आर्थिक अनियमितताको अभियोगमा निशानका अध्यक्ष पक्राउ

तस्बिर स्रोत, Getty Images
जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष तथा प्रसिद्ध व्यवसायी कार्लोस गोन हिरासतमा रहेको र उनीमाथि प्रहरी छानबिन चलिरहेको सो कम्पनीका प्रमुख कार्यकारीले पुष्टि गरेका छन् ।
आकस्मिक रुपमा आयोजना गरिएको एउटा पत्रकार सम्मेलनमा निशान कम्पनीका प्रमुख कार्यकारी हिरोटो साइकावाले बिहीबार हुने कम्पनीको बोर्ड बैठकमा गोनको बर्खासीका लागि प्रस्ताव गरिने बताएका छन् ।
रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मिटसुबिशी मोटर्सका अध्यक्ष समेत रहेका गोनले आफ्नो कमाइबारे पूर्ण विवरण नदिएको र कम्पनीका सम्पत्ति व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भेटिएको बताइएको छ ।
अपुष्ट
एकजना व्यक्तिले त्यस्तो सूचना गोप्य रुपमा दिएपछि निशान कम्पनीका लेखापरीक्षकहरूले छानबिन थालेको सो कम्पनीका अधिकारीहरूले बताएका छन् ।
कैयौँ महिनासम्म उक्त आन्तरिक छानबिन चलेको बताइएको छ ।
उनीमाथि लागेका अभियोगहरू बारे निशानले थप जानकारी उपलब्ध गराएन ।

तस्बिर स्रोत, Reuters
ब्राजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निशान तथा रेनो कम्पनीहरूलाई झण्डै टाट पल्टिनबाट जोगाउन सफल भएका भनेर परिचित छन् ।
जापानी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार उनले सन् २०११ यता पाँच वर्षको अवधिमा उनले पाँच अर्ब जापानी यन (४ करोड ४० लाख अमेरिकी डलर) बराबरको रकमबारे पूर्ण जानकारी दिएका थिएनन् । तर यो पुष्टि हुन बाँकी छ।
प्रयास
निकै लामो समयसम्म उनले अनियमिततासम्बन्धी क्रियाकलापहरू गरेको' विश्वास आफूलाई लागेको साइकावाले बताएका छन्।
सन् २०१० यता जापानी कम्पनीहरूले १० करोड जापानी यनभन्दा धेरै पाउने कार्यकारी अधिकारीहरूको तलब खुलाउन आवश्यक पर्दछ।
उनी हिरासतमा परेपछि सेयर परिसूचकहरू झण्डै पन्ध्र प्रतिशतले तल झरेका थिए।
निशान विश्वकै सबैभन्दा छैठौँ ठूलो कार उत्पादक कम्पनी हो र सन्डरल्याण्डस्थित उसको कार उद्योग यूकेकै सबैभन्दा ठूलो कार उद्योग हो।
साइकावाले स्थितिलाई स्थिर पार्ने तथा उसका कामदार तथा व्यापार साझेदारहरूका लागि दैनिक कार्यहरू सामान्य पार्ने प्रयासहरू गरिने बताएका छन्।
अर्का वरिष्ठ कार्यकारी ग्रेग केली पनि अनियमितासम्बन्धी कार्यमा गम्भीर रुपमा संलग्न भएको र उनलाई पनि बर्खास्त गर्न लागिएको निशान कम्पनीले बताएको छ।








