नेकपाकै नेताले भने, 'पार्टीमा राणा शासन छिरेको छ'

नेकपा

तस्बिर स्रोत, FACEBOOK/NCP

    • Author, विष्णु पोखरेल
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली

राजधानी काठमाण्डूमा जारी सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वलाई आलोचना गर्न सदस्यहरूले थरीथरीका उदाहरण प्रस्तुत गरेका छन्।

बुधवारको बैठकमा सहभागी नेताहरूका अनुसार कसैले पार्टीमा 'राणा शासनका बेलामा राणाहरूले अपनाएको शैली' विकास भएको बताएका छन् भने कसैले पार्टीलाई 'सुनपानी छर्कनुपर्ने' भनेका छन्।

पार्टीमा विकास भएको गुटबन्दीलाई एकजना स्थायी कमिटी सदस्य रघुजी पन्तले राणहरूको शैलीसँग तुलना गरेका थिए।

उनले बैठकपछि बीबीसीसँग कुरा गर्दै भने, "राणाहरूले 'ए क्लास'का राणा र 'सी क्लास'का राणा बनाएजस्तो मन परेकाहरूलाई 'ए क्लास'का बनाउने र मन नपरेकालाई 'सी क्लास'का बनाएर उनीहरूको राजनीतिक जीवनमै अप्ठ्यारो पारिदिने, उनीहरूलाई अवसर नै नदिने, चुनावमा टिकट नदिने, मौका नदिने र उनीहरूको क्षमतालाई प्रयोग नगर्ने प्रवृत्ति छ।"

प्रश्न

उनले त्यस्तो प्रवृत्तिलाई समाप्त गर्नुपर्ने दायित्व पार्टी नेतृत्वको भएको बताए।

पन्तले सरकारको काम जनहितमा नभएको भन्दै कार्यक्षमता नभएका मन्त्रीहरूलाई बिदा गर्नुपर्ने धारणा राखेको जानकारी दिए।

उनले भने, "कतिपय मन्त्रीको कार्यक्षमता भएन, त्यसलाई मूल्याङ्कन गरेर उनीहरूलाई बिदा गरेर सरकारलाई गतिशील बनाउनुपर्‍यो भन्ने धारणा राखेको छु।"

पन्तले शक्तिलाई प्रधानमन्त्री कार्यालयमा सीमित गर्न खोजिएको भन्दै त्यसको समेत विरोध गरेका थिए।

पन्तले भने, "राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर गृहलाई निकम्मा बनाइएको छ। त्यस्तै अर्थ अन्तर्गतका निकायलाई पनि ल्यएर प्रधानमन्त्री कार्यालयले अलोकप्रिय काम गर्नुभएन।"

वर्तमान सरकार गठन हुने बित्तिकै अर्थ र गृह मन्त्रालय मातहतका केही कार्यालयलाई प्रधानमन्त्री कार्यालयमा सार्नु गल्ती भएको उनको धारणा थियो।

बैठकमा सहभागी नेताका अनुसार अर्का सदस्य सुरेन्द्र पाण्डेले भने हालै राजधानीमा सम्पन्न विवादित एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका नेताले खेलेको सक्रिय भूमिकाका लागि पार्टीलाई नै 'सुनपानी छर्केर चोख्याउनुपर्ने' सुझाव दिएका थिए।

बुधवार आठजना स्थायी कमिटी सदस्यले बोलेका थिए।

त्यसमध्येका अर्का एकजना सदस्य लेखराज भट्टले सरकारले लोकप्रिय निर्णयहरू गरेपनि त्यसलाई जनतासम्म पुर्‍याउन नसको भन्दै सरकारको आलोचना गरेको बताए।

भट्टले भने, "सूचना एक ठाउँमा मात्रै हुनुहुँदैन। सही सूचना जनतासम्म पुर्‍याउनुपर्‍यो नि। सरकारले लोकप्रिय काम गरेको भए पनि हामीले कसरी जनतालाई भन्ने सूचना नभइकन?" उनले सरकारको गति भएन भन्ने कुरा बैठकमा उठेको र त्यसमा प्रधानमन्त्रीले पक्कै पनि ध्यान दिने विश्वास व्यक्त गरे।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टीको बैठकमा विविध विषयमा छलफल भएको तर मन्त्रीहरूलाई फिर्ता उठाउने कुरा नउठेको बताए।

उनले भने, "सरकारका काम कारबाहीमा केही कमजोरी छन् भने टीम फेर्न पनि सकिन्छ भन्ने कुरा उठेको हो, मन्त्रीहरू फिर्ता बोलाउनुपर्छ भन्ने होइन।"

अहिले पार्टीको प्राथमिकताको विषय मन्त्रिपरिषद् हेरफेर नभएको उनले बताए।