जनकपुरसम्म लिक तयार, तर टुङ्गो छैन रेलको

जनकपुर-जयनगर ब्रोडगेज रेल सञ्चालनका निम्ति लिक बिच्छाउने काम एक महिनाभित्रै सकिने अधिकारीहरूले बताएका छन्।
त्यसपछि यात्रा सहज हुने अपेक्षा सर्वसाधारणको छ। तर त्यो लिकमा दौडिने रेलको भने अझे टुङ्गो लागिसकेको छैन।
भारतीय रेल कम्पनी इरकानले रेलको लिक तयार गरी कार्तिक महिनाभित्र नेपाललाइ हस्तान्तरण गर्ने बताइएको छ।
नेपालमा रेल सेवा सञ्चालन भएको झण्डै आठ दशकपछि ब्रोडगेज रेल शुरू हुन लागेको हो।
परीक्षण
जनकपुरधामको कुर्थादेखि भारत बिहारको जयनगरसम्मको दूरी ३५ किलोमिटर छ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, "पहिलो चरणको रेल सञ्चालनका लागि लिक बिछ्याउनेदेखि स्टेशन घर बनाउनेसम्मको सबै कार्य एक महिनाभित्र पुरा हुनेछ। त्यसपछि रेल सञ्चालनको परीक्षण गरिनेछ।"
उनका अनुसार रेल लिकको क्षमता सैद्धान्तिक रुपमा प्रतिघण्टा सय किलोमिटर छ भने रेल गुड्ने गति प्रतिघण्टा ६० देखि ७० किलोमिटर छ।
जनकपुरधामदेखि कुर्थासम्मको दूरी ४५ मिनेटभित्र पुरा हुने उनले बताए।
भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरी जिल्लाको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ। त्यसमध्ये दोस्रो चरणमा कुर्थादेखि बिजलपुरा र तेस्रो चरणमा बर्दिवाससम्म पुर्याइने छ।
जनकपुर-जयनगर रेलको जीर्ण भइसकेको न्यारोगेज हटाएर ब्रोडगेज बनाइएपछि रेलबाट बढीमा ४५ मिनेटको यात्रा हुनेछ। यसअघि दुई-अढाई घण्टा समय लाग्ने गरेको थियो।
आधुनिक रेल मार्ग निर्माण भएपछि यस भेगका बासिन्दाहरू उत्साहित देखिएका छन्।
उत्साह
जनकपुरको रेलवे स्टेशनमा व्यवसाय गर्ने निर्मला साहले रेल सञ्चालन हुने देखेर अत्यन्त उत्साहित भएको बताइन्।
उनी भन्छिन, "रेल बन्द भएदेखि व्यवसाय चौपट भएको थियो। अब फेरि व्यवसाय फस्टाउने आशा छ।"
रेलको स्तरोन्नति भएकाले यात्राको समय छोटो भएको बताउँदै विद्यार्थी कञ्चन यादवले जिल्लाको पूर्वी भेगबाट अब सजिलै जनकपुरमा क्याम्पस र अफिस भ्याउन सक्ने बताइन्।
उनी भन्छिन, "नेपालमा पर्ने स्टेशनहरूबाट करिब आधा घण्टामा जनकपुर पुग्ने भएकाले धनुषा जिल्लाको पूर्वी भेगका बासिन्दाहरूको जनजीवनमा ठूलो परिवर्तन आउँछ।"

ब्रोडगेज रेलका लागि लिक तयार भइसकेपनि रेलको भने ठेगान छैन। सम्झौतामा रेलको डिब्बा र इन्जिनको विषयबारे उल्लेख नरहेकोले नेपाल स्वयंले त्यसको व्यवस्थापन गर्नुपर्ने छ।
रेल खरिद गर्ने प्रक्रिया सहज नरहेकाले रेल गुडाउन थप समय लाग्न सक्ने अधिकारीहरू बताउँछन्।
दुवै देशका रेल अधिकारीहरूबीच भएको सहमति अनुसार रेल भाडामा लिनेछ।
अवरोध
तर भारत सरकारको पूर्ण स्वामित्वमा रहेको रेल नेपाललाई भाडामा दिन नमिल्ने भएकाले रेलसम्बन्धी काम गर्ने एजेन्सीहरूमार्फत भाडामा लिने तयारी गरिएको छ।
नेपाल रेलवे कम्पनीका महानिर्देशक मिश्रले अब रेल भाडामा लिने प्रक्रिया अगाडि बढाइने बताए।
१९९४ सालमा नेपालको बिजलपुरासम्मको जङ्गलबाट काठ ढुवानीका लागि भारतले रामजानकी विवाह महोत्सवको दिनदेखि रेल सेवा सञ्चालन गरेको बताइन्छ।
त्यसको २४ वर्षपछि २०१८ सालदेखि सो रेललाइ यात्रु ढुवानीमा प्रयोग गरिएको थियो। जुन ५३ वर्षसम्म २०७१ साल माघ महिनासम्म विभिन्न अवरोधहरू छिचोल्दै सञ्चालन भएको थियो।
२०७१ सालको माघ महिनामा पूर्ण रूपमा बन्द भएको रेल सेवाको संरचनालाई पूर्ण परिवर्तन गरी ब्रोडगेज बनाइएको छ।
अधिकारीहरुका अनुसार ब्रोडगेज रेललाइ भारतको जयनगरमा भारतीय रेल सञ्जालसित जोडिएको छ। दुई देशबीच सहमति भए जनकपुरधामबाट भारतको विभिन्न सहरमा सोझो रेल सेवा सञ्चालन हुन सक्ने बताइएको छ।
नेपालमा निर्माणाधीन पूर्व पश्चिम रेलमार्गसँग जयनगरदेखिको रेल महोत्तरी जिल्लाको बर्दिवासमा जोडिने छ।








