तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान: तीन विदेशीको अपहरणपछि हत्या
अफगानिस्तानको राजधानी काबुलमा तीन विदेशी नागरिकहरूको अपहरणपछि हत्या भएको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार मारिनेमा भारत, मलेशिया र मेसेडोनियाका नागरिक छन्। प्रहरीले सो घटनालाई आतङ्कवादसँग जोडेर हेरेको छ।
विमानस्थल जाँदै गरेका उनीहरूलाई चढेको गाडीबाट निकालेर लगिएको अनुसन्धानकर्ताहरूले बीबीसीलाई बताएका छन्।
उनीहरूका शव पछि काबुलको मुस्साही जिल्लामा फेला पारिएको थियो।
अहिलेसम्म कसैले पनि ती हत्याहरूको जिम्मेवारी लिएको छैन।
मृतकहरू आफ्ना कर्मचारी भएको एउटा फ्रान्सेली खाद्य सेवा कम्पनीले पुष्टि गरेको छ।
मारिएका मलेशियाली नागरिक ६४ वर्षका, भारतीय नागरिक ३९ वर्षका र मेसेडोनियाली नागरिक ३७ वर्षका थिए।
केही वर्षदेखि अफगानिस्तानमा लडाकु वा आपराधिक समूहहरूले फिरौतीका लागि अपहरण गर्ने क्रम बढेको छ।
प्राय: स्थानीय व्यक्तिहरूलाई नै उनीहरूले तारो बनाउने गरेका भए पनि विदेशीहरूको पनि अपहरण हुने गरेको छ।
दुई वर्षअघि अगस्टमा काबुलस्थित अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा कार्यरत एक अस्ट्रेलियाली र एक अमेरिकी प्राध्यापक अपहरणमा परेका थिए।
त्यसको झन्डै पाँच महिनापछि उनीहरू तालिबानले सार्वजनिक गरेको बन्धकहरूको एउटा भिडिओमा देखा परेका थिए।
त्यस भिडिओमा उनीहरूले आफ्नो मुक्तिका लागि भरखर अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका डोनल्ड ट्रम्पलाई तालिबानसँग बन्दी आदानप्रदान गर्न अनुरोध गरेका थिए।
तालिबान अफगानिस्तानको सबभन्दा शक्तिशाली इस्लामिक लडाकु समूह हो।
इस्लामिक स्टेट समूहका जिहादीहरूले पनि सहरी क्षेत्रमा साङ्घातिक आक्रमण गर्ने गरेका छन्।