ताइवान: अस्पतालमा आगो, नौ जनाको मृत्यु

बिरामी र कर्मचारीसहित झन्डै १६ जना गम्भीर घाइते भएका छन्

तस्बिर स्रोत, EPA

ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।

स्थानीय समयानुसार सोमवार बिहान ४:३६ बजे न्यू ताइपेई सिटीस्थित अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको थियो।

आगोका कारण अस्पतालमा उपचार गराउँदै गरेका बिरामी र कर्मचारीसहित झन्डै १६ जना गम्भीर घाइते भएका छन्।

आगलागीको कारण खुलेको छैन। तर गुडाउन मिल्ने एउटा खाटमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने सञ्चारमाध्यममा प्रकाशित विवरणमा उल्लेख छ।

आगो लागेपछि ३३ बिरामी र तीन कर्मचारीलाई सो अस्पतालबाट बाहिर निकालिएको थियो।

गुडाउन मिल्ने खाटमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने बताइएको छ

तस्बिर स्रोत, EPA

राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको पाइएको प्रहरीले जनाएको छ।

ताइपेईस्थित बीबीसीकी सिन्डी सुईका अनुसार ताइवानमा आगलागी रोकथामका लागि कडाइ नगरिएकाले त्यस्ता घटना सामान्य मानिन्छन्।

सन् २०१२ मा एउटा अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने कम्तीमा पनि ६० जना घाइते भएका थिए।