नेपालः गुर्जा हिमाल आरोहणमा गएका ‘सातजनाको शव देखियो’

म्याग्दीस्थित धौलागिरि हिमश्रृङ्खलामा पर्ने गुर्जा हिमाल आरोहणका लागि गएका सातजनाको शव देखिएको र दुई जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन्।
झन्डै ७२०० मिटर अग्लो गुर्जा हिमाल आरोहण दलमा पाँच कोरियाली र चार नेपाली नागरिक रहेको उनीहरूलाई पठाउने पर्यटन व्यवसायी वाङ्चु शेर्पाले बताए।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार उद्धारका लागि गएको हेलिकोप्टरबाट सात वटा शव देखिएको छ।
उनले भने, "खराब मौसम र हावाहुरीका कारण तीनलाई ल्याउन सकिएन।"
मृत्यु हुनेमा कतिजना नेपाली र कतिजना कोरियाली छन् भन्ने यकिन हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए।
उनका अनुसार असोज १६ गते उक्त टोली काठमाण्डूबाट पर्वतारोहणका लागि हिँडेको थियो।
खोजतलास
प्रवक्ता क्षेत्रीले भने, "२५ गते बिहीवारसम्म उनीहरू सम्पर्कमा थिए। त्यसपश्चात् सम्पर्क हुन नसकेपछि हेलिकप्टरबाट खोजतलास गर्दा आज बिहान शव देखिएको हो।"
"टेन्ट च्यातिएको र शवहरू छरिएको अवस्थामा देखिएका थिए।"
उनीहरू ट्रेकिङ क्याम्प नेपालको तर्फबाट आरोहणका लागि गएका थिए।

तस्बिर स्रोत, FRANK BIENEWALD/GETTY
सो संस्थाका प्रबन्ध निर्देशक वाङ्चु शेर्पाका अनुसार आरोहण दलसँग गएका एकजना पथप्रदर्शक नफर्केपछि खोजतलास गर्दा दुर्घटना भएको आशङ्का गरिएको थियो।
प्रतिकूल मौसम
"त्यसपछि हेलिकप्टरसहित उद्धार टोली पठाइएको थियो र छरिएका शवहरू प्रतिकूल मौसमका कारण उठाउन नसकेपछि उद्धार टोली फर्केको हो," शेर्पाले बीबीसीलाई भने।
ट्रेकिङ क्याम्प नेपालका अनुसार आरोहण दलमा कोरियाली नागरिकहरू किम चाङ हो, यू यङ्जिक, रिम इल जिन, ली जेहुन र जेओङ जून मो थिए।
त्यस्तै नेपालीहरूमा छिरिङ भोटे, लाक्पा साङ्बु भोटे, नेत्रबहादुर छन्तेल र फुर्बु भोटे रहेका थिए।
घटनाबारे पीडितका परिवारलाई जानकारी गराइसकिएको प्रबन्ध निर्देशक शेर्पाले बताए।








