तान्जानिया: डुङ्गा दुर्घटनापछि सैयौँ बेपत्ता

तस्बिर स्रोत, STEPHEN MSENGI
उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा ४० जना भन्दा बढी यात्रुको ज्यान गएको र सयौँ अरु हराइरहेका विवरण प्राप्त भएका छन्।
एमभी न्यरी नाम गरेको त्यो डुङ्गा युकेरेवे र युकोरा टापु नजिकै किनार नजिक आउँदै गर्दा पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
एक स्थानीयबासीले भने, "डुङ्गामा एकदमै धेरै मानिस थिए। करिब ४०० जना थिए। पारीबाट यता आउँदै गर्दा ढल्कियो र अचानक पल्टिएर उल्टो हुन पुग्यो।"
मवान्जा नगरदेखि उत्तरतर्फ त्यो दुर्घटना भएको हो।
उद्धार

तस्बिर स्रोत, STEPHEN MSENGI
अधिकारीहरूका अनुसार एक सय जनाभन्दा बढी यात्रुको जीवितै उद्धार गरिएको छ।
तान्जानियामा क्षमताभन्दा बढी यात्रु बोकेका कारण यसअघि पनि दुर्घटनाहरू भइसकेका छन्।
सन् २०१२ मा एक यात्रुले खचाखच डुङ्गा जन्जिबार टापुदेखि पारिपट्टी डुब्दा १४५ जनाको ज्यान गएको थियो। यो वर्ष पनि जन्जिबार टापु पारि भएका प्रमुख डुङ्गा दुर्घटनाहरूमा करिब २०० जनाको ज्यान गइसकेको छ। केहीले डुङ्गामा राखिएका म्याट्रेस र फ्रिज समातेर आफ्नो ज्यान जोगाएका थिए।
सन् १९९६ मा भिक्टोरिया तालमैँ एमभी बुकोबा नामक डुङ्गा डुब्दा ८०० जनाको ज्यान गएको थियो। त्यो यो शताब्दीकै सबैभन्दा ठूलो दुर्घटनामध्येमा पर्दछ।








