विश्वकप २०१८: ‘कुनै टोली विशेष पावर हाउस रहेनन्’

तस्बिर स्रोत, Facebook
विश्वकप फुटबलको लिग अन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न हुँदासम्म रोचक नतिजाहरू आइरहेका छन्।
नाम कहलिएका देश र खेलाडीहरूको सफलता/असफलताको पनि विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्।
यसै सेरेफेरोमा हामीले थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीलाई यो विश्वकपको अहिलेसम्मका नतिजालाई कसरी हेर्नुभएको छ? भनेर सोधेका थियौँ।
उनी भन्छन्, "अब चाहिँ कुनै देश विशेषलाई फुटबलको 'पावर हाउस' भन्नुपर्ने अवस्थाको अन्त्य हुन लागे जस्तो मैले मात्रै होइन धेरैले भन्न थालेका छन्।"
पहिलो चरणका खेलहरू हेर्दा नामले होइन मैदानमा जसले राम्रो गर्छ नतिजा उसकै पक्षमा आउँछ भन्ने लागिरहेको छ।
आर्जेन्टिना, जर्मनी र ब्राजिलकै कुरा गर्दा खासै राम्रो खेल्न सकेका छैनन् भने जापान, सेनेगल र आइसल्याण्डको प्रदर्शन मानिसहरूले सोचेभन्दा राम्रो छ।
जापानको खेल पनि राम्रो थियो। यस पटक विश्वकपमा एउटा/दुइटा होइन धेरै आश्चर्यहरू भइरहेका छन्।





