परमाणु अस्त्र भण्डार विस्तार गर्छौँ: ट्रम्प

ट्रम्प

तस्बिर स्रोत, Getty Images

राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनमाथि दबाब सिर्जना गर्नका निम्ति संयुक्त राज्य अमेरिकाले आफ्नो पारमाणविक अस्त्र भण्डार विस्तार गर्ने चेतावनी दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मध्यम दूरीको पारमाणविक क्षेप्यास्त्रसम्बन्धी आईएनएफ सन्धिको रुसले उल्लङ्घन गरेको दोहोर्‍याए।

यसअघि उनले आईएनएफ सन्धिबाट अमेरिका अलग हुने धम्की दिएका थिए।

रुसले आईएनएफ सन्धिको उल्लङ्घन गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ।

चेतावनी

शीतयुद्धकालीन सो सन्धिले मध्यम दूरीको क्षेप्यास्त्र विकासमा प्रतिबन्ध लगाएको छ।

संयुक्त राज्य अमेरिकाले थप अस्त्रहरूको विकास गरेमा आफूले त्यसको उचित जवाफ दिने रुसले चेतावनी दिएको छ।

राष्ट्रपति ट्रम्पले 'मानिसहरूको चेत नखुलेसम्म' संयुक्त राज्य अमेरिकाले अस्त्र भण्डार विस्तार गर्ने बताए।

रुस

तस्बिर स्रोत, RUSSIAN DEFENCE MINISTRY

उनले थपे, "यो चेतावनी जोकोहीलाई हो। त्यसमा चीन पनि पर्छ, रुस पनि पर्छ। त्यसमा अरू पनि पर्छन् जो त्यो खेल खेल्न चाहन्छन्। रुसले सन्धिको मर्म अथवा सन्धिकै पालना गरेको छैन।"

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले आईएनएफ सन्धिबाट अलग्गिने आफ्नो देशको योजनाको रुसले भर्त्सना गरेपछि मस्कोमा त्यसबारे वार्ता गरिरहेका छन्।

सो सन्धिबाट अमेरिकी बहिर्गमन अस्त्र अप्रसारको पक्षमा रहेका मुलुकहरूका लागि एउटा 'गम्भीर झट्का' हुने बोल्टनलाई भनिएको छ।

सन्तुलन

यद्यपि रुसी सुरक्षा परिषद्‌का सचिवले आईएनएफ सन्धि बारेका 'आपसी' मनोमालिन्य हटाउनका निम्ति अमेरिकासँग मिलेर काम गर्न क्रेम्लिन 'तयार' रहेको बताएका छन्।

पारमाणिक शक्ति सन्तुलनका लागि आवश्यक कदम चाल्ने मस्कोको चेतावनीपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले रुसको भ्रमणमा थालेका हुन्।

क्रेम्लिनका प्रवक्ता दिमित्रि पेस्कोभले भने, "यो विषयमा हामी अमेरिकी भनाइ सुन्न चाहन्छौँ। सन्धि खारेज गरिए रुसले आफ्नो सुरक्षाका लागि कदम चाल्नुपर्ने हुन्छ।"

रुसले एउटा क्रुज क्षेप्यास्त्रको परीक्षण गरेपछि सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले मस्कोले आईएनएफ सन्धिको उल्लङ्घन गरिरहेको आरोप लगाएका थिए।

सहमति

तस्बिर स्रोत, Getty Images

तर त्यतिबेला ओबामाले सो सन्धिबाट अलग नहुने निर्णय लिएको बताइन्छ। त्यसको कारण थियो युरोपेली नेताहरूको दबाब।

युरोपेली नेताहरूले आईएनएफ सन्धिबाट अमेरिका अलग्गिए अस्त्र विकासको होडबाजी फेरि शुरू हुन सक्ने तर्क गरेका थिए।