शरणार्थीसम्बन्धी सहयोग बन्द गर्ने अमेरिकी निर्णयको निन्दा

तस्बिर स्रोत, AFP
प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई दिइने सहयोग बन्द गर्ने अमेरिकाको निर्णयको आलोचना भइरहेको छ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले उक्त निकायलाई सहयोग रोक्ने निर्णय गरेर वासिङ्गटनले प्यालेस्टिनी जनतामाथिको 'खुलेआम हमला' गरेको बताएका छन्।
मध्यपूर्वी क्षेत्रमा थप अस्थिरता उत्पन्न गराउन सक्ने चिन्ताका माझ अमेरिकाको त्यस्तो निर्णयको निन्दा भएको हो।
प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने उक्त संयुक्त राष्ट्रसंघीय निकायका एकजना प्रवक्ता क्रिश गुनेजले सामाजिक संजालको बेवसाईट ट्वीटरमा श्रृङ्खलाबद्ध सन्देशहरू राख्दै सो निकायको बचाउ गरेका छन्।
मध्यपूर्वमा रहेका पचास लाख शरणार्थीहरूलाई सहयोग उपलब्ध गराउने उक्त निकायको सबैभन्दा ठूलो दाता अमेरिका रहँदै आएको थियो।
'संकट चर्किने'
चरम आर्थिक संकटको सामना गरिरहेको उक्त निकायलाई यसै वर्षको सुरुवातमा दिने भनेर वाचा गरिसकेको तीस करोड डलर अमेरिकाले रोक्का गरिदिएको थियो।
गाजाको नियन्त्रण गरिरहेको प्यालेस्टिनी लडाकू समूह हमासले उक्त निर्णय संकटलाई गम्भीर रूपमा चर्काउने खालको भएको जनाएको छ।
तर इजरेलले भने अमेरिकी निर्णयको स्वागत गरेको छ।

तस्बिर स्रोत, Reuters
दाबी
सो शरणार्थीसम्बन्धी निकायले हाल इजरेलभित्र पर्ने उनीहरूको पैतृक भूमिमा फर्कन पाउने आशा प्यालेस्टिनीहरूमा जीवितै राखिदिएर द्वन्द्व जारी राखेको आरोप इजरेलले लगाएको छ।
शरणार्थीका मुद्दा समाधान गर्ने शान्ति सम्झौता गर्ने दायित्व, राजनीतिक दलहरूको भएको भन्दै सो निकायका अधिकारीहरूले त्यस्तो दाबीहरू अस्वीकार गरेका छन्।
उक्त निकाय सुधार्न नसकिने गरी त्रुटिपूर्ण रहेको भनी अमेरिकाले गरेको चित्रणलाई पनि ती अधिकारीहरूले अस्वीकार गरेका छन्।
आफूहरुले विद्यालयहरू, तथा स्वास्थ्य केन्द्रहरू संचालन गर्न महत्त्वपूर्ण सहयोग प्रदान गर्ने गरेको उनीहरूले जनाएका छन्।








