दुई राज्यको समाधान अवधारणामा परिवर्तन

तस्बिर स्रोत, AFP
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र प्यालेस्टाइन बिचको द्वन्द्वको समाधान दुई राज्यको अवधारणा अन्तर्गत हुनुपर्ने धारणामा अब संयुक्त राज्य अमेरिकाले अडान नराख्ने बताएका छन्।
ह्वाइट हाउसमा इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगै आयोजित पत्रकार सम्मेलनमा उनले द्वन्द्वरत पक्षहरुले नै कसरी समाधान खोज्ने भन्ने निर्णय गर्नुपर्ने बताए।
इजरेली प्रधानमन्त्री नेतन्याहुले चाहीं अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा इजरेलको सुरक्षा नियन्त्रण हुनैपर्नेमा जोड दिएका छन्।
प्यालेस्टाइनले भने दुई राज्यकै अवधारणामा समाधान खोजिनुपर्नेमा प्रतिबद्धता जनाएको छ।
परिमार्जन
ओबामा प्रशासनसँग आठ वर्ष चलेको रस्साकस्सीपछि इजरेलले अब ह्वाइट हाउससँग सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिरहेको छ।
बुधबारको पत्रकार सम्मेलनमा दुबै नेताले अमेरिकी नीतिको लामो समयदेखिको आधारशीला रहेको स्वतन्त्र प्यालेस्टाइनको पक्षमा मुख खोलेनन्।

तस्बिर स्रोत, AFP
राष्ट्रपति ट्रम्पले भने, "मैले दुई राज्य वा एक राज्य दुबै अवधारणालाई हेरिरहेको छु, र म दुबै पक्षलाई मन पर्ने अवधारणाको पक्षमा छु। दुबै पक्षले रुचाउने अवधारणा प्रति म एकदमै खुशी हुनेछु। मलाई जे भए पनि ठिक हुनेछ।"
दुई राज्यको अवधारणाबारे सोधिएको प्रश्नमा इजरेली प्रधानमन्त्री नेतन्याहुले चाहीं आफूले कुनै विशेषण भन्दा पनि ठोस समाधानमा जोड दिने बताए।
उनले अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा इजरेलको सुरक्षा नियन्त्रण हुनैपर्नेमा जोड दिएका थिए।
उनले भने, "शुरुमा प्यालेस्टीनीहरुले यहुदी राज्यलाई स्वीकार गर्नुपर्छ। उनीहरुले इजरेललाई ध्वस्त बनाउने लक्ष्य त्याग्नुपर्छ र आफ्ना मानिसहरुमा त्यस्तो धारणा बिकास गर्ने काम बन्द गर्नुपर्छ। "
वार्ता
दुई राज्यको अवधारणालाई इजरेल र प्यालेस्टाइनको दशकौँ देखिको द्वन्द्व हल गर्न दुवै देशका नेता तथा अन्तराष्ट्रिय समुदायले घोषणा गरेको एउटा लक्ष्यका रुपमा हेरिदैँ आएको छ।

तस्बिर स्रोत, EPA
सन् १९६७ को युद्धविराम भन्दा अघिको अवस्थाको वेस्ट ब्यांक, गाजा क्षेत्र र पूर्वी जरुसलेम सहितको स्वतन्त्र प्यालेस्टाइन छिमेकी इजरेलसँग मिलेर बस्ने अवस्थाको अन्तिम समाधान यो अवधारणाले राखेको पाइन्छ।
राष्ट्रसंघ, अरब लिग, यूरोपेली संघ, रुस र अहिलेसम्म अमेरिकाले पनि उक्त अवधारणामा समर्थन गर्दै आएका थिए।
इजरेल र प्यालेस्टाइन बिच सन् २०१४ यता उल्लेख्य प्रकृतिको शान्ति वार्ता भएको छैन।
वासिङटनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इजरेललाई अधिनस्थ भूभागमा बस्ती निर्माण गर्ने काम भने उनकै शब्दमा रोक्न आग्रह गरे।
अघिल्लो महिना ट्रम्पले शासन सम्हालेपछि इजरेलले वेस्ट ब्यांक र पूर्वी जरुसलेममा हजारौँ नयाँ घरहरु बनाउन स्वीकृति दिएको छ।








