पाकिस्तान: निर्वाचन र्‍यालीमा बम आक्रमण, दर्जनौँ हताहत

पाकिस्तान विस्फोट

तस्बिर स्रोत, AFP/BANARAS KHAN

तस्बिरको क्याप्शन, बलोचिस्तान प्रान्तमा एक स्थानीय राजनीतिज्ञको जुलुसलाई एक आत्मघाती बम आक्रमणकारीले निशाना बनाएका थिए

पाकिस्तानको दक्षिणपश्चिमी बलोचिस्तान प्रान्तमा आयोजित एक निर्वाचन र्‍यालीमा भएको बम आक्रमणमा कम्तीमा १२० जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका छन्।

एक स्थानीय राजनीतिज्ञको जुलुसलाई एक आत्मघाती बम आक्रमणकारीले निशाना बनाएका थिए।

भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका देशका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्केका दिनमा सो घटना भएको हो।

पाकिस्तान विस्फोट

तस्बिर स्रोत, .

त्यसअघि उत्तरी नगर बन्नुमा भएको बम विस्फोटनमा चारजनाले ज्यान गुमाएका थिए।

दुई दिनअघि पनि पेशावरमा आयोजित राजनीतिक भेलामा भएको आत्मघाती बम हमलामा २० जना मारिएका थिए। उक्त आक्रमण आफूले गराएको तालिबानले दाबी गरेको थियो।

पक्राउ

नवाज शरिफ लन्डनबाट अबुधाबी हुँदै शुक्रबार साँझ स्वदेश फर्केका छन्।

शरिफको पार्टीले भनेको छ, उनी स्वदेश फर्कनुअघि उनका सयौँ समर्थकहरूलाई अधिकारीहरूले पक्रेर थुनामा राखेका छन्।

एउटा भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहर भएका शरिफलाई स्वदेश पुग्ने बित्तिकै पक्राउ गरिने अनुमान गरिएको थियो।

नवाज शरिफका समर्थक

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, शरिफले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाइएको र फैसला गरिएको दाबी गर्ने गरेका छन्

अबुधाबी विमानस्थलबाट बीबीसी उर्दू सेवासँग कुरा गर्दै उनले आगामी आमनिर्वाचनमा विश्वसनियताको कमी रहेको बताए।

सरकारले "जनतालाई दमन गरेकाले निर्वाचनको विश्वसनीयता गुम्न लागेको" उनको भनाइ थियो।

शरिफले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाइएको र फैसला गरिएको दाबी गर्ने गरेका छन्।

पाकिस्तानमा आमनिर्वाचनको पूर्वसन्ध्यामा शरिफ र उनकी छोरीलाई उनीहरूको अनुपस्थितिमा गत हप्ता जेल सजाय सुनाइएको थियो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उनको स्वागतका लागि लाहोर पुगेका एकजना समर्थकले भने, "म यहाँ उनलाई स्वागत गर्न आठ घन्टाको यात्रा गरेर आएको हुँ। हामी नवाज शरिफका लागि ज्यान दिन तयार छौँ। उनको सट्टा म १० वर्ष जेल बस्न तयार छु।"

उनको स्वदेश आगमनअघि पाकिस्तानमा हजारौँ प्रहरी परिचालन गरिएको छ।

छोरी मरियम पनि शरिफसँगै यात्रामा छिन्।