर्जन गर्ने बाटो समाए।

गौरीगन्ज जनता चोककी ललिता गनगाईँले भनिन्, "यो पेसा पनि गर्न पाइएन भने के गरेर खानु? बालबच्चा छन्। हाम्रो खेतीपाती पनि धेरै छैन। हामी यही उपायले खाइरहेका छौँ।"

तर मदिरा पिउने मानिसहरूले होहल्ला भने गर्ने नगरेको मदिरा पसल सञ्चालन गरिरहेकी कल्पना खड्काले बताइन्।

मदिराले बढाएको 'विकृति' कसरी रोकिएला?

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले मदिराले विकृति निम्त्याएको भन्दै प्रहरीले मदिरा नियन्त्रणका लागि कार्ययोजना बनाएको बताए।

"सीमाक्षेत्रमा भइरहेको मदिरा बिक्रीलाई समेत ध्यानमा राखी हामीले त्यसलाई नियन्त्रण गर्ने कार्ययोजना बनाएका छौँ। हामीले स्थानीय तहसँग मिलेर काम गर्ने योजना बनाएका छौँ। गैरकानुनी मदिरा पसललाई हटाउने योजना छ।"

भारतको बिहारसँग सीमा जोडिएका प्रदेश नं १ का अन्य स्थानहरूमा पनि मदिराका पारखी भारतीय नागरिकलाई लक्षित गरी मदिरा पसलहरू प्रशस्त खुलेको प्रहरीका अधिकारीहरू बताउँछन्।

मदिरा नियन्त्रण

तस्बिर स्रोत, Manish Shandilya/ BBC Hindi

लगभग लुम्बिनी क्षेत्रबाट पारिपट्टि भारतको उत्तर प्रदेश राज्य पर्दछ। त्यहाँ बिहारमा जस्तो मदिरा पूरै निषेधित छैन। तर पनि त्यस क्षेत्रका भारतीय मदिरा पारखीहरू साँझ परेपछि नेपाली मदिरा सेवन गर्न आउने गरेको हाम्रा स्थानीय सम्वाददाताहरू बताउँछन्।

नेपालमा सहज रूपमा मदिरा बिक्री र सेवन गर्न पाइने भएकाले भारतीय नागरिकहरू मदिरा सेवन गर्नकै लागि नेपालमा आउने गरेका हुन्।

बाँकेको भारतिय सीमावर्ती जमुनाहा बजारस्थित नास्ता पसलहरूमा बाहिरै बसेर भारतीय नागरिकहरू मदिरा सेवन गरिरहेको सहजै देख्न सकिन्छ।

पश्चिमतिर पनि कम छैन मदिराप्रेमीको भिड

सिमावर्ती क्षेत्रको मदिरा पसल

नेपालगन्जस्थित हाम्री सम्वाददाता विमला चौधरीका अनुसार जमुनाह बजारमा भारतीयहरूले बिहान चिया पिउने समयमै मदिरा सेवन गरिरहेको देख्न सकिन्छ।

जमुनाहामा मदिरा पसल सञ्चालन गरिरहेकी बेलमती खत्रीका अनुसार रक्सीको बिक्री साँझ पर्न थालेपछि बढ्दै जाने गरेको छ।

उनले भनिन्, "सीमाक्षेत्रमा अरू थोकभन्दा मदिरा नै बढी बिक्री हुने गर्छ।

अर्का स्थानीयवासी हरि अधिकारी भन्छन्, "यहाँको बजारमा त मिठाई, किराना र कपडा पसलमा समेत मदिराको बिक्री वितरण हुन्छ।"

मदिरा सेवन गरी होहल्ला गर्ने क्रम बढेपछि बाँके जिल्ला प्रशासन कार्यालयले केही दिनका लागि रक्सी बिक्रीमा रोक लगायो। तर व्यापारीले विरोध गरेपछि प्रशासन त्यसलाई खुकुलो बनाउन बाध्य भयो।

नेपालगन्जमा न्यून आय भएका भारतीय नागरिकहरू सीमाक्षेत्रका साना भट्टी पसल धाउँछन् भने अलि धेरै पैसा भएका चाहिँ नेपालगन्जका ठूला होटलहरूमा पुग्छन्।

नगरवासीहरू मदिराको खुल्लमखुल्ला बिक्रीले निम्त्याएका 'विकृति' नियन्त्रण नभएकोमा खिन्न छन्।