तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ती नेपाली जसले दुईवटै विश्वयुद्ध लडे
पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको छ, तर त्यतिबेला लडाइँमा ज्यान गुमाएका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै परिवारजनले दु:ख व्यक्त गरेका छन्।
पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको अवसरमा ब्रिटेन, फ्रान्स, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका देशहरूमा भव्य र भावुक कार्यक्रमहरू भएका छन्।
पहिलो विश्वयुद्धमा ब्रिटेनको पक्षबाट लड्ने क्रममा हजारौँ नेपालीहरूले युद्ध मैदानमा ज्यान गुमाएका थिए।
तर पहिलो विश्वयुद्धको शतवार्षिकीको बेला उक्त युद्धमा नेपालीहरूको योगदानको सम्झना नगरिएको भनेर सामाजिक सञ्जालहरूमा आलोचना भइरहेका छन्।
सम्झना
भारतीय सेनाका पूर्व सुबेदार मेजर कृष्णबहादुर गुरुङले अहिले ब्रिटिश गोर्खाबाट पहिलो र दोस्रो विश्वयुद्ध लडेका आफ्ना बुवा सुबेदार मेजर मनिराज गुरुङको सम्झना गरिरहेका छन्।
उनका अनुसार उनका बुवा सम्भवत: सन् १९१०-१९११ तिर ब्रिटिश सेनामा भर्ती भएका थिए।
आफ्ना बुवाले सुनाएको संस्मरणबारे ८६ वर्षीय गुरुङले भने, "पहिलो विश्वयुद्धका बेला उहाँ सुएज कनाल क्षेत्रमा खटिनु भएको थियो। त्यहाँको लडाइँमा थुप्रै नेपालीले ज्यान गुमाएका थिए।"
अहिले प्रथम विश्वयुद्ध समाप्तिको सम्झना भइरहँदा ब्रिटेन सरकारले लडाइँमा ज्यान गुमाएका गोर्खा सैनिक र उनीहरूका परिवारजनलाई बेवास्ता गरेको भन्दै उनले दुखेसो पोखेका छन्।
उनले भने, "मेरा तीन जना (काका) बुवाहरूमध्ये दुईजना लडाइँमै बित्नु भयो। मेरो बुवामात्रै अधिकृत भएर फर्किनु भयो। यस्तो बेला सैनिकका छोराछोरीलाई नसम्झिएकोमा मन दुख्छ।"