'आर्थिक अवस्था राम्रो भएको भए म पहिलो महिला मूर्तिकार बन्ने थिइनँ सायद'

- Author, कमल परियार
- Role, बीबीसी नेपाली सेवा
पछिल्ला ३५ वर्षमा सूर्ज बज्राचार्यले हजारौं निर्जीव ढुङ्गामा जीवन भरेकी छन्।
उमेरले ५० काट्न लागेकी ललितपुर भिन्छेबहालकी सुर्जचन्द्रमाया बज्राचार्यलाई मूर्तिकलाले दिएको माया र सम्मानका कारण आर्थिक अभावका बीच पनि कुनै पनि गुनासो भएन।
ढुङ्गामा बुट्टा भरेर जीवन बित्ला भन्ने कल्पना समेत नगरेकी उनले १५ बर्षको उमेरदेखि नै मूर्ति बनाउन कस्सिएकी हुन्।
परिवारको कमजोर आर्थिक अवस्था र आफ्ना मूर्तिकार बाबुलाई सघाउन दाजुभाई समेत नभएका कारणले बाध्यात्मक रुपमा आफूले मूर्ति बनाउन सिकेको उनी बताउँछिन्।
बुबाको सीप र बाध्यता
बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ''परिवारको आर्थिक अवस्था राम्रो भएको भए सायद म पहिलो महिला मूर्तिकारको रुपमा स्थापित हुने थिईन होला। त्यसैले आज म जे छु, मेरो बुबाको सीप र पारिवारिक बाध्यताले छु।''
ललितपुरको सुन्धाराबाट साँघुरा गल्ली छिचोल्दै पुगिने भिन्छेबहालमै जन्मेर हुर्केकी बज्राचार्यको काँधमा आफ्ना तीन दिदीहरू आ-आफ्नो घरजम गरेर टाढा गईसकेपछि सम्पूर्ण जिम्मा आईपर्यो ।
जन्मस्थलमै बुबाको पेशालाई निरन्तरता दिईरहेकी उनी शुरुका दिनहरू सम्झिदै भन्छिन्, ''उमेर छँदा रातदिन नभनी दैनिक १६-१७ घण्टा समेत काम गरियो। छिना चलाउने र मूर्तिको आकार निकाल्ने कामबाट मूर्तिकलाको यात्रा शुरु गरें।''

''बुबाले मूर्तिमा बुट्टा काट्दा आउने ट्याक-ट्याक आवाज सुन्दा एकदम मजा आउँथ्यो। ध्यान आवाजमै जाने भयो… अनि विस्तारै मूर्ति बनाउनमै केन्द्रित हुन थालेँ। सोचेको जस्तो चीज बनेपछि त झन् खुसीको सीमा नै नहुने,'' मूर्तिकलामा रुचि बढ्नुका कारणबारे उनले बताइन्।
नेपाल हस्तकला महासंघका अनुसार हाल देशैभर गरेर सैँयौको संख्यामा मूर्तिकार छन्, तर बज्राचार्यजस्ता लामो अनुभव बोकेका महिला मूर्तिकार भेट्न मुस्किल पर्छ।
आम्दानी र प्रशंसा
बज्राचार्यले हालसम्म सानाठूला गरेर पचास-साठीहजार मूर्ति बनाईसकेको बताउँछिन्।
तीमध्ये केहीले राम्रो आम्दानी समेत गरे त केहीले प्रशंसा मात्र कमाए।
शुरुका दिनहरूमा ढुङ्गा काटेर विभिन्न आकृतिहरु निकाल्ने बज्राचार्य विस्तारै बुद्धका मूर्तितर्फ आकर्षण बढेको बताउँछिन्।
उनी भन्छिन्, ''मेरालागि सबैभन्दा गाह्रो र सबैभन्दा सजिलो काम बुद्धको मूर्ति बनाउनु हो।''
शुरुवातका दिनहरूमा भोग्नुपरेको कठिनाइबारे उनले भनिन्, ''धुलैधुलोमा काम गर्नुपर्ने, स्कूल जाने उमेरमा मूर्तिकलामै लाग्नुपर्ने, गह्रौं ढुङ्गा ओल्टाईपल्टाई गर्नुपर्ने, निकै गाह्रो भयो।''

''तर एकदिन एकजना जर्मन नागरिकले मैले बनाएको सानो स्तुप लगे। र त्यसको केही समयपछि पुन: फर्केर आएर त्यस्तै आकारको तर पाँच फिटको मूर्ति बनाउन लगाए। अनी पैसा पनि राम्रै पाएपछि त दङ्ग भएँ।''
औपचारिक ज्ञान अभाव
त्यसको केही वर्षमा जर्मनी घुम्न जाँदा त्यही मूर्ति एउटा बगैँचामा सजाएर राखेको देखेपछि त उनको खुसीको सीमा नै रहेन।
''जीविकोपार्जनका लागि पैसा पनि हुने साथै काम गर्दा आनन्द पनि लाग्ने भएकोले मूर्तिकलाबारे औपचारिक ज्ञान नभए पनि बाबुले अँगालेको पेशामा व्यस्त भइयो,'' उनले भनिन्।
मृत ढुङ्गामा जीवन दिन पारङ्गत बन्दै गएपछि बुद्धका विभिन्न आसन वा आकारप्रकारका मूर्ति त उनको दिमागमा छर्लङ्गै छन्।
''बुद्धको बाहेक अन्य भगवान वा कुनै आकृतिको मूर्ति त फोटो हेरेर जस्तोसुकै पनि मूर्ति बनाउन सक्छु।''
''शुरुवातका दिनहरूमा 'छोरीमान्छेले पनि यस्तो काम गर्ने?' भनेर खिसिट्यूरी गर्ने तिनै मानिसहरू अहिले मेरो कामप्रति गर्व गर्छन्, सम्मान गर्छन्, यसैमा निकै खुशी लाग्छ,'' उनले भनिन्।
मूर्तिकलामा लागेर आफूले पैसा भन्दा पनि माया र प्रोत्साहन पाएको उनी बताउँछिन्।
भन्छिन्, 'टोल समाजमा सम्मान पाएकी छु, यो कामबाट खानलाई मात्र पुग्छ तर यसले दिने खुसी भनेर साध्य नै छैन। मूर्तिले माया र सम्मान दिलाएको छ।'
नयाँ औजार चलाउन गाह्रो
तत्कालीन राजा विरेन्द्रको हातवाट 'प्रवल गोरखा दक्षिणबाहु' प्राप्त गरेपछि आफू प्रथम महिला मूर्तिकारका रुपमा चिनिएको उनको भनाइ छ।
ढुङ्गा देखेपछि के बनाउने भनेर सोच्दा र मूर्तिको आकारप्रकार दिमागमा आईहाल्ने बताउने उनले बिहान धेरै काम गर्ने गर्छिन्।
पछिल्ला दिनहरूमा मूर्ति बनाउन, बुट्टा काट्न समेत विभिन्न आधुनिक मशिनको प्रयोग हुने गरेको भएपनि उनी हातले बुट्टा काट्ने काम गर्न रुचाउँछिन्।
नयाँ औजारहरू चलाउन उनलाई गाह्रो लाग्छ र चित्त पनि बुझ्दैन।
''समय बढी लागे पनि हातैले सबै बुट्टा कोर्छु, मशिनको प्रयोगले मूर्ति राम्रो बन्दैन'' उनको अनुभव छ।
उनका अनुसार मूर्ति बनाउन लाग्ने कूल समय, मूर्तिको आकार तथा ढुङ्गाको प्रकारले पनि मूर्तिको मूल्य निर्धारण गर्छ र नरम ढुङ्गा सस्तो हुने अनि त्यसमा काम गर्दा ज्याला पनि कम लाग्छ।
बिहान अनुहार, दिउसो बुट्टा
विहान मूर्तिको अनुहारमा काम गर्ने, दिउसो बुट्टा खोप्ने उनको दिनचर्या छ।

आफू १८ वर्षकी हुँदा बिहान ६ बजेदेखि मध्यरातसम्म काम गर्थिन्। पहिले एकैदिन भ्याइने काम गर्न अहिले उनलाई चारदिन लाग्छ।
''आखाँले कम देख्न थालियो। जीउ पनि दुख्छ। मसिनो काम गर्न गाह्रो छ। तर नमरुन्जेल काम गर्ने विश्वास भने कायम नै छ,'' उनले भनिन्।
आफ्नो सीपमा निर्भर हुनसक्दा उनलाई धेरै खुसी लाग्छ।
महिलाहरू यो पेशामा निकै कम भएको र धेरैले सिक्दै गरे पनि विवाहपछि निरन्तरता दिन नसकेको उनको भनाइ छ।
पेशाप्रति चिन्ता
''हालै मैले ४/५ जना केटीहरूलाई मूर्तिकला सिकाइरहेकी छु। ती मध्ये पनि कतिले छाड्लान जस्तो लाग्छ किनभने बिहेपछि धेरैले काम गर्नै छाड्छन्।''
''यो पेशा सिक्न चाहने महिलालाई स्वागत छ, म एकदम प्रोत्साहन गर्छु। तर यो विषय एकदुई दिनमा सिक्न सकिँदैन। कम्तीमा एउटा विधा सिक्न वर्षभरी लाग्नसक्छ।''
हालै एक अन्तर्राष्ट्रिय संस्था 'वर्ल्ड क्राफ्ट काउन्सील'ले ललितपुर शहरलाई 'वर्ल्ड क्राफ्ट सिटी'अर्थात् विश्वको कलात्मक शहरका रुपमा सूचित गरेको छ।
तर उक्त घोषणाबारे आफूलाई कुनै जानकारी नभएको उनले बताईन्।
उक्त घोषणाले आफूजस्ता कलाकारलाई कसरी फाइदा पुर्याउँछ भन्ने थाहा नभएको उनको भनाइ छ।
तर राष्ट्रले कलाकारलाई सम्मान नगरे वा कलाको संरक्षण तथा प्रवर्द्धन नगरे कतिपय कला लोप हुने खतरा रहेको उनको बुझाइ छ।
आफूलाई मूर्तिकला सिकाउने बुबाको देहान्तपछि एक्लिएकी बज्राचार्य मूर्तिको साथ भएसम्म एक्लो महसुस नहुने बताउँछिन्।










