तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एसईई: नतिजा प्रकाशनमा भएको त्रुटिबारे छानबिन हुने
शनिवार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्दा भएको प्राविधिक त्रुटिका कारण करिब तीन हजार विद्यार्थीको परीक्षाफल प्रभावित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ग्रेड वृद्धि हुने सीमान्त अङ्क ल्याएका विद्यार्थीहरूको डिजिटल लब्धाङ्कपत्रमा समस्या देखिएको थियो। उक्त त्रुटिको छानबिन गरिने बताइएको छ।
परीक्षाफलमा भएको त्रुटिका कारण थुप्रै विद्यार्थी र अभिभावक तनाबमा परेका थिए। सोचेभन्दा कम अङ्क आएपछि कतिपय विद्यार्थीले पुनर्योग गर्ने योजना समेत बनाएका थिए।
तर केही बेरमै इन्टर्नेटमा संशोधित लब्धाङ्क राखियो। परीक्षा नियन्त्रण कार्यालयले भने एक दिनपछि मात्र आफूबाट त्रुटि भएको स्वीकारेको थियो।
नतिजा
यो वर्ष परीक्षा नियन्त्रण कार्यालयको नतिजा प्रकाशन गर्ने सफ्ट्वेअरको नयाँ भर्सन प्रयोग गरिएको थियो। तर अङ्कलाई ग्रेडमा रूपान्तरण गरिने सूत्र भने पुरानै सफ्ट्वेअरको प्रयोग गरिँदा नतिजामा त्रुटि भएको परीक्षा अधिकारीले बताएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भन्छन्, "यो गल्ती त हामीले सपार्यौँ। त्यहाँ अन्य गल्तीहरू छन् भने तिनलाई छानबिन गर्नुपर्छ।"
जीपीए नतिजा प्रणालीमा भएको परीक्षामा ९० अङ्क ल्याउनेलाई ए प्लस गणना गरिनुपर्नेमा ए मात्रै भएको पाइएको थियो। यो समस्या अरू ग्रेडका सीमान्त अङ्कमा पनि भएको पाइएको थियो।
अन्तिम अवस्थासम्म हतारोमा काम गर्ने र निकै कम जनशक्तिलाई धेरै भार पर्ने गरी काम हुँदा बर्सनि नतिजामा विभिन्न स्वरूपमा समस्याहरू देखा परिरहन्छन्।
घातक
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी भन्छन्, "यो नहुनुपर्ने निकै ठूलो दु:खद घटना हो। यो समस्या अङ्क बढ्ने किसिमको हो। घट्ने भएको भए निकै घातक हुन सक्थ्यो।"
त्यसमाथि नतिजा गोप्य सूचना हुने भएकाले चुहिनसक्ने भन्दै त्यसको जाँच समेत निकै थोरै नमुनामा प्रविधिको प्रयोग विनै गरिएको थियो।
नवलपरासीको एक निजी विद्यालयका प्रधानाध्यापक सागर पाण्डेय भन्छन्
, "छिनछिनमा फरक नतिजा आउँदा त निकै फितलो देखियो । स्कूलले नै बदमासी गर्यो वा आफ्नो विज्ञापन गर्न नम्बर बढाएर राख्यो कि भन्नेजस्ता अनेक प्रचार भए।"