काठमाण्डू-रक्सौल रेलमार्ग: प्रारम्भिक प्रतिवेदन चार महिनाभित्र

तस्बिर स्रोत, RSS
काठमाण्डू-रक्सौल रेलमार्गको प्रारम्भिक प्रतिवेदन चार महिनाभित्र तयार गर्ने गरी भारतीय रेल विभागअन्तर्गतका वरिष्ठ इन्जिनियरहरू काठमाडौंमा आएर काम सुरु गरेको रेल विभागले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला उक्त रेलमार्ग भारतीय पक्षले उसकै आर्थिक सहयोगमा बनाइदिने भन्ने सम्झौता भएको थियो।
'प्रिलिमिनरी इन्जिनियरिङ एण्ड ट्राफिक सर्भे' (पीइटी) भनिने उक्त प्रतिवेदनले प्रारम्भिक लागतको खाका तयार गर्ने र त्यसकै आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सहज हुने रेल विभागले जनाएको छ।
उत्तरी सीमावर्ती क्षेत्रबाट काठमाण्डूसम्म रेल ल्याउन पूर्व सम्भाव्यता अध्ययन भइरहेको चर्चाका माझ, दक्षिणी छिमेकी नाका रक्सौलबाट काठमाडौं जोड्ने रेलमार्गबारे पनि प्रारम्भिक अध्ययन सुरु भएको छ।
आदेश
झण्डै एक महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दा उनकै टोलीमा आएका दुईजना वरिष्ठ इन्जिनियरहरूले सम्भावित रेल स्टेसनको रूपमा काठमाडौंको चोभारमा स्थलगत भ्रमण गरेका थिए।
त्यतिबेलै रेलमार्गको अध्ययनका लागि नक्सा समेत लिएर गएका उनीहरू अहिले पनि प्रतिवेदन तयार गर्नका भन्दै काठमाण्डू आएको नेपालस्थित रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए।
उनले भने, "अब चारमहिनाभित्र उहाँहरूले प्रतिवेदन बुझाउनुपर्ने बाध्यात्मक स्थिति छ। भारतको रेल मन्त्रालयले त्यस्तो आदेश दिएको छ।"
उक्त प्रतिवेदन तयार गर्न वरिष्ठ इन्जिनियरहरूलाई भारतकै पटनास्थित रेल स्टेशनबाट आएका पाँचजनाको टोलीले सघाउनेछ।

तस्बिर स्रोत, Prakash Upadhyaya/Facebook
लागतको अनुमान
उक्त टोलीले आइतवारदेखि पीइटी भनिने इन्जिनियरिङ र ट्राफिकसम्बन्धी उक्त प्रारम्भिक प्रतिवेदन तयार गर्न वीरगन्जबाट काम सुरु गर्ने आचार्यले बताए।
उनले भने, "इन्जिनियरिङ भन्नाले के कस्तो टनेलहरू बनाउनुपर्छ भन्ने सामान्य प्रारम्भिक कुराहरू आउँछ। अनि भोलि(आइतवार) त्यो चल्यो भने के कति ट्राफिक छ रक्सौलबाट वीरगञ्ज आउनसक्ने ट्राफिकको पनि उहाँहरूले अध्ययन गर्नुहुन्छ।"
त्यस्तो अध्ययनले रेलमार्गको निर्माणका लागि लागतको अनुमानित हिसाबकिताब देखाउने र त्यसैको आधारमा विस्तृत परियोजना प्रतिवेदन बनाउने काम सुरु हुने उनले बताए।
रक्सौलदेखि काठमाण्डू रेलमार्गको कुरा भइरहँदा भारतीय लगानीमै बनिरहेको जयनगरदेखि जनकपुरसम्मको रेलमार्गको काम पनि अन्तिम अवस्थामा पुगेको बताइएको छ।








