‘नेपाल-भारत सम्बन्ध नयाँ मोडमा’

ईपीजी

नेपाल र भारतबीचको विवादित १९५० को सन्धि लगायतका अन्य दुई पक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले शनिवार आफ्नो काम पूरा गरेको छ।

दुई वर्षअघि गठित उक्त समूहको काठमान्डूमा सम्पन्न नवौं तथा अन्तिम बैठकबाट साझा प्रतिवेदन तयार पारिएको र त्यसलाई छिट्टै दुवै देशका प्रधानमन्त्रीहरूलाई बुझाइने बताइएको छ।

समूहका सदस्यहरूले सिफारिस कार्यान्वयन भए त्यसले दुई देशको सम्बन्धमा नयाँ मोड ल्याउने टिप्पणी गरेका छन्।

नयाँ मोड

नेपालतर्फका संयोजक भेषबहादुर थापाले भने, "दुवै पक्ष विगतका विसङ्गति अन्त्य गर्दै जनआकाङ्क्षा अनुसार र समयानुकूल सम्बन्ध अघि बढाउन सहमत भएका छन्। यसले दुई देशको सम्बन्धमा नयाँ मोड ल्याउनेछ।"

साझा प्रतिवेदनमा कस्ता सुझाव दिइएका छन् भन्नेबारे दुवै पक्षले विस्तृत खुलाएका छैनन्।

नेपाल र भारतबीच खासगरी १९५० को शान्ति तथा मैत्री सन्धि बारम्बार विवादको विषय बन्ने गरेको छ र नेपालका विभिन्न पक्षबाट त्यसलाई संशोधन, खारेज वा नयाँ सन्धिले प्रतिस्थापन हुनुपर्ने आवाज उठ्दै आएका छन्।